दमकका पूर्वमेयर ओली अध्यक्ष रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानका काम अलपत्र

‘ओलीका छोरा ठगी प्रकरणमा फरार छन्’
विनोद भण्डारी

विराटनगर — दमक नगरपालिकाका पूर्वमेयर रोमनाथ ओली वैशाख १८ मा मोरङको उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको अध्यक्षमा चुनिए । त्यसैबेला उनका छोरा अनिल वैदेशिक रोजगारीका लागि स्थानीय युवायुवतीसँग लाखौं रुपैयाँ उठाएर बेपत्ता भएको खबर सार्वजनिक भयो ।

एमाले केन्द्रीय सदस्यसमेत रहेका ओली छोराको यो घटनापछि प्रतिष्ठानका अन्य सदस्य र पूर्व पदाधिकारीसँग सम्पर्कविहीन छन् । ‘प्रतिष्ठान पनि आएका छैनन्,’ प्रतिष्ठानका एक पूर्वपदाधिकारीले भने, ‘बैठकमा उनका छोराको ठगी कारोबार र गतिविधिका बारेमा कुरा उठ्ने डरले ओली प्रतिष्ठानमा नआउँदा बाँकी पदाधिकारी र सदस्यको चयन भएन र कार्यसमितिले पूर्णता पाएको छैन ।’

ओलीका छोरा अनिलले अस्ट्रेलिया र कोरिया पठाउने भन्दै स्थानीय १६ जनासँग लाखौं रुपैयाँ लिएर गायब छन् । उनी पनि नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा पठाउने गिरोहसँग नजिक रहेको आशंका गरिएको छ ।

छोराको कारोबारबारे आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै ओलीले यसबेला आफ्नोबारेमा जसले जे पनि भन्ने ठाउँ पाएको बताए । अनिलको गतिविधिका बारेमा आफू पूर्ण अनभिज्ञ रहेको दाबी गर्दै ओलीले टेलिफोनमा भने, ‘सबै आफन्त र चिनजानकै सँग पैसा लिएको रहेछ । उनीहरूले त्यसबारे मलाई नसोधेका कारण यो अवस्था आएको हो, अनिलले जे कर्म गर्‍यो, त्यसको फल उसैले पाउँछ । उसको गतिविधि र कारोबारसँग एक कोस टाढा छु ।’ अनिलले ५ जनालाई अस्ट्रेलिया र ११ जनालाई कोरिया पठाइदिने भन्दै ठगेका हुन् । उनले अस्ट्रेलियाका नाममा जनही ५ देखि १५ लाख र कोरियाका नाममा जनही १० लाख रुपैयाँका दरले रकम असुली गरेको आरोप छ ।

त्यसैगरी नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिकालगायत मुलुक पठाउने गिरोहका नाइके केशव दुलाल र सानु भण्डारीसँग अनिलको सम्पर्क रहेको दाबी गरिएको छ । उनले अमेरिका पठाउने भन्दै दमकका २५ जनाभन्दा बढीसँग जनही ७ लाखभन्दा बढी रकम उठाएको दाबी गरिएको छ । उनले अस्ट्रेलिया पठाउने भन्दै दमकका छत्रमणि कार्की, दमननाथ ढुंगाना, प्रेमकुमार गुरागाई, कृष्ण अधिकारी र विराटनगरका आकाश अधिकारीसँग रकम उठाएका थिए । कोरिया पठाउने भन्दै झापा कमलका इन्द्रप्रसाद सिटौला, सुमन सिटौला, निशा तिम्सिना, रोहित तिम्सिना, पुष्प तिम्सिना, गणेश खनाल, दमकका गीता खरेल, गणेश देवकोटा, वेदराज कार्की र सुरुङ्गाका टीका मैनाली र काठमाडौंका देवराज घिमिरेसँग रकम लिएको पीडितको दाबी छ । पीडितको उजुरीका आधारमा वैदेशिक रोजगार विभागले अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेपछि अनिल फरार छन् ।

प्रतिष्ठानका एक पदाधिकारीले भने, ‘छोराको कारोबार रोमनाथजीलाई थाहा नहुने कुरै हुँदैन । छोराको गतिविधिले पक्कै पनि भुटानी शरणार्थी प्रकरणमा पनि ओली परिवारको कनेक्सन हुनुपर्छ भनेर औंला उठाउन थालेपछि उनी प्रतिष्ठानको सम्पर्कमा नआएर बचाउ अभियानमा लागेका छन् ।’

ओली प्रतिष्ठानको अध्यक्ष चुनिएको तीन साता बित्दासमेत उनको कार्यसमितिले पूर्णता पाएको छैन । वैशाख १८ को साँझ उनी निर्विरोध अध्यक्ष चुनिएर हिँडेपछि अहिलेसम्म सम्पर्कमा आएका छैनन् । समितिको सहसचिवका उम्मेदवार स्थानीय रुद्र तामाङका अनुसार २१ सदस्यीय कार्यसमितिमा ओलीसहित चार जना निर्विरोध चुनिएका छन् । तर बाँकी पदाधिकारी र सदस्यको टुंगो लागेको छैन । उनीसँगै दमककै उनका जेठान होमबहादुर थापा कोषाध्यक्ष, महिला उपाध्यक्षमा दमककै सुमित्रा भण्डारी र महिला सदस्यमा दुर्गा खरेल उप्रेती निर्विरोध चयन भएका थिए ।

‘त्यसबेला बाँकी पदाधिकारी र सदस्य चयनका लागि अर्को सूचना आउने भन्दै सबै हतार हतारमा हिँडे,’ तामाङले भने, ‘त्यसपछि ओली प्रतिष्ठानको सम्पर्कमा नआउँदा कार्यसमितिले पूर्णता पाउन सकेको छैन ।’ त्यसैगरी पाँच सदस्यीय लेखा समितिमा संयोजकबाहेक सदस्यमा लक्ष्मी सापकोटा, कृष्ण लुइँटेल, खगेन्द्र भण्डारी र यमुना भण्डारी निर्विरोध चुनिएका थिए । संयोजक चयन हुन बाँकी छ । ओलीले आफू प्रतिष्ठानको सम्पर्कमै रहेको र निर्वाचित भएयता विविध कामले चार पटक प्रतिष्ठानमा पुगेको दाबी गरे ।

प्रकाशित : जेष्ठ १२, २०८० १३:५४
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल-अमेरिका अन्तराष्ट्रिय महोत्सवमा ३७ फिल्म देखाइँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — गत वर्ष लघु फिल्मको विधातर्फ कान्स जितेको अविनाश विक्रम शाह निर्देशित फिल्म 'लोरी' 'नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवमा देखाइँदैछ । यससँगै सुजित बिडारी निर्देशित  'ऐना झ्यालको पुतली', पाकिस्तानका साइम सदिक निर्देशित 'जोइल्याण्ड' र दीपक रौनियार निर्देशित 'फोर नाइट्स'लगायतका फिल्म महोत्सवमा देखाइनेछन् ।  

जुन २२ देखि २५ सम्म आयोजना हुने महोत्सवमा नेपाल, अमेरिका, इजिप्ट, भारत, पाकिस्तानलगायतका ११ देशका फिल्म समेटिनेछन् । फिचर, वृत्तचित्र, लघु र एनिमेसन विधामा ३७ फिल्म देखाउने भएको हो ।

वासिङ्टन डिसी महानगर क्षेत्र स्थापित महोत्सवको उद्घाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा हुने र फिल्म एएफआई तथा ओल्ड ग्रिनवेल्ट थिएटरमा प्रदर्शन हुने जनाइएको छ ।

आयोजक नेपाल-अमेरिका फिल्म सोसाइटीका अनुसार जुन २२ मा नेपालको तर्फबाट अस्कर अवार्डका लागि छनोट भएको बिडारी निर्देशित 'ऐना झ्यालको पुतली' देखाउँदै महोत्सवको उद्घाटन हुनेछ । त्यस्तै अमेरिकी निर्देशक न्यन्सी स्भेंन्डसेनको निर्देशनमा बनेको 'पासाङ: इन द स्याडो अफ एभरेष्ट'को प्रदर्शनसँगै जुन २५ मा महोत्सव समापन तथा पुरस्कार वितरण गरिनेछ । त्यस्तै महोत्सवमा सुवर्ण थापा निर्देशित 'द सिक्रेट अफ राधा'को विशेष प्रदर्शन हुनेसमेत जनाइएको छ ।

उत्कृष्ट फिल्महरु पुरस्कृत पनि गरिने बताइएको छ । महोत्सवमा फिल्म संस्कृति र नयाँ प्रविधिबारे अन्तर्क्रियात्मक छलफल हुनेछ । म्यारिल्याण्ड राज्यको 'पार्क्स तथा योजना आयोग'को सहयोगमा उक्त छलफल हुने जनाइएको हो । म्यारिल्याण्ड राज्यमा स्थापित नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष निरन्तर महोत्सव आयोजना गर्दै आइरहेको छ ।

प्रकाशित : जेष्ठ १२, २०८० १३:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×