हिलाम्मे सडक मर्मत गर्दै जनप्रतिनिधिहरू


खोटाङ — सोमबार बिहानै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई बेल्चा बोकेर तालखर्क पुगे । गम्बुट लगाएर त्यहाँ पुगेका भट्टराईको साथमा उपप्रमुख विसन राई, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरूसमेत बेल्चा र कोदालो बोरेर हिलाम्मे सडक मर्मतमा जुटेका छन् ।


यो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गरेको श्रमदान अभियानले जुटाएको अवसर हो । नगरक्षेत्रभित्र सडकहरूको मर्मत गरी यातायात अवरुद्ध हुन नदिन श्रमदान अभियान सुरु गरेको छ । वर्षाको समयमा पनि नगरका १५ वटै वडाका सडकहरू अवरुद्ध हुन नदिन यो अभियान सुरु गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।
सुरुमा उत्तरी क्षेत्र जोड्ने दिक्तेल–तालखर्क–खार्मी र दिक्तेल–तालखर्क–पाथेका सडक खण्डमा श्रमदान सुरु गरिएको छ । भट्टराईले भने‚ ‘यो सडक खण्डमा वर्षायाममा पनि यातायात अवरुद्ध नहोस् भनेर यहीँबाट श्रमदान अभियान सुरु गरेका हौं ।’
उक्त सडकको नाली सफा गर्ने, माथिबाट झरेको पहिरो पन्छाउने, खाल्डाखुल्डी पुर्ने लगायत काम जनश्रमदानबाटै सुरु गरिएको उपप्रमुख विसन राईले बताए ।
गत शनिबार विधिवत् रुपमा उद्घाटन गरी सुरु गरिएको श्रमदान अभियानमा जिल्लास्थित विभिन्न संघसंस्थाहरूको समेत सहभागिता छ । श्रमदानले विकासप्रति अपनत्व हुने भएकाले प्रभावकारी हुने जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए ।
प्रकाशित : जेष्ठ १५, २०८० १३:४७