१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

घटेको छैन हाट बजारको रौनक

रैथाने स्वादका स्रोतसँगै बूढापाकालई दौंतरी भेटघाट केन्द्र पनि
लक्ष्मी गौतम

पाँचथर — ७६ वर्षीया भीममाया तुम्बापो प्रत्येक शनिबार उज्यालो नहुँदै सुंगुरका पाठा, कुखुरा र अण्डा लिएर सदरमुकाम फिदिमको शिवालय मन्दिर छेउमा लाग्ने हटिया आइपुग्छिन् । फिदिम नगरपालिका–५ की उनी ती सामग्री बेचेर आवश्यकताअनुसार नुन, तेल र बेसार किनेर घर फर्किन्छिन् ।

घटेको छैन हाट बजारको रौनक

‘गाउँमा धेरै बिक्दैन, हाट बजार ल्यायो भने जत्ति पनि बिक्छ, त्यसैले हप्तैपिच्छे यहीं ल्याउँछु, त्यसपछि स्वाद अनुसारका तरकारी र भान्सामा चाहिने सामग्री लिएर फर्किन्छु,’ उनले भनिन् ।

फिदिम–७ का ७९ वर्षीय अगमबहादुर नेम्वाङ महिनामा एक पटक यही हटिया आइपुग्छन् । ‘अघिल्लो साँझ आएर एक रात बास बसेर लाहा, मेवा, लप्सी, बयर र दलहन किनेर साँझपख घर फर्किन्छु, लेकमा फलेको सागसब्जी अवलमा बस्ने र अवलमा नफल्ने लेकका मान्छेले किनेर खान पाइने भएकाले महिनापिच्छे आउने गरेको हुँ,’ उनले सुनाए । फिदिम–११ फेवादिनका सञ्चबहादुर मग्रातीले यही हाटमा मादल बेच्न थालेको ४० वर्ष पुग्यो । ‘बाबुबाजेले पनि यही हटियामा ल्याएर बेच्थे, अहिले म बेच्दै छु,’ उनले भने ।

फिदिममा शनिबारेसँगै जिल्लाका विभिन्न ठाउँमा फरक–फरक बारका आधारमा साप्ताहिक र पाक्षिक हाट लाग्ने गरेको छ । हाट स्थानीय उत्पादन खरिदबिक्री र विनिमयको भरपर्दो माध्यम बनेका छन् । आफूले उत्पादन गरेको साग, सिस्नु र किनामा हटियामा बिक्री गरेर घर खर्च चलाउने गर्छन् । हाट बजारमा हरियो तरकारी, गुन्द्रुक, सिन्की, अचार, खुर्सानी, बेसार, दलहन र किनामासहितका स्थानीय उत्पादनसँगै सुंगुर, बंगुरका पाठापाठी र कुखुरा, बाख्रासम्म किनबेच हुन्छ । त्योसँगै बूढापाकाहरू पुराना दौंतरीसँग भेटेर भलाकुसारी गर्ने मौकाका रूपमा लिने गरेका छन् ।

यस्ता हाट बजारमा स्थान र भूगोल विशेषका उत्पादन ल्याइने भएकाले उत्पादक र उपभोक्ताले जिब्रोको स्वादअनुसारका सामग्री किनबेच र विनिमय हुन्छ । ‘आ–आफ्नो रुचि र स्वादअनुसारका वस्तु किनबेच र विनिमय गर्न पाइने भएकाले यस्ता हाट बजारलाई उत्पादक तथा उपभोक्तालाई प्रत्यक्ष जोड्ने माध्यमका रूपमा लिन सकिन्छ,’ फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले भन्छन् । ग्रामीण क्षेत्रमा उत्पादन भएका कृषिजन्य वस्तुको प्रवर्द्धनका लागि नगरपालिका क्षेत्रमा लाग्ने कुनै पनि हाट बजारमा त्यस्ता वस्तु बिक्री गर्ने किसानलाई सबै किमिसका कर मिनाहा गरेको उनी बताउँछन् । पहाडी जिल्ला पाँचथरसहित ताप्लेजुङ र तेह्रथुम लगायतका स्थानमा गाउँपिच्छे बार र गतेअनुसार साप्ताहिक एवं पाक्षिक रूपमा हाट बजार लाग्छन् ।

पहिले पञ्चमी, सप्तमी, दशमी, औंसी, एकादशी र पूर्णिमा जस्ता तिथिका आधारमा लाग्ने गरेका हाट बजार तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र विद्रोह समयमा रोकिएका थिए । पछाडि तिथिका आधारमा लाग्ने बजार गतेका आधारमा लाग्न थालेका हुन् । फिदिम र तेह्रथुमको संक्रान्तिमा शनिबार हाट लाग्छ । योबाहेक फिदिम ५ को जोरसालमा प्रत्येक १५ दिनमा अर्थात् औंशी पूर्णिमामा, यासोक, सप्तमी रवि र घुर्बिसे पञ्चमी जस्ता ग्रामीण बजारमा गतेका आधारमा महिनामा दुई पटक (पाक्षिक) हाट लाग्छ ।

प्रकाशित : चैत्र १३, २०७९ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?