कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

अटो सोमा ८० प्रतिशत विद्युतीय सवारीसाधनका स्टल

भाद्र ११, २०८१
अटो सोमा ८० प्रतिशत विद्युतीय सवारीसाधनका स्टल

काठमाडौँ — काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि १६ औं संस्करणको ‘नाडा अटो सो २०२४’ सुरु भएको छ । पहिलो दिन नै करिब १० हजार दर्शकले अटो सोको अवलोकन गरेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजना गरेको अटो सो भदौ १६ सम्म चल्नेछ ।

अटो सोमा कम्पनीहरूबीच छुट दिन प्रतिस्पर्धा नै चलेको छ । कम्पनीहरूका लागि अटो सो नयाँ उत्पादन (प्रोडक्ट) लन्च गर्ने राम्रो अवसर गन्तव्य बन्दै आएको छ । यस पटक अटोमोबाइल उद्योगभित्रका चारपांग्रे, दुईपांग्रे, सेमी कमर्सियल तथा कमर्सियल सवारीसाधन र अटो कम्पोनेन्टमा टायर, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट, स्पेयर पार्ट्सलगायतको गरी १ सय ३० वटा स्टल राखिएको छ ।

अटो सोमा २३ वटा चारपांग्रे ब्रान्ड, १९ वटा दुई पांग्रे र १२ वटा हल्का व्यावसायिक सवारीसाधनका ब्रान्डहरू राखिएको छ । ३३ वटा लुब्रिकेन्ट्स, टायर, ब्याट्रीलगायतका कम्पनीहरू छन् । अटो सोका संयोजक अनुप बरालका अनुसार समग्र स्टलमा ८० प्रतिशत विद्युतीय सवारीसाधनको सहभागिता छ । प्रदर्शनीमा विद्युतीय पिकअप भ्यानहरू पनि राखिएको छ । अटो सोमा आफूलाई मन परेको सवारीसाधन छुट अफरमा बुकिङ गरेर किन्न सकिनेछ । चाडबाडको पूर्वसन्ध्यामा आयोजना गरिएको अटो सोमा नगद छुट अफर राखेर दुई र चार पांग्रे सवारीसाधनको बुकिङ भइरहेको छ ।

छुट अफर प्रायः कम्पनीहरूले दसैं, तिहार र छठसम्म उपलब्ध गराउनेछन् । अटो सोलाई कुम्भ मेलाका रूपमा व्यवसायीहरूले लिएका छन् । अटो सो अटो व्यवसायीहरूका लागि ठूलो चाड भएको नाडाका अध्यक्ष करण चौधरीले बताए । मेलामा सबैभन्दा बढी भीड विद्युतीय सवारीसाधनको स्टलहरूमा लाग्ने गरेको छ ।

‘अटो सोले व्यवसायीहरू उत्साहित छन्,’ संयोजक बरालले भने, ‘प्रत्येक स्टलले केही न केही नयाँ उत्पादन (प्रोडक्ट) ल्याएका छन्, जसले गर्दा अटो सोमा चहलपहल छ ।’ पहिलो दिनमा दर्शकको उपस्थिति सोचेभन्दा राम्रो रहेको उनले बताए । नयाँ प्रोडक्ट लन्च गर्न व्यवसायीहरू उत्साहित देखिएका छन् । सर्वसाधारणका लागि बिहान ११ बजेबाट साँझ ६ बजेसम्म अटो सो खुला रहने नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले बताए । ‘पहिलो दिन चारपांग्रे सवारीसाधनको बुकिङ पनि राम्रै भएको छ,’ उनले भने ।


प्रकाशित : भाद्र ११, २०८१ २१:३९
x
×