कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

पहिरोले कर्णाली राजमार्ग छियाछिया [तस्बिरहरू]

डीबी बुढा

जुम्ला — अविरल वर्षासँगै खसेको पहिरोका कारण कर्णाली राजमार्ग अस्तव्यस्त बनेको छ । सडकआसपासका खण्डमा सवारीसाधन अलपत्र परेका छन् भने यात्रुहरू पैदल हिँडेर गन्तव्यमा पुग्न बाध्य छन् ।

कालीकोटको हुल्मदेखि दैलेखको दही खोलासम्म ६ वटा ठूला पहिरो झरेको सडक डिभिजन कार्यालय जुम्लाका सब–इन्जिनियर गोविन्द अधिकारीले जानकारी दिए । उनका अनुसार पाँच ठाउँको पहिरो हटाएर एकतर्फी सवारी सञ्चालन गर्न सकिए पनि एसमोडको पहिरा पन्छाउन सकिएको छैन । जसका कारण सवारी आवागमन ठप्प छ ।

पहिरो पन्छ्याउन जुम्ला र सुर्खेतबाट एक्स्काभेटर र लोडर सडक अवरुद्ध स्थलमा पुगेर काम गरिरहेका छन् । छिनछिनमा पानी परिरहेकाले पहिरो हटाउनमा थप समस्या भइरहेको छ । कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले एसमोडको ढुंगा हटाउन समस्या भइरहेको बताए । सडक कार्यालयले रातिसम्म ढुंगा फुटाउन सकिन्छ कि भनेर काम गरिरहेको उनको भनाइ छ ।

सडक अवरुद्ध हुँदा कालीकोट, हुम्ला, बाजुरा, मुगु र जुम्ला जाने यात्रुहरूको बिचल्ली भएको छ । सयौँ यात्रुहरू अलपत्र परेपछि केही दही खोलाबाट अर्को सवारीमा सुर्खेततर्फ र सुर्खेतबाट हिमाली र पहाडी जिल्लामा जाने हिँडेर हुल्मबाट गन्तव्यतिर गइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए । मुगु–जुम्ला सडकको हुल्म–मान्म–नाग्म खण्डमा कुनै अवरोध नरहेको थापाको भनाइ छ ।


प्रकाशित : असार २५, २०८१ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्