कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

प्रदेश १ सभामुखको निर्वाचन मिति पुस २८ गते तोकियो

सत्ता गठबन्धनले माओवादीका बाबुराम गौतमलाई उम्मेदवार बनाउने
देवनारायण साह

मोरङ — प्रदेशसभाको मंगलबार बसेको बैठकमा ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईले प्रदेश सभामुखको निर्वाचन पुस २८ का लागि तोकेका छन् । दलीय भागबन्डामा सत्तारूढ दलमध्ये प्रदेश १ को सभामुख माओवादी केन्द्रको भागमा परेको छ । माओवादी केन्द्रले ओखलढुंगा १(२) बाट निर्वाचित प्रदेशसभा सदस्य बाबुराम गौतमलाई सभामुखको उम्मेदवार बनाउने तयारी गरेको छ । 

प्रदेश १ सभामुखको निर्वाचन मिति पुस २८ गते तोकियो

माओवादी केन्द्रका प्रदेशसभा सदस्य दुर्गाप्रसाद चापागाईले आफ्नो दलले प्रदेशसभा सदस्य गौतमलाई सभामुखमा उम्मेदवार बनाउने तयारी गरेको बताए ।

सत्तारूढ दलका केन्द्रीय शीर्षनेताहरूले गरेको निर्णयलाई चुनौती दिँदै प्रदेश सरकारको नेतृत्वमा आलोपालो हुनुपर्ने अडानमा रहेको माओवादी केन्द्रका संसदीय दलले केन्द्रकै निर्णयअनुसार सभामुखमा प्रदेश सांसद गौतमको नाम अघि सारेको छ । उक्त अडानका कारण माओवादी केन्द्रले एमालेका मुख्यमन्त्री हिक्मतकुमारकार्की नेतृत्वको सरकारमा सहभागी भएका छैन । त्यसैले कार्कीले सोमबार राप्रपा र जनता समाजवादी पार्टीलाई मिलाएर चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य चापागाईले मुख्यमन्त्रीमा आलोपालोका साथै सरकारमा कुन हैसियतमा सहभागी हुने टुंगो नलागेकाले मात्रै तत्काल सरकारमा सहभागी नभएको प्रस्टीकरण दिए ।

माओवादी सांसद बाबुराम गौतम ।

एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले माओवादी केन्द्रसँग छलफल भइरहेकाले चाँडै सरकारमा सहभागी हुने भएकाले केन्द्रको निर्णयअनुसार सभामुखमा माओवादी केन्द्रको उम्मेदवारलाई स्वीकारेर अघि बढ्ने बताए । उनले सत्ता सहकार्यका अभ्यासमा एमालेले अग्रसरता लिएर सभामुखमा माओवादी केन्द्रका उम्मेदवारलाई निर्वाचित गराउने बताए ।

संविधानको धारा १८२ को उपधारा (१) मा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरुले प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने व्यवस्था छ ।

संविधानको धारा १८२ को उपधारा (२) मा उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला हुने गरी गर्नुपर्नेछ र प्रदेशसभामुख वा प्रदेश उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्नेछ ।

तर प्रदेशसभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रदेश सभामुख वा प्रदेश उपसभामुख हुन बाधा नपर्ने व्यवस्था छ ।

प्रदेशसभा नियमावली २०७४ अनुसार सभामुख र उपसभामुखको निर्वाचन छुट्टाछुट्टै हुनेछ । पहिले सभामुखको निर्वाचन भएपछि मात्रै उपसभामुखको निर्वाचन हुने व्यवस्था छ ।

प्रदेशसभा नियमावलीको नियम ७ को उपनियम (१) मा सभामुखको निर्वाचन संविधानको धारा १८२ को परिधिभित्र रहने गरी तोकिएको दिनमा हुनेछ र त्यसको सूचना सचिवले प्रकाशन गर्ने व्यवस्था छ । प्रदेशसभा नियमावलीको नियम ७ को उपनियम (२) मा उपनियम (१) बमोजिम प्रकाशित कार्यक्रममा निर्धारित समयभित्र कुनै सदस्यले कुनै अर्को सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा एक जना सदस्यको समर्थनसहित अनुसूची १ बमोजिमको ढाँचामा सोको सूचना सचिवलाई दिनुपर्ने व्यवस्था छ ।

प्रकाशित : पुस २६, २०७९ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×