फोहोर व्यवस्थापनमा पालिका कमजोर- कोशी - कान्तिपुर समाचार

फोहोर व्यवस्थापनमा पालिका कमजोर

संखुवासभा र भोजपुरतर्फ जाने मुख्य नाका लेगुवास्थित अरुण नदी पुलनजिकै फोहोर थुपार्न थालियो !
रमेशचन्द्र अधिकारी

धनकुटा — करिब दुई सय घरधुरी रहेको महालक्ष्मी नगरपालिका–५ लेगुवास्थित रामबजार क्षेत्रबाट संकलित फोहोर व्यवस्थापन नहुँदा समस्या उत्पन्न भएको छ । संकलित फोहोर बजारसँगै रहेको अरुण नदीमा फालिने गरिएको छ । 

धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवास्थित रामबजारसँगै रहेको अरुण नदी किनारमा थुपारिएको फोहोर । बजारको फोहोर व्यवस्थापन नहुँदा नदीसमेत प्रदूषित भएको छ । तस्बिर : रमेशचन्द्र/कान्तिपुर

जिल्लाका सात पालिकामध्ये अधिकांशले अझै पनि फोहोर व्यवस्थापनमा चासो राखेका छैनन् । मुलुकभरमै नमुना फोहोर व्यवस्थापनमा कहलाएको धनकुटा नगरपालिका र यसकै अनुसरण गरिरहेको छथर जोरपाटी गाउँपालिकाबाहेक अन्यमा भने समस्या छ । महालक्ष्मी नगरपालिकाले फोहोर व्यवस्थापनको योजना अघि सारेको नगरप्रमुख ध्रुवराज रायको दाबी छ । रामबजारनजिक नदीमा मिसिने फोहोर तत्काल व्यवस्थापन गर्ने दिशामा लाग्ने उनी बताउँछन् । संखुवासभा र भोजपुरतर्फ जाने मुख्य नाका लेगुवास्थित अरुण नदी पुलनजिकै फोहोरजन्य वस्तु थुपारिएको छ । धनकुटा नगरपालिका वातावरण शाखा प्रमुख उपेन्द्र खनाल फोहोर व्यवस्थापनबाटै सुन्दर फूलबारीको स्वरूप दिएर पर्यटक आकर्षणस्थल समेत बनाएको धनकुटा नगरपालिकाबाट अन्य पालिकाले सिक्नुपर्ने बताउँछन् । उक्त नगरपालिका र निजीस्तरको सहकार्यबाट त्यहाँको फोहोर व्यवस्थापन गरिँदै आएको खनाल बताउँछन् । त्यस स्थानमा दैनिक साढे १३ टन फोहोर संकलन गरेर कम्पोस्ट मल बनाइन्छ ।

३० रोपनी क्षेत्रफलमा फैलिएको फोहोर विसर्जनस्थलमध्ये हाल करिब डेढ रोपनी क्षेत्रफलमा आकर्षक फूलबारी छ । अरू दुई रोपनीमा फूलबारी विस्तार थालिएको खनालले बताए । नकुहिने फोहोरको बिक्रीबाट वार्षिक ५० लाख आम्दानीसमेत हुने उनको भनाइ छ । ३९ जनाले रोजगारीसमेत पाएका छन् । दैनिक ९ वटा ट्र्याक्टरबाट बजार तथा आसपास बस्तीको फोहोर संकलन गरिन्छ । फोहोरका रूपमा संकलन हुने फलाम, काँच, प्लास्टिक, विद्युत्‌जन्य सामग्री, कार्टुन, कागजलगायत ६० प्रतिशत वस्तु छुट्याएर बेचिने फोहोरमैला व्यवस्थापन केन्द्रका संयोजक कौशल थापाले जानकारी दिए ।

कुहिने, नकुहिने फोहोर घरघर मै छ्ट्युाउन लगाएपछि फोहोर व्यवस्थापन सहज बनेको निजी क्षेत्रबाट सक्रिय थापाको तर्क छ । ‘एक दशकदेखि फोहोरमैलाकै काम गरेर सन्तुष्टिको कमाइ हात पार्दै आएको छु’, उनले भने, ‘फोहोरकै आम्दानीले श्रमिकलाई तलब दिइन्छ ।’ नगरपालिकाभित्रका ९ मध्ये ७ हजार घरधुरीबाट फोहोर संकलन गरिन्छ । दैनिक, अर्ध साप्ताहिक र साप्ताहिक गरेर फोहोर संकलन गरिँदै आएको छ । वार्षिक ५० देखि ३ हजार ६ सयसम्म फोहोर संकलनबापत् नगरपालिकाले कर लिन्छ ।

विभिन्न पर्यटकीयस्थल समेटिएको साँगुरीगढी गाउँपालिकाले धरान उपमहानगरपालिकासँगको सहकार्यमा फोहोर संकलन थालेको छ । साप्ताहिक रूपमा भेडेटार बजार क्षेत्रको फोहोर संकलन गरिने पालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए । साथै फोहोर संकलन तथा व्यवस्थापनको स्थायी समाधानका लागि योजना अघि सारेको राईले सुनाए । साँगुरीगढी–६ पाथीभरा नजिकको स्थानमा फोहोर संकलन गर्न डीपीआरसमेत भएको छ । पर्यटकीयस्थल भेडेटार बजार, नमस्ते झरना, पाथीभरा मन्दिर, साँगुरीगढी, पिकनिक स्पटलगायत ६ स्थानमा फोहोर संकलनलाई व्यवस्थित गरिएको उनले जानकारी दिए ।

छथर जोरपाटी गाउँपालिकाले सिधुवा, जोरपाटी, काजीमाने, चुलाचुली क्षेत्रबाट संकलित फोहोरलाई ४ नम्बर वडाको लामिछाने डाँडामा संकलन गर्दै आएको वडा सचिव शंकर ओझाले बताए । २०७४ देखि थालिएको उक्त कार्यलाई अझै व्यवस्थित गरिँदै आएको उनी बताउँछन् ।

प्रकाशित : चैत्र ३, २०७९ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्

बीउ उत्पादकलाई बजारको चिन्ता

बीउ उत्पादन र बजारीकरणमा स्थानीय, प्रदेश र संघका सम्बन्धित कार्यालयले तदारुकता देखाउनुपर्नेमा जोड
महेश केसी

रुकुम पश्चिम — मुसीकोट नगरपालिका–१४ का केशव ओलीले दुई दशकयता तरकारीको उन्नत बीउ उत्पादन गर्दै आइरहेका छन् । करिब १० रोपनी जग्गामा प्याज, काउली र चम्चुरको बीउ खेती गरिरहेका केशवको खेतबारी यतिबेला हेर्न लायक छ । बीउमा फूल लागेर मगमग घरसम्मै फैलिएको छ ।

अर्का किसान लालबहादुर ओलीले पनि आफ्नो करिब ७ रोपनी जग्गामा काउली, प्याज, केराउ र लसुनको उन्नत बीउ उत्पादनमा जुटेका छन् । मुसीकोट–३ माछिमी, १३ साधनचौर, १४ चौतारा र लोरिबाङ क्षेत्र यतिबेला उन्नत बीउमा लागेको फूलले मनमोहक देखिएको छ । यहाँका प्रायः घरका किसानले कम्तीमा १ रोपनीदेखि १५ रोपनीमा तरकारीको उन्नत बीउ उत्पादन गर्ने मुसीकोट–३ का किसान नारायण खड्काले बताए ।

मुसीकोट–४, ६ र २ का किसानले पनि बीउ उत्पादन गर्दै आएका छन् । चौरजहारी नगरपालिका–१०, ११ र १३ को खोलागाउँ क्षेत्र, त्रिवेणी गाउँपालिकाको ९ र १० तथा सानीभेरी गाउँपालिकाको ३, ८ र ९ का किसानले पनि विभिन्न तरकारीको उन्नत बीउ उत्पादन गरिरहेको कृषि विकास कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले यो वर्ष जिल्लाको करिब ४ सय १४ हेक्टर क्षेत्रफलमा तरकारीको उन्नत बीउ खेती भएको बताए । उनले भने, ‘विभिन्न जानतको प्याज, मुला, काउली, रायो, चम्सुर, सिमी, केराउ र सलगमको उन्नत बीउ किसानले उत्पादन गरेका छन् ।’ समुद्री सतहबाट ७ सय ५४ देखि ६ हजार ७२ मिटर उचाइमा रहेको रुकुम पश्चिममा समशीतोष्ण हावापानी भएकाले बीउ उत्पादनका लागि उपयुक्त रहेको केसीको भनाइ छ ।

कृषि विकास कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार विभिन्न तरकारी बालीको गरेर आर्थिक वर्ष २०७६/०७७ मा २ सय २१ मेट्रिक टन, २०७७/०७८ मा १ सय १८ मेट्रिक टन र २०७८/७९ मा १ सय १७ मेट्रिक टन तरकारीको उन्नत बीउ उत्पादन भएको थियो । बीउ उत्पादनमा आफूले ठूलो लगानी गरेको बताउँदै त्यसअनुसारको प्राविधिक सहयोग भने नपाएको गुनासो किसानको छ ।

चौरजहारी नगरपालिका–१० खोलागाउँमा रहेको समशीतोष्ण उन्नत बीउ उत्पादन सरकारी संस्थाका अध्यक्ष गोपा बीएमले किसानहरूले परम्परागत शैलीमा बीउको खेती गरिरहेका कारण बजारमा प्रतिस्पर्धा गर्न हम्मे परिरहेको बताइन् । अर्का किसान मुसीकोट–१४ का लालबहादुर ओलीले पनि बीउ उत्पादन भनेको धेरै गम्भीर विषय भएको बताउँदै यसमा दक्ष प्राविधिकको अभाव भएको बताए ।

तरकारीको बिउ झुलेका रुकुम पश्चिमका खेतहरु । तस्बिरः महेश केसी/कान्तिपुर

बीउ उत्पादन र गुणस्तर वृद्धि तथा बजारीकरणका लागि स्थानीय सरकार, प्रदेश र संघका सम्बन्धित कार्यालय तथा सरकोवालाले तदारुकता देखाउनुपर्नेमा किसानको जोड छ । बीउ संकलन तथा बिक्रीमा बिचौलिया हाबी हुँदा आफूहरूले भनेको मूल्य नपाउने र पाए पनि पैसा ढिलो पाउने समस्या रहेको त्रिवेणी १० का किसान बलराम पुनले बताए ।

उत्पादन तथा बजारीकरणमा सहजीकरण गरिरहेको बताउँदै कृषि विकास कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख केसीले जनशक्ति अभाव, बजारीकरणमा बिचौलिया हाबी र स्थानीय सरकारले अपनत्व नलिएका कारण बीउ उत्पादन घटिरहेको बताए ।

प्रकाशित : चैत्र ३, २०७९ ०७:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×