धानको मूल्य बढ्दा किसानलाई राहत- कोशी - कान्तिपुर समाचार

धानको मूल्य बढ्दा किसानलाई राहत

विनोद भण्डारी

विराटनगर — भारतले धान निकासीमा कोटा लगाएसँगै भारतमै मूल्यवृद्धि भएपछि नेपाली धानको मूल्य पनि गतवर्षको तुलनामा यसपालि प्रतिक्विन्टल तीन सयसम्मले बढ्दा किसानले सामान्य राहत पाएका छन् । तर त्यसले चामलका उपभोक्ता मारमा परेका छन् । धानमा प्रतिक्विन्टल तीन सयसम्म मूल्यवृद्धि हुँदा चामलमा प्रतिकिलो १० रुपैयाँदेखि २० रुपैयाँसम्म मूल्य बढेको पाइएको छ । 

धानको मूल्य बढेसँगै एक महिना अगाडि प्रतिकेजी ४८ रुपैयाँमा पाइने सोना मन्सुली चामलको मूल्य अहिले केजीको ५८ रुपैयाँ पुगेको छ । त्यसैगरी ५५ रुपैयाँ किलोमा पाइने मन्सुली चामलको मूल्य ६४ रुपैयाँ र ६८ रुपैयाँ किलोमा पाइने जिरा मसिनो चामलको मूल्य अहिले ८८ रुपैयाँ पुगेको चन्द्र शिव राइस मिलका सञ्चालक नरेश राठीले बताए । भारतमा नै धान र चामलको मूल्य बढेको छ । उनले भने उता बढेपछि यता स्वतः बढ्ने नै भो ।

भारतले नेपालको लागि चालु वर्षमा ६ लाख टन धान निकासी गर्ने कोटा निर्धारण गरेको छ । भारतले कोटा निर्धारण गरेसँगै भारतमै धानको मूल्य बढ्यो । उद्योग वाणिज्य संघ प्रदेश १ का कृषि संयोजक श्रवण अग्रवालले भने भारतमा धानको मूल्य बढेसँगै नेपालमा पनि धानको मूल्य बढ्दा चामलको मूल्य पनि बढेपछि उपभोक्ता मारमा परेका हुन् ।

गतवर्ष यही सिजनमा सोना मन्सुली धानको मूल्य प्रतिक्विन्टल २ हजार ८ सय थियो । अहिले ३ हजार एक सय रुपैयाँ पुगेको छ । त्यही धानको मूल्य भारतमा ३ हजार २ सय ५० रुपैयाँ छ । रञ्जित धानको मूल्य गतवर्ष २ हजार ९ सय ५० हुँदा यसपालि ३ हजार ४ सय ५० रुपैयाँ पुगेको छ । गत वर्ष कान्छी मन्सुलीको मूल्य प्रतिक्विन्टल २ हजार ६ सय हुँदा यसपालि २ हजार ९ सय पुगेको छ । अग्रवालले भने कान्छी मन्सुलीको धानको मूल्य भारतमा अहिले ३ हजार २ सय छ ।

विगतमा भारतमा धानको मूल्य कम हुँदा यता पनि कम हुन्थ्यो । यसपालि भारतमै धानको मूल्य बढेसँगै यहाँ पनि बढ्दा चामलको मूल्य पनि ह्वात्तै बढ्यो र सर्वसाधारण उपभोक्ता मारमा परेको अग्रवालको भनाइ छ । उनले भने, ‘नेपालको खाद्यको मूल्य भारतीय बजारका आधारमा निर्धारण हुँदै आएको छ ।’

यस वर्ष प्रदेश १ मा ११ लाख ९८ हजार टन धान उत्पादन भएको छ । त्यो धानले सुनसरी मोरङ औद्योगिक करिडोरका साना ठूला झन्डै सयवटा राइस मिललाई ६ महिना पनि पुग्दैन । चन्द्र शिवराइस मिलका सञ्चालक नरेश राठीले भने यहाँका उद्योगलाई स्थानीय उत्पादनले ६० प्रतिशत मात्र धान्ने र बाँकी भारतीय धानमा निर्भर रहनुपर्ने स्थिति छ ।

प्रदेश १ मा ३ लाख २० हजार १ सय २३ हेक्टरमा बर्खे धान रोपाइँ हुँदा ११ लाख ९८ हजार ७ सय ४० टन धान उत्पादन भएको प्रदेश कृषि निर्देशनालयको तथ्याङ्क छ । त्यसमध्ये झापामा ३ लाख ८१ हजार ९ सय ३७ टन, मोरङमा ३ लाख ३४ हजार ६ सय ९९ टन, सुनसरीमा २ लाख १८ हजार ७ सय ३५ टन र उदयपुरमा ४७ हजार ९ सय २० टन धान उत्पादन भएको छ ।

धानको मुख्य सिजन कात्तिकदेखि पुससम्ममा जोगवनी नाकाबाट ३२ करोड ५० लाख मूल्य बराबरको ९ हजार २ सय ८२ टन धान भारतवाट आयात भएको विराटनगर भन्सारको तथ्याङ्क छ । गत वर्ष यो नाकाबाट ३२ अर्ब मूल्य बराबरको धान र चामल आयात भएको तथ्याङ्क छ ।

प्रकाशित : माघ २४, २०७९ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्

कृषिमा रमाउँदै पुराना राजनीतिकर्मी

विप्लव महर्जन

सल्यान — एकीकृत समाजवादीका केन्द्रीय सदस्य बाग्चौर नगरपालिका–९ डाँगीगाउँका ५२ वर्षीय लोकबहादुर डाँगी जिल्लाका पुराना नेता हुन् । पार्टीको कर्णाली सहइन्चार्ज उनी राजनीतिसँगै कृषिमा रमाइरहेका छन् ।

उनी पार्टीका गतिविधिमा सहभागी नभएको दिन बिहान सबेरैदेखि राति अबेरसम्म आफ्नो सुन्तलाबारीमा व्यस्त रहन्छन् । २०६७ देखि व्यवसायिक सुन्तला खेतीमा लागेका उनले २४ रोपनी जग्गामा ९ सय सुन्तला बोट लगाएका छन् । तीन वर्षदेखि उनले नर्सरीमा बेर्नासमेत उत्पादन गरेका छन् । सुन्तलाबाटै उनले गत वर्ष २० लाख रुपैयाँ आम्दानी गरे । यो वर्ष करिब १५ लाख रुपैयाँका सुन्तला बिक्री गरिसकेका छन् । उनको बारीमा अझै करिब २ सय बोटका सुन्तला टिप्न बाँकी छ । व्यापारीहरू बारीमा आई प्रतिक्विन्टल ६ देखि ७ हजार रुपैयाँमा सुन्तला किन्ने गरेका छन् । उनले अहिलेसम्म २ सय १५ क्विन्टल सुन्तला बिक्री गरिसकेका छन् । अझै करिब १ सय क्विन्टल सुन्तला टिप्न बाँकी छ ।

डाँगीले सुन्तला खेती र नर्सरीका लागि अहिलेसम्म करिब ५० लाख रुपैयाँ खर्च गरिसकेका छन् । उनले अहिले पनि बारी खनजोत गर्ने, खाडल खन्ने, बगैंचा गोडमेल गर्ने, सिँचाइ गर्नेजस्ता काम आफैं गर्दै आइरहेको बताए । सिजनका बेला दैनिक १० जनासम्मलाई रोजगारी दिइरहेको उनको भनाइ छ । व्यावसायिक सुन्तला खेतीमा लागे पनि राजनीतिमा खासै असर नपरेको उनले बताए । उनी ०४३ सालदेखि राजनीतिमा लागेका हुन् । माले हुँदै लामो समय एमालेको राजनीति गरेका उनी तत्कालीन सशस्त्र द्वन्द्वको समय ०५४ सालमा झन्डै एक दशक विस्थापित भएर सदरमुकाम बसे ।

‘राजनीतिबाट परिवार पाल्न गाह्रो भएपछि व्यवसाय गरे, त्यसबाट खासै परिवर्तन आएन,’ उनले भने, ‘जीविकोपार्जन गर्न कठिनाइ भएपछि बाबुआमाले अँगालेकै कृषि व्यवसायलाई निरन्तरता दिएको हुँ ।’ उनले ०६७ देखि खाद्यान्न उत्पादन हुने जग्गालाई सुन्तलाबारीमा परिणत गरे । उनले सुन्तला खेतीबाटै ११ जनाको परिवार सजिलै पाल्दै आएको बताए । उनको बगैंचामा चार युवाले नियमित रोजगारी पाइरहेका छन् । उनले गत वर्ष मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारसमेत पाएका थिए । ‘जेजति गरे सबै मेरो परिश्रमबाट भएको हो, राजनीति गरे पनि अहिलेसम्म सरकारी निकायबाट एक रुपैयाँ पनि अनुदान लिएको छैन,’ उनले भने, ‘आफ्नै जग्गामा मिहिनेत गरेर व्यावसायिक कृषि गर्न सके न विदेश जानुपर्छ न अरू जागिरकै भर पर्नुपर्छ, मेरै प्रेरणाले गाउँ आसपासका झन्डै २ दर्जन युवाले सुन्तलाखेतीलाई नै व्यावसायिक बनाएका छन् ।’

प्रकाशित : माघ २४, २०७९ १०:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×