कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

पाथीभरा क्षेत्रमा तीर्थयात्रीको पहुँचमा रेडपाण्डा

आनन्द गौतम

ताप्लेजुङ — पानीको मुहान सफाइका  लागि शनिबार डढेले गएका माथिल्लो फेदीका राजेन्द्र महतले रेडपाण्डाको फोटो र भिडियो खिचे । नजिकैबाट मोबाइलमा कैद गरेका उनलाई रेडपाण्डाले पोज दिएको आभास दिलायो । मोबाइलमा कैद गरिरहेका उनीतिर फर्किएर एकाहोरो हेरिदिन्थ्यो भनें कहिले दायाँबायाँ घुमेर कैद गर्ने माहोल बनाइ दिन्थ्यो । चौरमाथिको डाँडामा देखिएको रेडपाण्डा मानिस भीड देखेपछि भने पहराको फेदतिर ओर्लियो ।

पाथीभरा क्षेत्रमा तीर्थयात्रीको पहुँचमा रेडपाण्डा

त्यसको दुईदिन अघि (बिहीबार) पाथीभरा जाने तीर्थयात्रीले पैदलमार्ग नजिकै हिँडिरेको रेडपाण्डाको भिडियो खिचेर राजेन्द्रलाई देखाएका थिए ।

गत वर्ष पनि एउटा माउलाई तीनवटा बच्चाले पिछा गरिरहेको भिडियो तीर्थयात्रीले नै खिचेका थिए । क्याउ...क्याउ...आवाज निकाल्दै तीन वटा छाउराले माउ पछ्याइरहेको दृष्यले संरक्षणकर्मीलाई नै अचम्भित बनाएको थियो ।

दुईवटा बच्चा स्वभाविक भए पनि उत्रै तीन बच्चा हुर्काउनु दुर्लभ हुने रेडपाण्डाको क्षेत्रमा काम गर्दै आएका हिमाली संरक्षण मञ्चका रमेश राई बताउँछन् । तर हुँदै नहुने भन्ने चाँही नहुने उनले सुनाए । यी रेडपाण्डाका जीवित उदाहरण हुन् । मृत्यु भएको अवस्थामा पनि यो क्षेत्रमा पटक/पटक रेडपाण्डा भेटिएका छन् । एक दशकअघि पाथीभरा क्षेत्रकै देउरालीमा मृत भेटिएको रेडपाण्डाको पोष्टमार्टम गरिएको थियो । त्यसपछि पनि मृत अवस्थाका रेडपाण्डा पटक/पटक भेटिए । तर, पोष्टमार्टम भएको भने एक पटक मात्रै हो ।

लजालु तथा लाटो जनावरको रुपमा परिचित विश्वकै दुर्लभ रेडपाण्डा (हाव्रे) पाथीभरा क्षेत्रमा एकपछि अर्को देखिदै आएको छ । पछिल्लो पटक शनिबार भिडियो खिचेका राजेन्द्र भने आफुले प्रशस्त संख्यामा देख्ने गरेको बताउँछन् ।

‘हामी काममा हिड्दा रुखमा भुईमा, माउ बच्चा देखिइरहन्छौं,’ उनले भने । बासस्थान बिनास, चोरीशिकारी, घरपालुवा जनावरको आक्रमण जस्ता कारण संरक्षणमा भने चुनौती रहेको उनले बताए । पाथीभरा क्षेत्रमा एकपछि अर्को भेटिएकाले संख्यात्मक रुपमा भने राम्रो हुनसक्ने रेडपाण्डा नेटवर्कका कार्यक्रम अधिकृत वाङचु भोटिया बताउँछन् ।

नेटवर्कको सहयोगमा हिमाली संरक्षण मञ्चले संरक्षण सम्बन्धी कार्यक्रम पनि गर्दै आएको छ । घरपालुवा र जथाभावी छोडिने कुकुरका कारण रेडपाण्डा समस्यामा परेको भन्दै कुकुर बन्ध्याकरण शिविर चार वर्षदेखि चलाइरहेको छ । कुकुरको संख्या नियन्त्रणमा ल्याउन ल्याउन यस्तो अभियान चलाएको हो । रेडपाण्डा सम्बन्धी पाठ्यक्रम बनाएर रेडपाण्डा पाइने क्षेत्रमा कक्षा ५ सम्म पढाई हुने गरेको छ ।

नेटवर्कका अनुसार देशका २३ हिमाली तथा पहाडी जिल्लामा रेडपाण्डा पाइन्छ । ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा रेडपाण्डा पाइने गरेको छ । नुवाकोट, धादिङ, लमजुङ, म्याग्दी, बाग्लुङ, रोल्पा, रुकुम, डोल्पा, जाजरकोट, जुम्ला, मुगु र कालिकोट पनि रेडपाण्डा बासस्थानको रुपमा रहेको नेटवर्कको तथ्यांकमा उल्लेख छ ।

२५ प्रतिशत भने ताप्लेजुङ, पाँचथर र इलाम जिल्लामा मात्रै पाइने बुझाई अनुरुप नेटवर्कले संरक्षणको काम गर्दै आएको छ । संख्या यकिन नभएको यो जनावर नेपालमा ५ सयको हाराहारीमा रहेको प्रारम्भिक तथ्यांक छ । विश्वमा एक हजारको हाराहारीमा रहेको र संकटापन्न सूचीमा राखिएको जनावर चीन, भारत, भुटान र बर्मामा रहेको नेटवर्कले उल्लेख गरेको छ ।

स–साना र एक्लिएको रुपमा रहेको बासस्थान, सिकारी र सिकारी कुकुरको आक्रमण, संरक्षण शिक्षाको कमी, आहाराको कमी, लोभ तथा भ्रममा परेर गरिने अबैध ब्यापार संरक्षणका चुनौती हुन् । यसको मुख्य आहारा मालिङ्गो र निगालो हो । रेडपाण्डा रुखको टोड्का र झाँडीमा गुण बनाएर बस्ने गरेको छ ।

डढेलो, मालिगोको विनासले आहाराको समस्या रहेको हिमाली संरक्षण मञ्चका कार्यक्रम अधिकृत रमेश राई बताउँछन् । प्राकृतिक रुपमा घट्दो जन्मदर र बड्दो मृत्यूदर पनि कारक रहेको संरक्षणकर्मीको बुझाई छ । माघ–फागुनमा गर्भाधारण गर्ने र असारदेखि भदौसम्म सतान जन्माउने यस्को सुरक्षित बासस्थान भए संख्यामा बृद्धि हुने संरक्षणकर्मीको बुझाइ छ ।

संरक्षणकालागि पाथीभरा क्षेत्रको साुदायिक वन सम्बन्धी कार्ययोजना बनाएर लागु गरिएको छ । रेडपाण्डा मारे ओसार पसार गरे वा नियन्त्रणमा राखे १ देखि १० वर्षसम्म कैद र १ देखि १० लाखसम्म जरिवाना वा दुवै हुने कानुनी ब्यवस्था छ । पछिल्ला वर्ष ओसारपसारमा संलग्न पनि पक्राउ पर्ने र कानुनी दायरामा आउन थालेकाले संरक्षणमा टेवा पुग्नेक्रममा रहेको सामुदायिक वन उपभोत्ता महासंघका अध्यक्ष सुरज ओझा बताउँछन् ।

प्रकाशित : फाल्गुन १४, २०८० २२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×