कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मेसीसँग नेपाली युवाको सेल्फी

कुम्भराज राई

ओखलढुंगा — चर्चित फुटबलर लियोनल मेसीलाई भेट्ने रहर कसको नहोला ? तर भर्खरैका विश्वकप विजेता मेसीलाई भेटेर सेल्फी खिच्ने मौका जोकोहीले कहाँ पाउँछन् र ? त्यसमाथि एक सामान्य नेपाली युवकले उनलाई भेट्न पाउनु असम्भव जस्तै हो । 

मेसीसँग नेपाली युवाको सेल्फी

काभ्रे दोलालघाटका ३८ वर्षीय नवाङ लामाले बुधबार मेसीसँग सेल्फी खिच्ने अवसर पाए । कतारको राजधानी दोहामा रहेको ‘द टर्च होटल’ मा एक दशकदेखि काम गर्दै आएका नवाङले जीवनमा यही अवसर खोजिरहेका थिए । टर्च होटलमा विश्वका अधिकांश खेलाडी आउने गर्छन् । त्यसैक्रममा उनले धेरै जनासँग यसअघि भेटेर सेल्फी खिच्न भ्याइसकेको थिए । उनको एउटै धोको थियो मेसीलाई भेट्ने । उनी मेसीका कतिसम्म ‘डाइहार्ट’ फ्यान थिए भने मनमनै कुलदेवता भाकेर भेट्न पाइयोस् भनेर कामना गर्ने गर्थे ।

साउदी अरबमा बिहीबार भएको पीएसजी र अल नासर क्लबबीचको मैत्रीपूर्ण खेलका लागि पीएसजी टिम बुधबार कतारको टर्च होटलमा आएर बस्यो । त्यही अवसरमा अप्रत्याशित रूपमा उनले मेसीसँग भेट्न पाए । सुरुमा उनले मेसीलाई लिफ्टसम्म पुर्‍याएर कोठा देखाउने अवसर पाए । तर सुरुमै उनीसँग सेल्फी खिचेनन् । होटलका कर्मचारीलाई कोही पाहुनासँग फोटो, अटोग्राफ लिन निषेध गरिएको छ । तर उनी मेसीसँग फोटो खिच्ने अवसर पाउँदा होटलले जागिरबाट निकाले पनि तयार नै थिए ।

‘मैले त पहिले नै म्यानेजरलाई भनेको थिएँ । बरु मलाई घर फर्काइदेऊ तर मेसीसँग अवसर मिलेमा सेल्फी लिन्छु भनेर,’ नवाङले भने, ‘नभन्दै मेरो चाहना पूरा भयो । अब म पूर्ण भएँ ।’ पीएसजीका सबै टोलीले खाना खाइसकेर कोठा फर्किने बेला उनले ‘लियो, कम हेयर वान फोटो प्लिज’ भनेर अनुरोध गरे । मेसी नजिकै आएर उभिए । मुसुक्क हाँसे । त्यतिखेर नवाङ पूरै नर्भस भए । उनको जीउभरि काँडा उम्रियो ।

पीएसजीका सबै खेलाडी सँगै थिए । तर उनलाई अरूसँग खासै मतलब थिएन । जसरी पनि मेसीसँग तस्बिर लिने उनको चाहना थियो । उनले फेसबुक र इन्स्टाग्राममा प्रोफाइल परिवर्तन गर्दै लेखे ‘मिसन एकम्प्लिसड ।’ विश्व चर्चित खेलाडीका सुरक्षा व्यवस्थादेखि गोपनीयता कायम गरिएको हुन्छ । त्यसैले जोकोही प्रशंसकले मेसी स्तरका खेलाडीसँग व्यक्तिगत रूपमा भेटेर तस्बिर लिन पाउनु सहज छैन । उनले यसअघि नै नेयमार जुनियर, आर्जेन रोबेन, मारियो गोट्जे, जाभियर हर्नान्डेज, आर्टुरो भिडाल, रोबर्ट लेवन्डन्स्की, जाभी अलोन्सोलगायत दर्जनौं विश्वचर्चित फुटबलरसँग सेल्फी लिन भ्याइसकेका छन् ।

प्रकाशित : माघ ९, २०७९ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?