धरानमा डेंगी संक्रमण दर घट्दै


सुनसरी — डेंगीबाट चार महिनाको अवधिमा १५ हजार ७ सय ६९ जना संक्रमित भएको धरानमा संक्रमणको दर विस्तारै घटिरहेको छ । तीन बालबालिकासहित १३ जनाको ज्यान लिएको डेगीको संक्रमण दर क्रमिक घट्नुमा प्रभावकारी स्वास्थ्य कार्यक्रमको कारण नभएर प्राकृतिक कारण रहेको जनस्वास्थ्यविद्हरुले बताएका छन् ।


डेंगी संक्रमणले सिकिस्त भएपछि उपचारार्थ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएपछि १३ जनाको मृत्यु भएकाको थियो । अस्पताल नगई घरैमा सिटामोल खाँदै बस्दा अवस्था जटिल भएर मृत्यु हुनेको संख्या भने धेरै हुन सक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।
संघीय सरकारमातहत स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको उचित सहयोगविनै धरानमा डेंगी संक्रमणको ग्राफ ओरालो लागेको छ । तीन साताअघि दैनिक सय जना संक्रमित पहिचान हुने गरेको थियो । पछिल्लो समयमा अधिकतम ५०/५५ जनामात्र पोजेटिभ देखिएका छन् ।
एक महिनाअघि साउन मसान्तमा संक्रमण दर ८१ प्रतिशत पुगेको थियो । अहिले घटेर शनिबार ५४ प्रतिशतमा झरेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले बताए । उनले भने, ‘संक्रमण दर घट्न त घट्दै छ तर यस बीचमा झरी दर्किरहयो र लामखुट्टेको लार्भा मार्ने अभियान बन्द गर्ने हो भने फेरि बढ्न सक्छ ।’
उनकाअनुसार संक्रमण दर घट्न थालेयता धरान सभागृह, धरान–१३ वडा कार्यालय, छाताचोकस्थित पुरानो अस्पताल, उद्योग वाणिज्य संघ र बीपी प्रतिष्ठानमा संचालित डेंगी फिवर क्लिनिक तथा स्वास्थ्य शिविर बन्द गरिएको छ । तर उपमहानगरका विभिन्न वडामा रहेका स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रमा भने चेकजाँच र उपचार जारी रहेको मेहताले बताए ।
बीपी प्रतिष्ठानले फिवर क्लिनिक बन्द गरे पनि डेंगी अस्पताल भने सञ्चालनमा ल्याएको मेडिसिन विभाग प्रमुख एडिस्नल प्रोफेसर डा. रविन मास्केले बताए । उनले भने, ‘डेंगीका बिरामी घट्दै गएका छन् । भर्ना हुनेको संख्या पनि कम देखिएको छ । तीन साता अघिसम्म डेंगी अस्पतालमा प्राय बेड सबै भरिएका हुन्थे । तर शुक्रबारसम्म १८ जना भर्ना छन् ।’ डेंगी अस्पतालमा ५० शय्या छ ।
डेंगी संक्रमण दर घट्दै गएको देखिए पनि न्यूनतम विन्दुमा आइपुग्न अझै केही महिना लाग्ने जनस्वास्थ्य विद्हरुले बताएका छन् । प्रतिष्ठानका स्कुल अफ पब्लिक हेल्थ एण्ड मेडिसिन विभागका डा. विजयकुमार खनालले भने ‘तापक्रम घट्दै गएको र पोष्ट मनसुन सुरु हुन लागेकाले विगत एक महिनाको दर हेर्दा संक्रमण घटेको देखिन्छ ।’ उचित वातावरण पाएमा डेंगी सार्ने लामखुट्टेको लार्भा नौ महिनासम्म पनि बाँच्न सक्ने भएकाले सतर्कता अपनाउँदै सर्च एण्ड डिस्ट्रोय अभियानलाई जारी राख्नु उचित हुने उनले बताए ।
धरान-१७ बस्ने एक महिलाको डेंगी संक्रमणबाट जेठ तेस्रो साता मृत्यु भएपछि उपमहानगर सतर्क भएको थियो । चिकित्सक, स्थानीय जनप्रतिनिधि, टोल विकास समिति (डीएलओ) र स्थानीय सरकार झस्किएका थिए । जनस्वास्थ्यविदहरुले त्यसबेलै सचेत गराउदै सर्च एण्ड डिस्ट्रोयको विकल्प नभएका बताइसकेका थिए । असार तेस्रो सातामा पुग्दा पुरै महामारीको रुप लिएपछि जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले धरानलाई स्वास्थ्य आपतकाल घोषणा गरी द्रुतगतिमा प्रभावकारी रुपमा डेंगी नियन्त्रण गर्न प्रदेश र केन्द्र सरकालाई सिफारिस गरिन् । तर पनि स्थानीय सरकारले चासो नदिएपछि डेंगी नियन्त्रण गर्न स्थानीय सरकार, प्रदेश, केन्द्र सरकार, राजनीतिक दल र विभिन्न संघसंस्था, बीपी प्रतिष्ठानबीच समवन्य हुन सकेन ।
समन्वयको अभावका बीच उनीहरुले आ–आफ्नै तरिकाले डेंगी नियन्त्रण गर्ने, सहयोग खोज्ने, औषधि, झुल, किट लगायत सामाग्री जुटाउने काम गरे । धरानमा डेंगी संक्रमण नियन्त्रणमा संघीय सरकार मातहतको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रभावकारी भूमिका खेलेन । महाशाखा धरानलाई हजार थान किट मात्र उपलब्ध गराएर पन्छियो । बरु प्रदेश सरकारले १० थान बेड, चिकित्सक, नर्स जस्ता जनशक्ति, स्लाइन अडाउने स्टेन र औषधि उपलब्ध गराएको छ ।
महामारीको उच्चतम विन्दुमा पुगेर संक्रमण दर घटिरहेको बेलासम्ममा दर्जन बढी विभिन्न संघ र धरान उपमहानगरपालिकाले १ करोड ७ लाख २९ हजार रुपैयाँ बराबरको औषधि, किट, झुल, जनशक्ति प्रयोग भएको स्वास्थ्य महाशाखा प्रमुख मेहताले बताए । उनकाअनुसार डेंगी नियन्त्रण गर्नकालागि उपमहानगरपालिकाले माइकिङ, फगिङ, निःशुल्क स्वास्थ्य शिविर संचालन, जनशक्ति परिचालन, औषधि र टेस्ट किटमा हालसम्ममा करिब ८० लाख रुपैयाँ खर्च भएको छ । त्यसबाहेक विभिन्न संघसस्थाले २८ लाख ७५ हजार बराबरको डेंगी परीक्षण किट, ४२ लाख ७५ हजार रुपैयाँ बराबरको झुल लगायत सामाग्री, १५ लाख बराबरको डेंगी म्यानेजमेन्ट किट सहयोग गरेको छ ।
प्रकाशित : भाद्र ३०, २०८० २२:१७