कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विधेयक प्रमाणीकरणपछि नागरिकता बनाउनेको घुइँचो

अर्जुन राजवंशी

बिर्तामोड — राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै जिल्ला प्रशासन कार्यालय झापामा नागरिकता बनाउनेको घुइँचो लागेको छ ।

विधेयक प्रमाणीकरणपछि नागरिकता बनाउनेको घुइँचो

जिल्ला प्रशासनले आइतबारदेखि प्रमाणीकरण भएको विधेयकका आधारमा जन्मसिद्धका सन्तानलाई नागरिकता दिन थालेको छ । संसद्‍मा विधेयक प्रमाणीकरणको विरोध भइरहँदा आइतबार जिल्ला प्रशासनमा भने दिउँसो १ बजेसम्म नागरिकताका लागि २ सय ५० जनाले ‘टोकन’ लिइसकेका थिए ।

‘विधेयक प्रमाणीकरण भइसकेकाले हामीले जन्मसिद्ध बाबुआमाका उमेर पुगेका सन्तानलाई नागरिकता बनाइदिन थालेका हौं,’ प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने,‘हामी सरकारको कानुन कार्यान्वयन गर्ने निकाय हौं । सरकारले लागू गरेको कानुन हामीले कार्यान्वयन गरिरहेका छौं ।’

सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासनले १ बजेपछि टोकन वितरण बन्द गरेको थियो । प्रजिअ पोखरेलका अनुसार अन्य दिनमा करिब एक सय जनाले नागरिकता बनाउने गर्थे । विधेयकमा भएको व्यवस्थाअनुसार जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता प्राप्त गरिरहेको प्रजिअ पोखरेलले बताए । उनका अनुसार जिल्लामा जन्मसिद्ध नागरिक ९ हजारभन्दा बढी छन् । स्पष्ट कानुनी व्यवस्था नहुँदा उनीहरुका सन्तानले नागरिकता प्राप्त गर्न सकेका थिएनन् ।

विधेयक प्रमाणीकरणविरुद्ध संसद्‍मा अवरोध सुरु भइरहेकाले नागरिकता बनाउन आएका सेवाग्राही भने चिन्तित देखिन्थे । ‘छिटोछिटो गरेर आएको । पोहोरजस्तै २ दिनमै बन्द हुन्छ कि भन्ने डर लागिरहेको छ,’ बिर्तामोड नगरपालिका १० की पिङकी झाले भनिन् । श्रीमान निलाम्बरसहित उनी छोरा दिपेशको नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय आएकी हुन् । २२ वर्षीय दिपेश नागरिकता नहुँदा उच्च शिक्षा अध्ययन गर्न पाएका थिएनन् ।

‘मेरो छोराले २०७६ मै आईएस्सी सकेको । नागरिकता नहुँदा उसलाई डाक्टरी पढाउन सकिरहेको थिइनँ,’ बुबा निलाम्बरले भने, ‘नागरिकताकै कारण छोराको महत्त्वपूर्ण ३ वर्ष समय खेर गयो । नागरिकता बन्यो अब छोरालाई डाक्टरी पढाउँछु ।’ निलाम्बरले २०६३ सालमा टोलीमार्फत जन्मसिद्ध नागरिकता बनाएका थिए । श्रीमति पिङ्कीको वंशजको नागरिकता भए पनि उनीहरुका दुई छोरा दिपेश र रितेशले उमेर पुगेर पनि नागरिकता बनाउन पाएका थिएनन् । ‘नागरिकता पाएपछि त आज फेरि हाम्रो नयाँ जन्म भएकोजस्तो अनुभूति भइरहेको छ’ आमा पिङ्कीले भनिन् ।

नागरिकता बनेपछि बिर्तामोड नगरपालिका ४ का शुभम वंशल र सिद्धि अग्रवाल खुसीले गदगद हुँदै जिल्ला प्रशासन कार्यालयबाट बाहिरिए । कक्षा ११ र १२ मा अध्ययनरत उनीहरुले पहिलो पटक एउटा ठूलो प्रश्नको जवाफ प्राप्त गरेको प्रतिक्रिया दिए ।

‘धेरै ठाउँमा तिम्रो नागरिकता छैन ? भन्ने प्रश्नले मलाई दु:खी बनाउँथ्यो । नागरिकता नहुँदा त केही पनि नबन्दो रहेछ । क्याम्पसमा नाम लेखाउन पनि गाह्रो, बैंक खाता खोल्न नमिल्ने, लाइसेन्स बनाउन नमिल्ने,’ भर्खरै बनाएको नागरिकता हेर्दै सिद्धि अग्रवालले भनिन्, ‘अब सबै कुरा बन्छ होला । किनभने मेरो पनि नागरिकता बन्यो ।’ उनीहरुका बुबा दिपक वंशलको जन्मसिद्धको नागरिकता छ ।

प्रकाशित : जेष्ठ २१, २०८० १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?