कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७७

वर्षा नहुँदा सुक्दै अलैंची

आनन्द गौतम

ताप्लेजुङ — लामो समय वर्षा नहुँदा पहाडी क्षेत्रको मुख्य नगदेबाली अलैंची सुक्न थालेको छ । खोलामा पानी सुकेकाले सिँचाइ गर्ने उपाय छैन । हिउँ नपर्दा चिस्यानको थप समस्या भएको छ । हरियो देखिनुपर्ने बगानहरू यतिबेला सुकेर रातै देखिन थालेको किसानहरू बताउँछन् ।

वर्षा नहुँदा सुक्दै अलैंची

गत वर्ष राम्रो मौसम हुँदा यो वर्ष उत्पादनमा वृद्धि भएको थियो । अर्को वर्ष उत्पादनमा ठूलो ह्रास आउने फुङलिङ नगरपालिका–११ फावाखोलाका मणिराज इजम बताउँछन् । ‘यतिबेला पालो गरी/गरी बोट भिजाउनुपर्ने हो,’ उनले भने, ‘खोलामा थोपो पानी नहुँदा सिँचाइको उपाय नै छैन ।’

साउनदेखि मंसिर पहिलो सातासम्म टिपिसक्ने अलैंचीमा त्यसपछि सिँचाइ गर्नुपर्छ । सम्भव हुनेले प्रत्येक बोटको फेदमा मल लगाएर त्यसलाई भिजाउँछन् । जरामा चिस्यान रहोस् भनेर पतझडले छोप्ने र त्यसमाथि सिँचाइ गर्ने चलन पनि छ । ‘पानी नै नभएपछि यी सबै सम्भावना सकिँदो रहेछन्,’ फुङलिङ–१० फुरुम्बुका डम्बर कार्कीले भने, ‘पानीको स्रोत भएकाहरूले चाहिँ स्प्रिङ कलबाट सिँचाइ गरिरहेका छन् ।’

गत वर्ष माघभरिमा चार पटक वर्षा भएको थियो । तीन पटकसम्म परेको ठूलो हिमपातले खोलामा पानी प्रशस्तै बग्यो । यस वर्ष असोजको सुरुदेखि नै वर्षा नभएको किसानहरू बताउँछन् । न त हिमपात नै भएको छ । यतिबेला जिल्लाका बेंसीदेखि लेकसम्मकै हिउँदे बालीमा असर परेको किसानको दुखेसो छ ।

कृषि ज्ञान केन्द्र ताप्लेजुङको तथ्यांकअनुसार यो आर्थिक वर्ष २ हजार ६ सय ५० ट्रन अलैंची उत्पादन भएको छ । जिल्लाको ४ हजार २ सय हेक्टर क्षेत्रफलमा अलैंची लगाइएको छ । यो गत वर्षको तुलनामा ५० हेक्टरले कमी रहेको ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ । फल लाग्नुभन्दा पहिला यो समयमा अलैंचीको टुसा लाग्ने गर्दछ । यो वर्षको टुसाले अर्को वर्षको उत्पादनमा सहयोग पुर्‍याउँछ । यतिबेला अलैंचीलाई पानीको अधिक आवश्यकता पर्छ । ‘हिउँदमा बिरुवाले जति धेरै मल र पानी पायो त्यति नै राम्रो फूल लाग्छ,’ मिक्वाखोला गाउँपालिका–२ खोक्लिङका किसान दुर्गा बस्नेतले भने, ‘अब फागुनदेखिको पानीले भिजाउने र तातोले राप सिर्जना गर्दा जरा मर्ने जोखिम अति हुन्छ ।’ जमिन तातेको बेला पानी पर्दा राहतको साटो बिरुवालाई आहात हुने किसान बताउँछन् ।

फागुन लाग्दा पनि हिमालमा हिउँ परेको छैन । हिमालमा हिउँ हुँदा त्यहाँबाट आउने चिसो हावाले पनि राहत हुने तर त्यो नभएको किसानको गुनासो छ । अलैंचीलाई ओसिलो जमिन, सिँचाइ सुविधा अनिवार्य सर्त हो । मिक्वाखोला–२ का चन्द्र राईले भने ‘एकातिर मूल्यमा लगातार भइरहेको गिरावट अर्कोतिर उत्पादनमा आउने ह्रासले त समस्या पारिहाल्यो नि π’ मौसमविद्ले समेत कहिले पानी पर्छ भनेर यकिन गर्न नसकेकाले बोट रातो भएर फल नलाग्ने वा मरेरै जाने हो भनेर किसान अन्योलमा छन् ।

प्रकाशित : फाल्गुन २, २०७९ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×