कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

मिक्लाजुङ-५मा गर्भवती र अपांगलाई नि:शुल्क एम्बुलेन्स सेवा

विनोद भण्डारी

विराटनगर — मोरङको मिक्लाजुङ- ५ धानखेतीकी सजना राईलाई केहीदिन पहिला घरमै सुत्केरी व्यथा लाग्यो । अस्पताल लैजान उनका श्रीमान कृष्ण र छिमेकी एम्बुलेन्सको खोजीमा जुटे ।

मिक्लाजुङ-५मा गर्भवती र अपांगलाई नि:शुल्क एम्बुलेन्स सेवा

त्यो खबर वडाअध्यक्ष मेघनाथ तामाङलाई पुग्यो । तामाङले वडा कार्यालय अगाडि पार्किङमा रहेको एम्बुलेन्स लिएर राईको घरमै पुगे अनि उनलाई चढाएर छिमेकी उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी ट्रमा सेन्टरमा सुत्केरी गराउन पठाए अनि एम्बुलेन्सको भाडा १५ सय रुपैयाँ पनि तिरिदिए ।

वडा-५ कै फुलमाया विश्वकर्मालाई सुत्केरी व्यथा लाग्दा पनि वडाअध्यक्ष तामाङले उनलाई अस्पतालसम्म पुर्‍याउन आफैंले भाडा तिरेर एम्बुलेन्सको व्यवस्था गरिदिए ।

सुत्केरीलाई मात्र नभएर वडाअध्यक्ष तामाङ आफनो वडाभरीका अपांलाई पनि अस्पताल जानुपर्दा एम्बुलेन्सको व्यवस्था गरेर लाग्ने एम्बुलेन्स भाडा आफैं तिरिदिन्छन । गत साउन महिनादेखि तामाङले आफनो वडाका गर्भवती महिलालाई सुत्केरी गराउन अस्पताल लैजान र अपांगलाई उपचारका लागि अस्पताल जान तामाङले आफनो तर्फबाट नि:शुल्क एम्बुलेन्सको व्यवस्था गर्दै आएका छन् । उनले एम्बुलेन्सको भाडा आफूले वडाबाट पाउने मासिक सेवा सुविधाको रकम खर्च गर्दै आएका छन् ।

पाँच महिनाको अवधिमा गाउँमा सुत्केरी भएका दुई महिला अस्पताल पुर्‍याउन तामाङले एम्बुलेन्सको व्यवस्था गरेका छन् । 'गाउँका हरेक गर्भवती महिला सुत्केरी हुन अस्पताल जानका लागि आफ्नो सेवा सुविधाबाट एम्बुलेन्सको व्यवस्था गर्ने घोषणा गरेको छुु', तामाङले भने,' मासिक १९ देखि २२ हजार सम्म वडा कार्यालयबाट सुविधा आउँछ । त्यो रकम गर्भवती र अपांगलाई अस्पताल पुर्‍याउन एम्बुलेन्स व्यवस्थाका लागि खर्च गर्दै आएको छु ।'

मिक्लाजुङ-५ बाट उर्लाबारीको मंगलबारेसहित दमक, विर्तामोड, विराटनगर र धरानका अस्पताल जाँदा गर्भवती र अपांगलागि पाँच महिनादेखि नि:शुल्क एम्बुलेन्सको व्यवस्था गर्दै आएको उनले बताए । आगामी आर्थिक वर्षदेखि वडा कार्यालयकै कार्यक्रममा यो योजनालाई समावेश गर्ने उनको तयारी छ ।

वडाको स्वास्थ्य संस्थाबाट वडाभरी कति गर्भवती महिला छन् र उनीहरुको बच्चा जन्मिने महिनाको जानकारी तामाङले राखेका छन् । त्यहाँकी स्वस्थ्यकर्मी बबिता बस्नेतले गर्भवतीको अवस्था र बच्चा जन्मिने समयकाबारेमा तामाङलाई जानकारी दिन्छिन् ।

वडाभरी २७ जना अपांग छन । ती मध्ये १२ जनालाई अस्पताल जानुपर्दा नि:शुल्क एम्बुलेन्सको व्यवस्था वडा अध्यक्ष तामाङले गरिसकेका छन् । त्यती मात्र होइन वडामा रहेका सबै अपांगको अवस्था बुझ्न उनले महिनाको हरेक १० गते अपांगर उनका परिवारजनलाई वडा कार्यालयमा बोलाएर उनीहरुको स्वास्थ्य अवस्थाका बारेमा छलफल गर्छन् ।

प्रकाशित : मंसिर २१, २०८० १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×