कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

बाली जोगाउन बुख्याँचा

चन्द्र कार्की

तेह्रथुम — अन्न एवं तरकारी बाली लगाएको खेतमा मध्य भाग र डिलमा मान्छेजस्तै देखिने आकृति छ । बाहिरबाट हेर्दा कपडा लगाएको मानवजस्तै छ । तर झट्ट हेर्दा मान्छे नै हो कि भन्नेजस्ता देखिने यी आकृति बुख्याँचाका हुन् । खेतबारीमा आउने वन्यजन्तु तर्साउन किसानले बुख्याँचा बनाएर राख्ने गरेका छन् । यी बाली जोगाउन लहरै खडा गरिएका मौन पहरेदार हुन् । 

बाली जोगाउन बुख्याँचा

तेह्रथुमको लालीगुराँस नगरपालिका सिमासँग जोडिएको संखुवासभाको धर्मदेवी नगरपालिका–४ तीरतीरे गाउँमा जतात्यतै यी दृश्य देखिन्छन् । खेतबारीमा लगाइएको हिउँदे कमाइ वन्यजन्तुबाट जोगाउन गाउँलेले अपनाएको यो नयाँ तरिका हो । लौरो टेकाएर उभाइएका बुख्याँचाले चराचुरुंगी, बाँदर, दुम्सि, मृर्ग, कालिज, स्याल लगायतकाबाट बाली जोगाउँछ ।

रुङगालुको रुपमा बुख्याँचालाई प्रयोग गर्दा वन्यजन्तुबाट बाली जोगाउन सजिलो भएको स्थानीय ६५ वर्षीय किसान नरबहादुर रोकाले बताए । ‘खेतबारीमा तर्साउने नराखे त अन्नबाली भित्र्याउनै पाइँदैन,’ आलु गोड्दै गरेका रोकाले भने । दुरुस्तै मान्छे जस्तै देखिने बुख्याँचालाई मान्छे ठानेर जंगली जनावर परबाटै भाग्ने गरेको स्थानीयको अनुभव छ ।

धर्मदेवी नगरपालिकाका मामलिङ, किटिङ डाँडा, चुहाडे, तीरतीरे लगायतका गाउँका किसानलाई वन्यजन्तुले अन्नबाली खाएर हैरान पारेको छ । किटिङडाँडा गाउँकी होमकुमारी भण्डारीले भनिन्‘ ‘वन्यजन्तुको पीरले हुनेखानेहरू त गाउँ छाडेर हिंडिसके, गरिबहरू मात्र गाउँमा छौं ।’

खेतमा लगाएको आलु, दाल, मकै, तोरी, गहुँ, सागलगायत बाँदर, दुम्सीले खाएर सखाप पारेको उनले बताइन् । गाउँले बसाइँ हिँडेपछि बस्ती पातलिएपछि जंगली जनावरले झन् दुःख दिएको स्थानीयको गुनासो छ ।

बाँदरले गोड्ने बेला भएको आलु उखेले पछि ५७ वर्षीय चन्द्रमाया रोका अब छोराछोरीलाई के खुवाउने चिन्तामा छिन् । उनले लेकाली क्षेत्रका किसानसँग दुई मुरी नै धान दिएर बीउ आलु साटेकी थिइन् ।आलु खेतीका लागि जोतखन, मलखाद, बीउ, रोगकिराको विषादी, सिँचाइका लागि पाइपलगायतका काम गर्दा १० हजार रुपैयाँ बढी खर्च भएको चन्द्रमायाले बताइन् ।

खेतबारीमा बुख्याँचा बनाएर अन्नबालीको ड्युटी राखेका किसानले जंगली जनावर आउजाउ गर्ने गौंडा पहिल्याएर काँडाको बार लगाएर पनि छेकेका छन् । ‘वारिपारिका जंगलमा वन्यजन्तुको संख्या धेरै भएर पनि होला, साह्रै दुःख दिएको छ’, स्थानीय रामकृष्ण अधिकारीले भने । खेती लगाउने जमिनको वरिपरि झाडी बढेको र बस्ती पातलिएकाले जंगली जनावर वृद्धि भएको धर्मदेवी–४ का वडाध्यक्ष बद्री घिमिरेको भनाइ छ ।

प्रकाशित : चैत्र १८, २०७९ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट ल्याउने समय एक साता मात्र बाँकी रहँदापनि संघीय संसद्को गतिरोध खुलाउन सरकारले किन तदारुकता नदेखाएको होला ?