कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

मध्यरातमा सिद्धार्थले दरबार त्यागेको झल्को [तस्बिरहरू]

मनोज पौडेल

कपिलवस्तु — युवराज सिद्धार्थले राजसी सुखसयल त्यागेर ज्ञान प्राप्तिका लागि गृहत्याग गरेको दिनको स्मरण गर्दै यहाँ महाभिनिष्क्रमण दिवस मनाइएको छ । झन्डै २ हजार ६ सय १९ वर्षअघिको घटना स्मरण गर्दै आइतबार राति १२ बजे कपिलवस्तुस्थित राजप्रासाद तिलौराकोटमा सो दिवस मनाइएको हो ।

कार्यक्रममा श्रीलंकाकी सुदर्शना पाथिरानाले शान्तिकामीका लागि यो निकै महत्त्वपूर्ण र प्रेरणादायी घटना भएको बताइन् । ‘२९ वर्षको युवा अवस्था बिताएको ठाउँमै आएर यसरी दिवसमा सहभागी हुँदा साँच्चै शान्ति, सद्भाव र करुणाको ऊर्जा पलायो,’ उनले भनिन्, ‘यस्ता कार्यक्रमबारे श्रीलंकाली उपासक उपासिकालाई जानकारी दिएर राम्रो पर्यटकीय गन्तव्य बनाउन सकिन्छ ।’

लुम्बिनी विकास कोषका सद्भावना दूत तथा पर्यटन इलमी विक्रम पाँणेकाजीले राजसी सुखयल त्यागेर दरबार छाड्दा कस्तो अनुभूति हुँदो रहेछ भन्ने प्रत्यक्ष अनुभूति हुने दिवस सबैका लागि निकै महत्त्वपूर्ण भएको बताए । ‘यस्तो ऐतिहासिक र प्रेरणादायी अनुभूति विश्वमै विरलै हुन्छ,’ उनले भने, ‘यसलाई राम्रो ब्रान्डिङ गर्न सके शान्तिमै रमाउने र आनन्दित हुनेका लागि स्वर्गभन्दा बढी पुण्यसञ्चय हुन सक्छ ।’

कार्यक्रम सुरु हुनुअघि भिक्षुले शिल प्रार्थना गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रमका सहभागीहरू घोडा चढ्दै बाहिरिंदै दरबार छाड्दाको अनुभूति गरेका थिए । राजकुमार सिद्धार्थ गर्भ प्रवेश गरेको दिन, प्रथम धर्मदेशना गरेको दिन र मातालाई दुशितलोकमा अभिधम्म देशना गरेको दिन पनि हो ।

त्यसैले यो सबैका लागि पुण्य सञ्चय, आपसी सद्भाव र भ्रातृत्व जगाउने आकर्षक कार्यक्रमका रुपमा विकास गरेर लैजानु पर्नेमा सहभागीले जोड दिएका थिए । बुद्ध सर्किट्स डट कम नेपाल र गच्छामि मिडिया ग्रुपद्वारा आयोजित कार्यक्रममा लुम्बिनी विकास कोष सदस्य रामनरेशप्रसाद कुर्मी, कोष परिषद् सदस्य गोपीकृष्ण शर्मा र कपिलवस्तु नगरपालिका–३ का वडाध्यक्ष रुद्रप्रकाश गैरेले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

प्रकाशित : श्रावण ८, २०८१ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्