तेह्रथुमका कांग्रेस नेता गणेश विमलीको निधन

चन्द्र कार्की

तेह्रथुम — नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति तथा संविधानसभा सदस्य गणेशप्रसाद विमलीको ७४ वर्षको उमेरमा गएराति भारतीय भूमिमा निधन भएको छ ।

कांग्रेस महासमिति सदस्यसमेत रहेका विमलीको भारतमा उपचार सम्भव नभएपछि घर ल्याउने क्रममा बाटोमै निधन भएको उनका छोरा कुलदीप विमलीले जानकारी दिए ।

विमलीलाई एक महिनाअघि फोक्सोमा समस्या देखिएपछि उपचारका लागि भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा लगिएको थियो । विमलीलाई फोक्सोमा जटिल प्रकृतिको क्यान्सर देखिएपछि रिसर्च सेन्टरले उपचार सम्भव नहुने भन्दै सोमबार घर फर्काइदिएको छोरा कुलदीपले बताए ।

घरतर्फ ल्याउने क्रममा भारतीय भूमिमै बुबाको निधन भएको उनले जानकारी दिए । विमलीको पार्थिव शरीरलाई मंगलबार बेलुका ११ बजेसम्ममा झापाको बिर्तामोड–५ स्थित घरमा लाइपुर्‍याइने र बुधबार झापाको कन्काई नदीमा अन्त्येष्टि गरिने भएको छ ।

आठराई गाउँपालिका ३ ह्वाकुमा जन्मिएका विमली ०३४ सालदेखि नै जिल्लामा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका थिए ।

प्रकाशित : चैत्र ७, २०७९ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्

ईन्द्र आङ्बो चढेको गाडीमा ढुंगा प्रहार

आनन्द गौतम

ताप्लेजुङ — कोशी प्रदेश माओवादी संसदीय दलका नेता एवं पूर्वअर्थमन्त्री ईन्द्र आङ्बोमाथि आक्रमण प्रयास भएको छ । पाँचथरको फिदिमबाट ताप्लेजुङ सदरमुकाम फुङलिङ आउने क्रममा ढुंगा प्रहार भएको हो । ढुंगाले लागेर आङ्बो सवार गाडीको सिसा फुटेको छ । 

‘सदरमुकाम फुङलिङदेखि ८ किलोमिटर तल पाँच सय मिटर टाढा लुकेर ढुंगा हानेको पाइयो,’ प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले भनिन्, ‘उहाँ सकुशल हुनुहुन्छ र कार्यक्रममा हुनुहुन्छ ।’ आक्रमण गर्नेको खोजी भइरहेको चेम्जोङले बताइन् । आक्रमणको जिम्मा कसैले लिएको छैन । उनी चढेको गाडी भने फर्किसकेको चेम्जोङले जानकारी दिइन् ।

कोशी प्रदेश खारेजी संयुक्त संघर्ष समितिले आक्रमणको जानकारी नभएको बताएको छ । समितिका सदस्य नवीन पोमु आफूहरूले सदरमुकाम फुङलिङमा कालो झन्डा देखाउन खोजेको तर उनी प्रहरीको गाडीमा आएकाले असफल भएको बताउँछन् । ‘ढुङ्गा त कसले हान्यो थाहा भएन, प्रदेश नामकरणको विरोधमा अहिले ज्ञात–अज्ञात सबै छन्,’ पोमुले भने ।

संसदीय दलका नेता आङबो र माओवादीका प्रदेश संयोजक हर्क नेम्वाङ मिक्सो पार्टी बैठक र संगठन सुदृढीकरण तथा कार्यकर्ता परिचालन कार्यक्रमको उद्धघाटनका लागि ताप्लेजुङ आएको जिल्ला संयोजक विष्णु हाङवाङ बिरुले बताए ।

प्रकाशित : चैत्र ७, २०७९ १३:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×