कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

विराटनगर भन्सारमा लक्ष्यअनुसार उठेन राजस्व

विनोद भण्डारी

विराटनगर — विराटनगर भन्सार कार्यालयमा यसवर्ष पनि लक्ष्यअनुसार भन्सार महसुल उठेन । यो कार्यालयले चालु वर्ष ५० अर्ब ८१ करोड भन्सार राजश्व असुली गर्ने लक्ष्य राखेको छ । आर्थिक वर्ष सकिने एक महिना बाँकी रहँदा २७ अर्ब ५७ करोड ७० लाख मात्र असुली भएको छ । यो लक्ष्यको ५५ प्रतिशत मात्र हो ।

विराटनगर भन्सारमा लक्ष्यअनुसार उठेन राजस्व

कार्यालयले जेठमा ४ अर्ब ५३ करोड लक्ष्य राख्दा २ अर्ब ६७ करोड मात्र असुली भएको छ । असारमा ४ अर्ब २५ करोड असुली लक्ष्य राखेको छ । यो लक्ष्यपनि पुरा हुने संभावना छैन । प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्र ढकालले भने चोरी पैठारी बढ्दा र राजश्व बढी लाग्ने बस्तुको आयातसँगै व्यापार स्वात्तै घट्दा राजश्व असुली लक्ष्यको आधामात्र हुँदै आएको छ ।

चालु वर्षमात्र होइन । यो कार्यालयले विगतका वर्षमा पनि लक्ष्यअनुसारको भन्सार राजश्व असुली गर्न सकेको छैन । गतवर्ष ६० अर्ब लक्ष्य राख्दा ५५ प्रतिशतमात्र असुली भएको थियो । त्यसअघिको वर्ष ४९ अर्ब लक्ष्यमा ४० अर्बमात्र राजश्व उठाएको थियो ।

विराटनगर भन्सार कार्यालयको राजश्व असुली लक्ष्य औधोगिक कच्चा पदार्थको आयातमा निर्भर छ । राजश्व बढी तिर्ने तयारी कपडा, जुत्ता चप्पल, मोटरसाईकल, पेट्रोलियम पदार्थ, एमएस बिलेट र कच्चा तेल लगायतका सामानको आयात नै उल्लेख्य घट्दो रहेको ढकालको भनाई छ ।

हरेक महिना लक्ष्यको ५५ देखि ६० प्रतिशत मात्र भन्सार महसुल असुली हुँदै आएको छ । यो नाकाबाट आयात घट्दा र चोरी पैठारी बढ्दा राजश्व असुली प्रभावित भएको हो । ढकालका अनुसार गतवर्ष १० महिनामा जोगवनी नाकाबाट १ खर्ब ५६ अर्बको आयात भएको थियो । चालुवर्ष त्यही अवधिमा १ खर्ब ३८ अर्बको मात्र आयात छ । १० महिनामा १८ अर्बको आयात घटेको छ ।

उनका अनुसार पोलिथिन दाना, एलपी ग्याँस, एचआरसीट, शुद्ध फलाम र कच्चा तेल लगायतका आयातित वस्तुले भन्सार राजश्व असुली थेग्दै आएको अवस्था छ ।

नौ महिनादेखि जारी अघोषित लोडसेडिङ र आर्थिक मन्दीका कारण सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योग क्षमताअनुसार नचल्दा कच्चा पदार्थको आयात हवात्तै घटेको छ । बजारमा चहलपहल नहुँदा उत्पादित र आयातित वस्तुको खरिद बिक्रीमा मन्दी छ ।

उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले यस्तो प्रतिकूल अवस्थामा लक्ष्य अनुसारको भन्सार राजश्व संकलन हुने अवस्था नरहेको बताए । ' भन्सार नाका हुँदै आयात भएर राजश्व तिर्दै आएका व्यापारिक वस्तुमा पनि सरकारले करमाथि कर थपेर तस्करीलाई प्रोत्साहन दिएर भन्सार राजश्व असुलीलाई संकटमा पारेको छ ।

१० प्रतिशत भन्सार महसुल लाग्दै आएको सुती कपडा ( साडी, धोती, गम्छा, कात्रो) लगायतका सामानमा सरकारले यसवर्षदेखि १३ प्रतिशत भ्याट थप गरेपछि भन्सार नाकाबाट आयात बन्द भएर चोरी पैठारी सुरु भएसँगै भन्सार राजश्व प्रभावित भएको राठीको दाबी छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु वर्षको १० महिनामा १ अर्ब ५९ करोड १८ लाख मूल्यको सुती सारी र १० करोड ५७ लाख मूल्यको सुतीको धोती र लुंगी १० प्रतिशत भन्सार महसुल तिरेर आयात भएको छ ।

विराटनगर भन्सारकाअनुसार गतवर्ष यो नाकाबाट ५६ करोड ४४ लाख ७८ हजार मूल्यका सुती कपडा आयात हुँदा १० करोड १७ लाख भन्सार महसुली असुली भएको थियो । चालु वर्षको १० महिनामा ४० करोड ३६ लाख मूल्यका सुती सारी, धोती लगायतका सुती कपडा आयात हुँदा ४ करोड ९८ लाख राजश्व असुली भएको छ ।

भन्सार स्रोतका अनुसार जेठ १५ मा सार्वजनिक भएको बजेटमा सुती कपडामा १० प्रतिशत भन्सार महसुल सहित १३ प्रतिशत भ्याट कायम गरेपछि आयात प्रभावित भएको छ ।


प्रकाशित : जेष्ठ ३२, २०८१ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×