पर्म नलगाए भकारी रित्तै हुने पिरलो
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
(पाँचथर) — कुनै बेला पाँचथरको फिदिम नगरपालिका–११ का लोकप्रसाद बुढाक्षत्रीका खेतमा धान रोप्न र बाली उठाउन दैनिक २५ जनासम्म खेताला हुन्थे । पाकेको बाली चरामुसाले खान नभ्याउँदै घर भित्र्याउँथे । तर, अहिले धान रोप्न र खलो उठाउनै धौ–धौ पर्न थालेको उनले सुनाए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![पर्म नलगाए भकारी रित्तै हुने पिरलो](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2023/third-party/dhan-thankyaune-chataro-8-10122023063051-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
‘छिमेकीहरू एकपछि अर्को गर्दै बसाइँ सरे,’ भने, ‘हुर्के–बढेका धेरैजसो विदेश र जागिर खान बजार झरे । अब कसले गर्ला खेतीपाती ?’
फाल्गुनन्द–७ का पूर्णबहादुर चेम्जोङले पनि जनशक्ति अभावकै कारण खेत बाँझिएको सुनाए । ‘दस वर्षअगाडिसम्म बर्सेनि सय मुरीसम्म धान भित्र्याउँथें,’ उनले भने, ‘यस वर्ष ३५ मुरी भित्र्याउन पनि हम्मे–हम्मे भयो ।’ फिदिम–११ का पूर्णबहादुर बुढाथोकी दशकअघिसम्म ५ हल गोरु, १० रोपाहार र ५ बाउसे लगाउँथे अनि सालिन्दा असार १५ मा बेठी लगाइसक्थे । ‘अहिले मान्छे सकिँदै गए, खेत बाँझिँदै गयो,’ उनले सुनाए, ‘गाउँ पनि रित्तिँदै गए ।’ गाउँमा बचेको पुस्ताले घिसिपिटी कृषिलाई निरन्तरता दिइरहेको उनले सुनाए ।
फिदिम–११ की गीता अधिकारीले विगतमा खेताला लगाएर बस्ने किसान अहिले फुर्सद नपाइरहेको सुनाइन् । ‘पर्म लगाउन र तिर्न जानैपर्छ,’ उनले भनिन्, ‘अहिले त पर्म नलगाए भकारी रित्तै हुने पिरलो छ ।’
पाँचथरका आठवटै स्थानीय तहमा धान खेती हुने गरेको छ । फिदिम, फाल्गुनन्द, मिक्लाजुङ र हिलिहाङका केही स्थानमा भने हिउँदे र बर्खे गरी दुवै सिजनको धान लगाइन्छ । कृषि ज्ञान केन्द्रका अनुसार मुख्यतः जनशक्ति अभाव र परम्परागत प्रविधिमा आश्रित रहँदा बर्सेनि धान खेती घट्दो क्रममा छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी केशरबहादुर मग्रातीले तीन वर्षअघि मात्रै १० हजार ५ सय हेक्टरमा धान रोपिनेमा गत वर्ष ९ हजार २ सय हेक्टरमा मात्रै रोपिएको बताए । यस वर्ष ८ हजार ६ सय हेक्टरमा झरेको छ ।
अन्न उत्पादक किसानलाई प्रोत्साहनका लागि पाँचथरको मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिकाले धेरै धान फलाउने किसानलाई नगद पुरस्कार दिने नीति ल्याएका छन् । यद्यपि, प्रदेश सरकार मातहतको कृषि ज्ञान केन्द्रमा धानबाली प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्ने कुनै कार्यक्रम नरहेको उनले बताए ।
फाल्गुनन्द गाउँपालिकाले धान उत्पादन कृषक प्रोत्साहन कार्यविधि, २०८० पारित गर्दै किसानलाई पुरस्कार दिने नीति लिएको छ । पालिकाले सय मुरीभन्दा धेरै धान फलाउनेलाई ५० हजार र ५० मुरीदेखि सय मुरीसम्म फलाउनेलाई ३० हजार दिन सुरु गरेको छ । मिक्लाजुङका अध्यक्ष अमरराज माखिमले भने, ‘बसाइँ सराइले गाउँघर खाली र खेत बाँझै हुने भएपछि खेतीपातीमा प्रोत्साहन दिन यस्तो नीति लिइएको हो ।’
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)