कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

श्रीमती र छोराको हत्यापछि आत्महत्या

धनकुटा — धनकुटा नगरपालिका–१ निगालेस्थित पाँडेपसल चोकमा बुधबार राति एक व्यक्तिले श्रीमती र छोराको हत्यापछि आफूले पनि आत्महत्या गरेका छन् । ३५ वर्षीय टीका गुरुङले ३६ वर्षीया श्रीमती भीमा गुरुङ र १० वर्षका छोरा आयुषको हत्या गरी झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमती र छोराको हत्यापछि आत्महत्या

संखुवासभाको चैनपुर नगरपालिका–१, नुनढाकी घर भएका गुरुङ परिवार गत १२ वर्षदेखि स्थानीय माणिकलाल श्रेष्ठको घरमा डेरा गरि बस्दै आएका थिए ।

स्थानीय बासिन्दाका अनुसार गुरुङ दम्पती ज्यालामजदुरी गर्दै जीवन गुजारा गर्थे । गुरुङले मादक पदार्थ सेवन गरी सुरुमा उनकी श्रीमती भीमा र छोरा आयुषको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । घटनामा ६ वर्षीया छोरी आशिका भने सकुशिल छिन् ।

मादक पदार्थ सेवन गरी झगडा हुँदा गुरुङले श्रीमतीको घाँटी थिचेर हत्या गरेको प्रहरी अनुमान छ । घटनाको प्रत्यक्षदर्शी छोरी रहेको प्रहरीले जनाएको छ । यसैबीच, घटनामा बच्न सफल भएकी छोरी आशिकाका अनुसार बाबुले सुरुमा आमालाई लडाएर हत्या गरेका थिए । आमालाई बचाउन जाँदा आफ्ना दाजुलाई बाबुले कुटपिट गरेको आफूले देखेको बालिकाले प्रहरीलाई बताएकी छिन् ।

यसैबीच, राति पौने १ बजे छोरीलाई सोही घरमा बस्ने लक्ष्मीदेवी श्रेष्ठको कोठामा पुर्याएर गुरुङ कोठामा गएर आत्महत्या गरेको खुल्न आएको छ । ‘श्रीमतीसहित आफू बाहिर जानुपर्ने भन्दै कोठामा फर्किएको थिए,’ श्रेष्ठले भनिन्, ‘झारफुक गर्ने पेसासमेत भएकोले सोही कामले बाहिर गएका ठानेर उनकी छोरीलाई लिएर म सुते, त्यसपछि घटना भएछ, छरछिमेकले थाहै पाएनौं ।’ बिहीबार बिहान ५ बजे छोरी आशिका चप्पल लिन घरभित्र जाँदा आमा, दाजु भुईंमा लडेको र बाबु झुन्डिएको अवस्थामा देखेर छिमेकीलाई भनेपछि घटना थाहा भएको थियो ।

श्रेष्ठ घटना भएको एउटै घरमा बस्दै आएकी थिइन् । उनका अनुसार यसअघि पनि मादक पदार्थ सेवन गरी झैझगडा भइरहने गर्थ्यो । राति नै आमा र दाजुमाथि आक्रमण भएको देखे पनि त्यसबारे अरुलाई डरले भन्न नसकेको बालिकाले बताएकी छिन् । प्रहरीले घटनास्थलमा मृतक टीकाका दाजु सूर्यमान र बहिनी सञ्जु पुगेपछि बिहीबार बिहान शव जाँच र घटनास्थलको मुचुल्का गरेको थियो । मृतक भीमाको अनुहार र घाँटीमा चोट रहेको प्रहरी प्रवक्ता महर्जनले जानकारी दिए ।

यस्तै, बालकको टाउकोको पछिल्लो भागमा चोट रहेको छ । धनकुटा जिल्ला अस्पतालमा पोस्टमार्टम गरी परिवारलाई शव जिम्मा दिइने जिल्ला प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

प्रकाशित : मंसिर ७, २०८० १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×