कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेवाखोला डाइभर्सन गरी ढुवानीका साधन ताप्लेजुङ लगियो

आनन्द गौतम

ताप्लेजङ — असार २ गते रातिको वर्षाले पुल बगाएपछि अवरुद्ध पाँचथरको हेवा खोलाबाट डिजेलको ट्यांकर, ग्याँस बोकेका ट्रकसहितका ढुवानीका साधन ताप्लेजुङतर्फ लगिएको छ । खोलामा हृयुम पाइप राखेर बनाइएको डाइभर्सनबाट सोमबार दिउँसोदेखि ढुवानीका साधन तार्न थालिएको हो ।

हेवाखोला डाइभर्सन गरी ढुवानीका साधन ताप्लेजुङ लगियो

उद्योग वाणिज्य संघ ताप्लेजुङका अध्यक्ष नारान थापाका अनुसार तीनवटा डिजेलका ट्यांकर, दुई वटा सिलिण्डर ग्याँसका ट्रक र २० वटा मालवाहक गाडी खोलो पार गरी ताप्लेजुङतर्फ लागेका हुन् । अत्यावश्यक वस्तुहरु तारिएको र अन्य ढुवानीका साधन लाइनमा रहेको थापाले बताए ।

लामो समयसम्म आपूर्ति हुन नसक्दा जिल्लामा ग्याँस, डिजेल र निर्माण सामग्रीको चरम अभाव भएको थियो । सिलिण्डर ग्याँस नहुँदा सदरमुकाम फुङलिङका कतिपय होटलहरु बन्द नै भएका छन् । अरु पनि कतिपय बन्द हुने अवस्थामा पुगेको भन्दै होटल व्यवसायी संघले आपूर्तिका लागि सरोकारवालाको ध्यानाकर्षण गराएको थियो ।

हेवाखोलामा बेलीब्रिजको पनि निर्माण भइरहेको छ । सडक डिभिजन कार्यालयले १० दिनसम्ममा निर्माण सम्पन्न हुने जनाएको छ ।

हेवाखोलामा झोलुङगेपुलमा बाँस लगाएर मोटर साइकल पनि तार्न थालिएको छ । यसअघि एक दिन तीन घण्टा हृयुमपाइपबाट गाडी तारिएको थियो । दिनभर बनाएको डाइभर्सनबाट ताप्लेजुङतर्फ रोकिएका सवारी तरेपछि बाढीले फेरी बगाएको थियो ।

प्रकाशित : असार १८, २०८० १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?