धनकुटामा एक व्यक्ति मृत फेला

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटा नगरपालिका-६ फोकल्यान्ड टापुमा बिहीबार एक व्यक्ति मृत फेला परेका छन् । मृतक स्थानीय ४२ वर्षीय बेलबहादुर राई रहेको प्रहरीले सनाखत गरेको छ । 

कोसी राजमार्गको धरान–धनकुटा खण्डको सडकबाट करिब २० मिटर तल झाडीमा राईको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बुधबार साँझदेखि घरबाट हिँडेका उनको परिवार र आफन्तले खोजी गरिरहेका थिए । पैदल हिँड्ने क्रममा खोल्सीमा लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

मृतक राईको शव जिल्ला अस्पतालमा पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको छ । राई केही महिनाअघि मात्रै वैदेशिक रोजगारीबाट फर्किएका थिए ।

प्रकाशित : जेष्ठ ११, २०८० २१:४४
प्रतिक्रिया
पठाउनुहोस्

वाग्मती खेलकुद : महिला फुटबलमा काठमाडौं विजेता

सुवास विडारी

मकवानपुर — दोस्रो वाग्मती प्रदेश खेलकुदको महिला फुटबलको उपाधि काठमाडौंले जितेको छ । गौरीटार रंगशालामा भएको फाइनलमा काठमाडौंले सिन्धुलीलाई २–० गोलले हराएको हो । काठमाडौंले दुवै हाफमा गोल गरेको हो । सुजिता घलानले १० औं मिनेटमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएकी थिइन् ।

दोस्रो हाफमा मनीषा थापामगरले ५८ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारिन् । काठमाडौंकी सरिता ऐर उत्कृष्ट खेलाडी र फरवार्ड घोषित भइन् । काठमाडौंकी झरना नगरकोटी उत्कृष्ट गोलरक्षक, सिन्धुलीकी सन्जिता मगर उत्कृष्ट डिफेन्डर र काठमाडौंकै देवेन्द्रजंग शाही उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगिताभर ४ गोल गरेकी काठमाडौंकी मनीषा थापामगर सर्वाधिक गोलकर्ता भइन् ।

भलिबलमा काठमाडौं र चितवन सफल

दोस्रो वाग्मती प्रदेश खेलकुदको भलिबलमा काठमाडौं र चितवनले स्वर्ण जितेका छन् । हुप्रचौर मैदानमा काठमाडौंले महिला र चितवनले पुरुषतर्फ स्वर्ण जिते । काठमाडौंले फाइनलमा दोलखालाई २५–५, २५–६, २५–१२ को सोझो सेटमा हरायो । पुरुषतर्फ चितवनले धादिङलाई २५–१७, २२–२५, २८–२६, २५–१८ ले हराएर स्वर्ण जितेको हो । पुरुषमा चितवनका रमेशचन्द्र बिक उत्कृष्ट प्रशिक्षक भए ।

विधागतमा स्पाइकरमा मनोज श्रेष्ठ, सेटरमा चितवनका मञ्जिल गुरुङ, ब्लकरमा चितवनकै सुरेश महतो, लिबेरोमा चितवनका समीर थापा र सर्भरमा धादिङका अमन आले उत्कृष्ट घोषित भए । महिला विधागततर्फ स्पाइकरमा चितवनकी आरती सुवेदी, सेटरमा काठमाडौंकी भावना तामाङ, ब्लकरमा काठमाडौंकी सुमित्रा रेग्मी, लिबेरोमा काठमाडौंकी एन्जिला प्रधान र सर्भरमा काठमाडौंकी निशा मगर उत्कृष्ट भए । काठमाडौंका कुमार राई उत्कृष्ट प्रशिक्षक चयन भए । पुरुषतर्फ चितवनका नवीन महतो र महिलामा काठमाडौंकी सलिना बुढामगर उत्कृष्ट खेलाडी घोषित भए ।

जुडोमा ललितपुर च्याम्पियन

जुडोमा ललितपुर च्याम्पियन भएको छ । काठमाडौंको खुशिबुस्थित बहुउद्देश्यीय मार्सल आर्टस केन्द्रमा भएको प्रतियोगितामा ललितपुर ४ स्वर्ण, ३ रजत र २ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बनेको हो । काभ्रे ३ स्वर्ण, १ रजत र १ कांस्यसहित दोस्रो भयो । २ स्वर्ण, १ रजत र १ कांस्यसहित नुवाकोट तेस्रोमा रह्यो । पुरुष महिलामा ७–७ गरी १४ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा मकवानपुरले २ तथा रामेछाप, सिन्धुपाल्चोक र काठमाडौंले १–१ स्वर्ण जितेका छन् । पुरुषमा काभ्रेका प्रवीणकुमार दियाली र महिलामा नुवाकोटकी अञ्जु पाण्डे उत्कृष्ट खेलाडी चुनिए । प्रतियोगितामा ९ जिल्लाका ५७ खेलाडी सहभागी थिए ।

निश्चल र अञ्जिता सर्वोत्कृष्ट

काठमाडौंकी निश्चल तामाङ र मकवानपुरकी अन्जिता स्याङतान उसुमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमिकभर्डहलमा भएको प्रतियोगितामा ५ स्वर्ण, ८ रजत र २ कांस्यसाथ ललितपुर टिम च्याम्पियन बन्यो । ५ स्वर्ण, ३ रजत र ५ कांस्य जितेको काठमाडौं दोस्रो भयो । तेस्रो स्थानको सिन्धुपाल्चोकले ५ स्वर्ण, २ रजत र २ कांस्य हात पारे । विभिन्न १२ जिल्लाका २ सय ५० खेलाडी २३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । मकवानपुरले ३, रामेछापले २ तथा भक्तपुर, काभ्रेपलान्चोक र सिन्धुलीले १–१ स्वर्ण जिते ।

प्रकाशित : जेष्ठ ११, २०८० २१:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×