उठिबास हुने डरले आन्दोलित- कोशी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उठिबास हुने डरले आन्दोलित

चन्द्र कार्की

तेह्रथुम — पुष्पलाल (मध्य पहाडी) लोकमार्ग विस्तार गर्दा उठिबास हुने भन्दै वसन्तपुर बजारका बासिन्दाले गत बिहीबार प्रदर्शन गरेका छन् । 


बीच बजारबाट लोकमार्ग निर्माण हुँदा बसोबासस्थलमा क्षति पुग्ने बजारवासीको भनाइ छ । उनीहरूले लोकमार्ग अन्यत्रबाट लैजान माग गरिरहेका छन् । पाँचथरको चियोभन्ज्याङदेखि बैतडीको झुलाघाट जोड्ने पहाडैपहाड भएर निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना उक्त लोकमार्ग म्याङलुङ हुँदै वसन्तपुर बजारसम्म आइपुगेको छ । यो लोकमार्ग बन्दा मुख्य चोकको घर भत्काउनुपर्ने र धेरै नोक्सान हुने भएकाले विरोधमा उत्रिएको स्थानीय चूडामणि अधिकारीले बताए ।

स्थानीयका अनुसार बजार क्षेत्रका सय बढी घरको अगाडिको भाग फुटाल्नुपर्ने हुन्छ । लोकमार्ग विस्तार गर्दा बजार क्षेत्रका घरमा क्षति नपुर्‍याई विस्तार गर्नुपर्ने वा हाल कायम रहेको सडकलाई नै प्रयोगमा ल्याउनुपर्ने माग रहेको उद्योग वाणिज्य संघ उपशाखाका अध्यक्षसमेत रहेको स्थानीय रोशन सुवेदीले बताए । मध्य पहाडी लोकमार्ग योजना कार्यालय पाँचथरले भने यसअघि नै सम्बन्धित क्षेत्रका प्रभावित बासिन्दा र जनप्रतिनिधिसँग पटकपटक छलफल गरेर काम अघि बढाएको जनाएको छ । योजना प्रमुख अर्जुनकुमार बमले बजार क्षेत्रको छोटो दूरीमा मात्र केही घरमा न्यून क्षति पुग्ने हुनाले त्यसका लागि मुआब्जाको व्यवस्था पनि गरिएको बताए । उनका अनुसार बजार क्षेत्रमा ११ देखि १२ मिटरको चौडा सडक हुनेछ ।

बजार क्षेत्रका अधिकांश सडक ९ देखि १० मिटरसम्मको रहेको र थोरै मात्र सडक विस्तार गर्दा हालका लागि पुग्ने बमले बताए । स्थानीयको मागअनुसार लोकमार्ग अन्यत्रबाट लैजान सम्भव नहुने र बीच बजारबाटै लगिने उनले प्रस्ट्याए ।

सरकारले पहाडबाट तराई र सुविधासम्पन्न स्थानमा हुने बसाइँसराइ रोक्ने उद्देश्यले घोषणा गरेको नयाँ सहरसमेत हो वसन्तपुर । यहाँनयाँ सहर आयोजना कार्यालय स्थापना भएर पूर्वाधार निर्माणसमेत भइरहेको छ । लोकमार्ग योजना कार्यालयले बजार र सडक चौडा हुने स्थानको प्रारम्भिक वातावरणीय अध्ययनका लागि फिल्ड सर्भेको कामसमेत थालेको छ । उसले त्यसका लागि छिन्नमस्ता मल्टी इन्जिनियरिङ सोलुसन प्रालिसँग सम्झौता गरेको छ ।

प्रकाशित : माघ २, २०७९ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्

लोकमार्गले उठीबास लगाउने भन्दै प्रदर्शन

चन्द्र कार्की

तेह्रथुम — पुष्पलाल (मध्यपहाडी लोकमार्ग) विस्तार गर्दा आफूहरूको उठीबास हुने भन्दै बसन्तपुर बजारवासीले बिहीबार विरोध प्रदर्शन गरेका छन् । बजारबाट लोकमार्ग निर्माण हुँदा आफूहरूले बसोबास गरिरहेको घर घडेरीमा क्षति पुग्ने भन्दै बजारवासीले लोकमार्ग अन्यत्रबाट लैजान माग गर्दै आन्दोलन गरेका हुन् । 

नेपाल–भारत सीमा पाँचथरको चियोभन्ज्याङदेखि बैतडीको झुलाघाट जोड्ने पहाडै पहाड भएर निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग निर्माणको काम म्याङलुङ हुँदै बसन्तपुर बजारसम्म आइपुगेको छ । बजार क्षेत्र प्रवेश गर्ने चरणमा रहेको लोकमार्गको सर्भेको काम सम्पन्न भएर प्रारम्भिक वातावरणीय अध्ययनको काम सुरु गर्ने तयारी भइरहेका बेला केही बजारवासीले विरोध जनाएर प्रदर्शन गरेका हुन् ।

बजारको बिचबाट लोकमार्ग निर्माण हुँदा यसअघि निर्माण भइसकेका घर भत्काउनुपर्ने अवस्था आउने र आफूहरू घरबारविहीन हुने भन्दै बजारवासीले लोकमार्ग निर्माणस्थलको विकल्प खोजेका हुन् ।

बिचबजारबाट लोकमार्ग निर्माण हुँदा मुख्य चोकको घर भत्काउनुपर्ने र आफूहरूको धेरै नोक्सान हुने भन्दै विरोधमा उत्रिएका स्थानीय चुडामणि अधिकारीले बताए । लोकमार्ग बजार क्षेत्रभन्दा दायाँबायाँ गरेर निर्माण गर्नुपर्ने माग आफूहरूको रहेको अधिकारीको भनाइ छ । बिचबजारबाट लोकमार्ग विस्तार भएर बजार क्षेत्रका १ सयभन्दा बढी घरको अगाडिको भाग काट्न खोजेको भन्दै आफूहरू विरोधमा उत्रिएको स्थानीयको भनाइ छ ।

बजारवासीले लोकमार्ग विस्तार गर्दा बजार क्षेत्रका घरमा क्षति नपुर्‍याई विस्तार गर्नुपर्ने वा हाल कायम रहेको सडकलाई नै प्रयोगमा ल्याउनुपर्ने आफूहरूको माग रहेको उद्योग वाणिज्य संघ उपशाखाका अध्यक्षसमेत रहेको स्थानीय रोशन सुवेदीले बताए ।

बजार क्षेत्रभित्र कति मिटर सडक कायम हुने भन्ने आधिकारिक जानकारीसमेत लोकमार्ग आयोजना पक्षले आफूहरूलाई नदिएको स्थानीयको दाबी छ ।

पुष्पलाल (मध्यपहाडी लोकमार्ग) योजना कार्यालय पाँचथरले भने यसअघि नै सम्बन्धित क्षेत्रका प्रभावित बासिन्दा र जनप्रतिनिधिसँग पटक–पटक छलफल गरेर काम अघि बढाएको जनाएको छ । योजना प्रमुख अर्जुनकुमार बमले बजार क्षेत्रको छोटो दुरीमा मात्र केही घरमा न्यून क्षति पुग्ने र त्यसका लागि योजना कार्यालयले क्षतिपूर्तिको व्यवस्था पनि गरेको बताए । योजना प्रमुख बमका अनुसार बजार क्षेत्रमा ११ देखि १२ मिटरको चौडा सडक हुनेछ । यसअघि बजार क्षेत्रमा निर्माण भएको अधिकांश सडक ९ देखि १० मिटरसम्मको रहेको र थोरैमात्र सडक विस्तार गर्दा हालका लागि सडक पुग्ने योजना प्रमुख बमले बताए । स्थानीयको माग अनुसार लोकमार्ग अन्यत्र स्थान बाट लैजान सम्भव नहुने र बिचबजारबाटै जाने बमको भनाइ छ ।

प्रकाशित : पुस २८, २०७९ १७:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×