कान्तिपुरकर्मी अधिकारी पुरस्कृत

विराटनगर — यस वर्षको शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार धनकुटाका कान्तिपुरकर्मी रमेशचन्द्र अधिकारीलाई प्रदान गरिएको छ ।

कान्तिपुरकर्मी अधिकारी पुरस्कृत

प्रेस चौतारी नेपाल मोरङले हरेक वर्ष प्रदान गर्दै आएको कोशी प्रदेशस्तरीय उक्त पुरस्कार बिहीबार विराटनगरमा आयोजित कार्यक्रममा अधिकारीलाई हस्तान्तरण गरिएको हो । चौतारीको वार्षिक साधारणसभाको अवसर पारेर पत्रकार अधिकारीलाई सम्मान गरिएको प्रेस चौतारी नेपाल मोरङका अध्यक्ष सुदीप कोइरालाले जनाए । उनलाई प्रतिनिधिसभा सदस्य तथा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष गणेश पाण्डेलगायतले सम्मानपत्र, दोसल्लासहित नगद २१ हजार रुपैयाँबाट सम्मान गरेका थिए ।

करिब तीन दशक पत्रकारिता पेसामा सम्लग्न अधिकारी कान्तिपुर दैनिकका उपसम्पादकको रुपमा कार्यरत छन् । अधिकारीले श्रमजीवी पत्रकारको रुपमा निरन्तरता दिएको कारण आफू सम्मानित हुन पाएको उल्लेख गरे । उनले पेसागत मर्यादा र आवाजविहीनका आवाज उठाउने जिम्मेवारी वहन गरिरहने प्रतिबद्धतासमेत व्यक्त गरे ।

२०७७ सालदेखि सुरु गरिएको पुरस्कार पहिलो वर्ष मोरङका पत्रकार यज्ञ शर्मा र अघिल्लो वर्ष सुनसरीका पत्रकार लिलाराज भट्टराईलाई प्रदान गरिएको थियो । प्रेस चौतारी मोरङको वार्षिक साधारणसभा आठ बुँदे विराटनगर घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

प्रकाशित : जेष्ठ ११, २०८० २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?