कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९९

श्रीमती हत्या आरोपमा पुरुष पक्राउ

चन्द्र कार्की

तेह्रथुम — श्रीमती हत्या आरोपमा आठराई गाउँपालिका १ डाँडागाउँका राज कुमार श्रेष्ठ झापाको काँकडभिट्टाबाट पक्राउ परेका छन् । २६ वर्षीया श्रीमती रेशिका श्रेष्ठ (दमन्ता) को हत्या गरेको आरोपमा उनलाई काँकडभिट्टा प्रहरीले शनिबार अपराह्न ४ बजे पक्राउ गरेको हो ।

श्रीमती हत्या आरोपमा पुरुष पक्राउ

काँकडभिट्टाको एक होटलमा लुकीछिपी बसेको अवस्थामा गोप्य सूचनाको आधारमा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजन चापागाईँले बताए ।

श्रेष्ठलाई आइतबार तेह्रथुम ल्याइने प्रहरीले जनाएको छ । गत साउन १४ गतेदेखि हराइरहेकी श्रेष्ठको शव उनकै पसल पछाडि सँगुरको खोरमा गाडेको अवस्थामा शनिबार फेला परेको थियो । घटनापछि श्रेष्ठका श्रीमान राजकुमार सम्पर्कविहीन थिए ।

गाडेको अवस्थामा शव फेला परेपछि प्रहरीले झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा निगरानी बढाएको थियो । प्रहरीले श्रेष्ठको हत्या श्रीमानबाटै भएको हुनसक्ने भन्दै राजकुमारको खोजी गरिरहेको थियो ।

‘प्रहरीको संयन्त्रले एकदमै छिटो काम गर्‍यो,’ प्रनाउ चापागाईँले भने । श्रेष्ठ दम्पतीका ७ वर्षीया एक छोरी छन् । स्थानीयहरूका अनुसार रेशिका बेपत्ता भएको केही दिनपछि राजकुमारले आफ्नी श्रीमती झापामा आफन्तको घरमा रहेको भन्दै उनको खोजी नगर्न छिमेकी र प्रहरीलाई जानकारी गराएका थिए ।

श्रीमतीसहित सम्पर्कमा ल्याउनु भन्दै त्यसपछि आठराई प्रहरीले श्रेष्ठलाई छाडेको थियो । गत साउन २४ गते बिहानैदेखि राजकुमार सम्पर्कविहीन भएका थिए । उनी आफूले प्रयोग गर्ने मोटरसाइकलसहित घरबाट सम्पर्कविहीन भएपछि प्रहरी, स्थानीय र माइती पक्षले खोजी कार्य तीव्र पारेका थिए । सोही क्रममा रेशिकाको शव गाडेको अवस्थामा फेला परेको हो । उनको शव गलेको अवस्थामा उत्खनन् गरी प्रहरीले शनिबार निकालेको हो ।

श्रेष्ठको शव शनिबार आफ्नै पसल पछाडि सुँगुरको खोरमा प्लाष्टिकमा बेरेर गाडेको अवस्थामा भेटिएको थियो । शनिबार नै घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक छेफिन्जो भोटेको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको छ ।

घटनास्थल र शवको प्रकृति हेर्दा श्रीमानले नै हत्या गरेर शव गाडेको हुनसक्ने प्रहरीको अनुमान छ । श्रेष्ठ दम्पतीबीच बारम्बार झगडा भइरहने गरेको स्थानीयले बताएका छन् ।

प्रकाशित : श्रावण २७, २०८० १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?