कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

भेडेटार-रवि-राँके सडकमा यातायात सञ्चालन

रमेशचन्द्र अधिकारी

धनकुटा — पहिरोले अवरुद्ध बनेको भेडेटार-रवि-राँके सडकखण्डको साँगुरीगढी गाउँपालिकाको ओख्रे खण्डमा सोमबार अपराह्नदेखि सवारीसाधन गुड्न थालेका छन् ।

भेडेटार-रवि-राँके सडकमा यातायात सञ्चालन

सडकमा आइतबार साँगुरीगढी ५ र ६ नम्बर वडाको सिमाना ओख्रे क्षेत्रमा पहिरो जाँदा यातायात अवरुद्ध बनेको थियो । सडकमा थुप्रिएको माटो र ढुंगा आइतबार रातिदेखि नै पन्छाउन थालिएको सडकमा खटिएका आप्को इन्फ्राटिज प्रालिका सिनियर इन्जिनियर आनन्दकुमार यादवले जानकारी दिए । यहाँ सडक स्तरोन्नतिको काम भइरहेको छ ।

पहिरोबाट खसेको ढुंगा लागेर एक्साभेटर चालक विकास चौधरी घाइते भएका थिए । धरानबाट धनकुटाको डाँडाबजार, राजारानी, कुरुले, छ नम्बर बुधबारेलगायतका स्थानमा नियमित यातायात सञ्चालन हुन्छ । निर्माणको क्रम रहेकोले समय तालिका बनाएर उक्त सडकमा यातायात सञ्चालन हुँदै आएको छ।

सडकमा थुप्रिएको माटो र ढुंगा पन्छाए लगत्तै सोमबार अपराह्न पछि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजबाबु महर्जनले जानकारी दिए । दुई वटा एक्साभेटर र जनशक्ति परिचालन गरेर सडकमा थुप्रिएको पहिरो हटाइएको थियो ।

चालकको मृत्यु, सहचालक घाइते

यसैबीच धनकुटाको पाख्रीबास नगरपालिका-५ पञ्चेमा आइतबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

सिधुवाबाट भोजपुर जाँदै गरेको प्र–१ ०२–००३ च १६६३ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक तेह्रथुमको छथर गाउँपालिका-१ का २८ वर्षीय दुर्गाबहादुर बिक रहेको प्रहरी प्रवक्ता डीएसपी महर्जनले जानकारी दिए । सहचालक निर्मल कटुवाल घाइते छन् । दुर्घटनामा गम्भीर घाइते चालक बिक र सहचालक कटुवाललाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो । चालक बिकलाई अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए । सहचालक कटुवाललाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

प्रकाशित : मंसिर २५, २०८० २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×