कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

मोरङको भाउन्नेमा हात्तीको बिज्याइँ

विनोद भण्डारी

बेलबारी, मोरङ — रातभरी जंगली हात्तीको गोठालो गर्ने क्रममा बेलबारी-१० भाउन्नेका तेजबहादुर दाहाल एक सातादेखि अनिँदो छन् । तरपनि उनले आफ्नो १० कठ्ठा जमिनमा लगाएको मकै खेती जंगली हात्तीको विनासबाट जोगाउन सकेनन् ।

मोरङको भाउन्नेमा हात्तीको बिज्याइँ

दुईसतादेखि नजिकको चारकोसे जंगलमा भेला भएर बसेका दुई दर्जन बढी जंगली हात्तीको उपद्रोले दाहालको १० कठ्ठा जमिनमा लगाएको मकैखेतीमा अहिले एउटापनि सग्लो बोट छैन । 'हात्तीले मकै खेती सबै नष्ट गर्‍यो, अब घर नै भत्काउँछ कि भन्ने चिन्ताले परिवार नै रातभरी जागै बिताउँदै छौं, उनले भने ।

गत बिहीबार साँझ रविन निरौला र तिर्थबहादुर दाहालका परिवार खान खान बसेका थिए । त्यसैबेला हात्ती आएर घर भत्काउन थाल्यो । 'हत्पत् कोही घरको माथिल्लो भागमा चढेर र कोही भागेर ज्यान जोगायौं', निरौलाले भने, 'मुस्किलले ज्यान जोगियो तर घर जोगाउन सकिएन ।'

दुईसातायता जंगली हात्तीको आक्रमणमा परी मोरङको भाउन्नेमा लेटाङ-३ का ५३ वर्षीय कमल माझीको मंसिर १८ गते ज्यान गयो । त्यस बाहेक बेलाबारी- ८ र १० मा तीनवटा घर भत्कायो । वडा-१० का अध्यक्ष गंगा याख्याका अनुसार ३० बिघा भन्दाबढी क्षेत्रफलमा लगाएको मकै र केराखेती हात्तीले नष्ट गरेको छ । हात्तीको उपद्रो जारी छ । यहाँका हरेक घरका बासिन्दा दैनिकीको रातभरी हात्ती धपाउँदैमा बित्दै आएको छ ।

स्थानीय तेजवहादुर दाहालको मकै खेतमा हात्तीले गरेको क्षति

बेलबारी चिसाङ साझेदारी वन, सिर्जना, अमना, लक्ष्मी र वेतना सामुदायिक वन क्षेत्रमा दुईसातादेखि २७ वटा जंगली हात्ती बसेका छन् । बेलबारी चिसाङ साझेदारी वनका अध्यक्ष दिनेश गिरीले भने ती हात्ती दिनभरी जंगलमा बसेर साँझपरेपछि बस्तीमा छिरेर उपद्रो गर्दै आएका छन ।

पछिल्लो समय चारकोसे जंगलको बेलबारी, भाउन्ने, कानेपोखरी, मिक्लाजुङ र लेटाङ क्षेत्रमा जंगली हात्तीले ठूलो मात्रामा जनधनको क्षति पुर्‍याएको डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णु घिमिरेले बताए । यसक्रममा एक जनाको ज्यान नै गएको छ । सयौं बिधाको मकै, केरा र धानबाली नष्ट गरेको घिमिरेले बताए । उनकाअनुसार सशस्त्र वन रक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारणले हात्ती खेदाउने प्रयत्न गरेपनि संभव भएको छैन । उनका अनुसार स्थानीय निकायको सिफारिसमा जनधन क्षतिको क्षतिपूर्ति उपलब्ध गराउने प्रयास भइरहेको छ । हात्तीको आक्रमणमा परेर ज्यान गुमाएका परिवारलाई सरकारले १० लाख क्षतिपूर्ति दिने व्यवस्था छ ।

मंसिर महिनामा मोरङ, सुनसरी र झापामा हात्तीको आक्रमणवाट चारजनाको ज्यान गएको प्रदेश प्रहरीको तथ्यांकक छ । हात्तीको आक्रमणबाट झापामा २, सुनसरी र मोरङमा १–१ जनाले ज्यान गुमाइ सकेका छन । मंसिर ५ गते हात्तीले आक्रमण गर्दा झापा दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भयो । शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जंगलले तामाङलाई हात्तीले आक्रमण गरेको थियो ।

मंसिर १३ गते राती सुनसरीको इटहरीमा जंगली हात्तीको आक्रमणबाट इटहरी–२ का रविन खड्काको मृत्यु भयो । चारकोशे झाडीबाट बस्तीमा छिरेको हात्तीको बथान धपाउने क्रममा खड्कालाई मारेको हो । प्रहरीका अनुसार इटहरीको १९, २०, २ र ३ नम्बर वडामा हरेक रात हात्तीको बथानले भौतिक क्षति पनि गर्दै आएको छ ।

मंसिर १५ गते झापाको हल्दिबारी–३ स्थित रणकाली सामुदायिक वनका चौकीदार ४० वर्षीय धनबहादुर वनको पनि हात्तीको आक्रमणमा परी मृत्यु भयो । जंगलबाट आएको एउटा हात्तीले उनलाई लछारपछार गरी कुल्चिएर मारेको हो । मंसिर १८ गते मोरङको बेलबारी भाउन्नेको सृजना सामुदायिक वनमा लेटाङ ३ का ५३ वर्षीय कमल माझीको हात्तीको आक्रमणमा परेर ज्यान गएको थियो ।

गतवर्ष गतवर्ष मोरङको सुन्दरहरैंचा-१० सुकुना सामुदायिक वनमा घाँस दाउरा गर्दै गरेकी स्थानीय ३२ वर्षिय सीता पराजुली र सुन्दर हरैचाकै त्रिवेणी चोकsf ७५ वर्षिय जयप्रसाद वास्तोलाको हात्तीको आक्रमणवाट मुत्यु भएको मोरङ प्रहरीको तथ्यांक छ । त्यसैगरी गतवर्ष मिक्लाजुङ-६ कसेनीका ५१ वर्षिय यामवहादुर वोहोरालाई जंगली हात्तीले कुल्चेर मारेको थियो ।

भारतवाट झापाको वाहुनडागीवाट छिरेका जंगली हात्ती झापा हुँदै वर्षेनी मोरङको मिक्लाजुङ नाकावाट छिरेर यहाँ आएर केही समय उपध्रो गरेर फर्कने गरेको डिभिजन वन कार्यालय मोरङको बुझाई छ ।


मोरङको बेलबारी- १० भाउन्ने स्थित रविन निरौला र तिर्थबहादुर दाहालको हात्तीले क्षति पुर्‍याएको घर । राती स्थानीयले भगाउँदै गरेको हात्तीको हुल । तस्बिर : विनोद भण्डारी/कान्तिपुर





प्रकाशित : मंसिर २४, २०८० १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×