कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बाती बनाउने प्रतियोगिताका पाँच मिनेट 

आनन्द गौतम

ताप्लेजुङ — फुङलिङ नगरपालिका-११ फुरुम्वूकी सुकमाया फुरुम्वू धुपको धुलो लगाएर बाती बनाइ रहन्थिन् । आफूले बनाएको धुप बिक्री पनि गर्छिन् । तर यही विधाको प्रतियोगितामा भने उनी अहिलेसम्म सहभागी भएकी थिइनन् ।

बाती बनाउने प्रतियोगिताका पाँच मिनेट 

ताप्लेजुङ पर्यटन महोत्सवमा घरेलु तथा साना उद्योग महासंघले यो विधाको प्रतियोगिताको आयोजना गरेपछि उनीपनि सहभागी भइन् । धुप, त्यसलाई बेर्न प्रयोग गरिने सामग्री बोकेरै गएकी उनले आफ्नो सामानको उपयोग गर्न भने पाइनन् । आयोजकले दिएको सामान राखेर प्रतिष्पर्धा गर्नुपर्‍यो ।

यसरीनै गएकी थिइन् फुङलिङ नगरपालिका-४ की कृष्णमाया कार्कीपनि । सुनपाती, भैरुङपाती, त्यसलाई लुकाउने हाते कागजको पत्ता लिएर गएकी उनले घरमा भने सहज ढंगले आफ्नो अनुकुलता अनुसार बनाउने गरेकी थिइन् । कार्यक्रमका संयोजक अञ्जना कडरियाले जम्मा पाँच मिनेटको समय हुने र त्यो अवधिमा जसले राम्रो र धेरै बनाउँछ, त्यही प्रथम हुने सुनाएपछि उनले प्रतिष्पर्धीतर्फ पल्याक पुलुक हेरिन् ।

मनमा डरपनि भयो र जित्छुहोला भन्ने हिम्मत पनि आयो । तीन जना निर्णायक मण्डलको नाम सार्वजनिक गरेर सिटी बजाएपछि सुरु हुने प्रतियोगितामा चनाखो भएर प्रतिष्पर्धा गर्न उद्धघोषक कडरियाले आग्रह गरेपछि आफूलाई सहज हुनेगरी पलेटी कसेर बसिन् र प्रतिष्पर्धाका लागि तयार भइन् ।

पाँच मिनेटको अवधिमा सुकमायाले १० वटा बाती कातिन् । ११ वटा पुर्‍याउने क्रममा बटार्दा-बटार्दै निर्णायक सुमित्रा प्रसाईले सिटी बजाएपछि बन्दै गरेको बाती हातैमा राखिन् । निर्णायक मण्डलकी बालकुमारी न्यौपानेले पूरा नभएको बाती प्रतियोगितामा समावेश नहुने जानकारी गराएपछि फालिदिइन् ।


तर पनि प्रतियोगितामा प्रथम भइन् र नगद ५ हजार जितिन् । कृष्णमायाले ८ वटा बनाएर द्वितीय भइन् र तीन हजार हात पारिन् । १७ जना महिलाको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुनेले १० वटा बनाउँदा अन्तिम हुनेले दुई वटा बनाएका थिए ।

सदरमुकाम फुङलिङमा पर्यटन महोत्सव चलिरहँदा महासंघले राखेको एउटा विधा धुप बाती बनाउने प्रतियोगिता थियो । अहिले यसको राम्रो बजार भएको र घरमै बसेर उद्यमी बन्न सकिने भएकाले यसलाई प्रोत्साहित गर्न प्रतियोगिता आयोजना गरिएको संयोजक कडरिया बताउँछिन् ।

पाथीभरा दर्शनका लागि वार्षिक तीन लाखको हाराहारीमा आउने तीर्थयात्रीले यसको उपयोग गर्ने बुझाइ उद्यमीको छ ।यसका लागि अर्गेली, लोक्ताबाट तयार पारिएको एकै साइजका कागजका टुक्राहरु बनाइन्छ । त्यसलाई भुँइमा राखिन्छ । त्यसको भित्र लगाउन सुनपाती, भैरुङपाती, धुप र कपुरको धुलो मिसाएर अगाडि राखिन्छ ।

त्यो कागजमा धुलो राखेपछि त्यसलाई झर्न नदिने गरी पट्याएर बेरिन्छ । बेरिसकेपछि यसलाई बाती भनिन्छ । घर तथा मन्दिरमा अधिक प्रयोग हुने यो बाल्दा मगमग गन्ध आउने गरेको छ । यसको बजार मूल्य प्रतिगोटा दुई रुपैयाँ रहेको ब्यवसायी बताउँछन् ।

‘प्रतियोगिताका लागि समय त ठिकै राखेको होला । तर दुई मिनेटजति आत्तिएरै जाँदो रहेछ,’ सात वटा बनेर तेश्रो भएकी राधिका खवासले भनिन्, ‘१० मिनेट राखेको भएचाँहि आत्तिने समय कटाएरपनि राम्रै प्रतिष्पर्धा हुन्थ्यो ।’ अब घरमा नियमित बन्ने र बिक्री गर्ने योजना खवासको छ ।

प्रकाशित : जेष्ठ ५, २०८१ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×