कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

ताजपुरिया संस्कृति जगेर्ना गर्न माग

काठमाडौँ — ताजपुरिया समुदायका अगुवाहरुले आफ्नो संस्कृति र परम्परा संरक्षणका लागि राज्यकातर्फबाट पहल गर्नुपर्ने माग गरेका छन् ।

ताजपुरिया संस्कृति जगेर्ना गर्न माग

संविधानको भावना र मर्म अनुसार आदिवासी जनजातिको कला, संस्कृतिलाई संरक्षण र संवर्धन गर्नुपर्ने भन्दै उनीहरुले त्यसका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

ताजपुरिया समाज कल्याण परिषद्को २८ औं स्थापना दिवसका अवसरमा मोरङको रंगेली नगरपालिका–८ दर्वेशा बजारमा आयोजित कार्यक्रममा अध्यक्ष पूर्णलाल ताजपुरियाले समुदायको परम्परागत संस्कृति जोगाउनुपर्ने बताए । ताजपुरिया समुदायको संस्कृति जोगाउन स्थापना दिवसले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।

परिषद्का पूर्व अध्यक्ष एवं आदिवासी जनजाति महासंघका पूर्वमहासचिव नित्यानन्द ताजपुरियाले नटुवा, हुदुरधुरा, ढोलसोना लगायत सांस्कृतिक नाचहरु पछिल्लो समय लोप हुने अवस्थामा पुगेको बताए । पूर्वी तराईको झापा र मोरङमा बसोबास गर्दै आएका ताजपुरिया जातीले संविधानले दिएको अधिकारको महसुस गर्न नपाएको उल्लेख गरे ।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य ऋषिकेश पोखरेलले ताजपुरिया जातिलाई विशेष स्वायत्त क्षेत्र घोषणा गर्न संसद्मा माग गर्ने प्रतिबद्धता जनाए । संविधानले दिएको अधिकारबाट संरक्षित क्षेत्र घोषणा गरिए ताजपुरिया समुदायअघि बढ्न सक्ने बताउँदै सांसद पोखरेलले परिषद्ले लिएको लक्ष्य छिट्टै पुरा हुनेमा विश्वस्त रहेको बताए ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा झापा र मोरङबाट प्रतिनिधित्व गरेका टोलीहरुले नटुवा, हुदुरधुरा, ढोलसोना लगायत सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । साथै जातीय पहिचानका केही परम्परागत र आधुनिक गीतको प्रस्तुत गरिएको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार ताजपुरिया जातिको संख्या २० हजार ९ सय ८९ छ ।

प्रकाशित : मंसिर २५, २०८० १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×