कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

बिहीबारदेखि धरान एक्स्पो हुँदै 

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानको आर्थिक गतिविधिलाई नयाँ ढंगले चलायमान बनाउने उद्देश्यले बिहीबारदेखि १० दिने ‘धरान एक्स्पो’ हुने भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा हुने धरान एक्स्पोमा स्वदेशी रैथाने उत्पादनदेखि विदेशी सामाग्रीहरु बिक्री तथा प्रदर्शनीका लागि राखिने छ । धरान एक्स्पोका संयोजक गोपाल श्रेष्ठले तयारी पूरा भएको जानकारी दिए । धरानको पुरानो व्यापारिक साख फर्काउन एक्स्पो आयोजना गर्न लागिएको उनको भनाइ छ ।  

बिहीबारदेखि धरान एक्स्पो हुँदै 

विगत चार दशकअघि पूर्वको व्यापारिक केन्द्रका रुपमा परिचित धरानको आर्थिक गतिविधि पछिल्लो समयमा निराशाजनक रहेकाले यसलाई पुनर्जीवित गर्न फरक शैलीको एक्स्पो आयोजनामा ध्यान दिइएको उनले बताए । श्रेष्ठले भने, ‘पञ्चायतकालमा धरानको व्यापारिक र व्यावसायिक बजारले पहाड र मधेसका उपभोक्तालाई लोभ्याएको थियो । जति विकास हुँदै आयो उति आर्थिक गतिविधि सीमित हुँदै गयो ।’ धरानको समग्र व्यापारिक व्यावसायिक गतिविधि सोचे जति चल्न नसकेपछि कतिपय व्यापारी व्यवसायी छिमेकी शहरतिर बसाइ सर्ने क्रम बढेको उनले बताए ।

धरान रंगशालामा हुने एक्स्पोमा रैथाने, कृषि, औद्योगिक तथा घरेलु उत्पादन र पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिइएको आयोजक सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष समेतरहेका श्रेष्ठले बताए । कृषि औजार, कपडा, छालाका सामाग्री, घरेलु उपभोग्य सामग्री, मेसिनरी, अटोमोबाइल, बैंकिङ, वित्तीय एवम् बिमा, खाद्यान्न, खेल, कला साहित्यका सामाग्री र भवन निर्माणका स्टल एक्स्पोमा राखिने छन् ।

एक्स्पोमा पाकिस्तान, बंगलादेश, चीन र भारतका उत्पादनहरूका स्टलहरू पनि बनाइएको छ । पाकिस्तानमा छालाबाट बनेका ज्याकेट, बेल्ट, क्यापदेखि बंगलादेशको गार्मेन्ट तथा कपडा राखिने संयोजक श्रेष्ठले बताए । स्टल संयोजक विष्णु बरालकाअनुसार दैनिक भान्सा तथा घरायसी उपभोगका लागि आवश्यक उपकरणहरु पनि राखिने छन् ।

बरालले भने, ‘कतिपय घरायसी चुला चौकामा प्रयोग हुने आवश्यक उपकरण धरानका बजारमा नभेटिएपछि स्थानीय उपभोक्ता इटहरी, विराटनगर र जोगवनीसम्म पुग्ने गरेका छन् । अब एक्सपोमा ती सबै सामान सुपथ मूल्यमा पाइने छ ।’ उनकाअनुसार पूर्वी पहाडमा उत्पादित अल्लो कपडा जुम्लाको भीर मौरीको मह, माछाको अचारदेखि अर्गानिक बेसारसम्म एक्स्पोमा राखिने छ ।

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले १० दिनसम्म सञ्चालन हुने एक्स्पोले धरानको व्यापार व्यवसायलाई नयाँ गतिमा विस्तार गर्न तथा पर्यटन प्रवर्द्धनमा कोशेढुंगा हुने बताए । उनले भने, ‘प्रदेश १ स्तरीय एक्स्पो भएकाले विदेशी सामाग्रीदेखि झापा, मोरङ, सुनसरी, इलाम, उदयपुर, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरमा उत्पादित र त्यहीका व्यापारीले सहभागिता जनाउने छन् ।’ एक्सपोमा ११३ व्यापारिक स्टलहरु रहने छन् । उनले अन्तर्राष्ट्रिय व्यापार मेलाहरूमा प्रयोग गरिने हृयाङ्गरमा रहने ७० वटा स्टलहरू विशाल डिपार्टमेन्ट स्टोरको रूपमा रहने बताए । ह्याङ्गर प्रविधि धरानमा पहिलो पटक भित्र्याएको हो ।


प्रकाशित : फाल्गुन १०, २०७९ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×