कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

तानसेन महोत्सवमा सांस्कृतिक झाँकी [तस्बिरहरु]

माधव अर्याल

पाल्पा — पाल्पाको तानसेन टुँडिखेलमा शनिबारदेखि सुरु भएको ‘तानसेन महोत्सव’ मा विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन गरियो । तानसेन नगरभित्रका टोल विकास संस्था, विद्यालय, क्लब, धार्मिक समूहले भिन्न खालको झाँकी प्रदर्शन गरेका हुन् । भुषालडाँडा माविले नेवारी संस्कृतिको गाईजात्रा मात्र होइन, श्रीनगरडाँडाको भ्यूटावर, विज्ञान प्रदर्शनी र्‍यालीमै प्रदर्शन गरेको छ । विद्यालयका विद्यार्थी, शिक्षकले तयार गरेर विभिन्न भेषभूषमा सजिएका थिए । सेन्ट कपितानियो विद्यालयले गरेको विविध सांस्कृतिक झांकी पनि उत्कृष्ट भयो ।

पाल्पा आवासीयले मगर, नेवार, कुमारी, थारु, तामाङ लागयतका भेषभूषा प्रदर्शन गरेको थियो । यति मात्र होइन तानसेन नगरपालिका–४, को सम्पूर्ण टोल विकास संस्थाले तानसेन दरबार लगायत विविध जातजातीको भेषभूषासहित प्रदर्शनी गरेको त्रिभुवन बहुमुखी क्याम्पसका उपप्राध्यापक टंक पन्थले बताए । यति मात्र होइन, बर्तुङ मगर भेजा समूहले पञ्चेबाजासहित मगरी संस्कृति प्रर्दशन गरेको छ । जनता मावि, सहारा कला केन्द्रले कृषि, पर्यटन, कला, संस्कृति झल्काउने भेषभूषा मात्र होइन, सामग्री नै प्रदर्शन गरे । धर्मोदय दश अवतार समूहले बालन लगायतको संस्कृति झल्किने भेषभूषा र भजन किर्तन प्रस्तुत गरेको थियो ।

सबै भेषभूषा, जातजातिको रहनसहन संस्कृति प्रस्तुत गरेको भेटिएको त्रिभुवन बहुमुखी क्याम्पसका उपप्राध्यापक शंकर गैरेले बताए । तानसेन नगरपालिकाले कृषि, रोजगार, पर्यटन, उद्योग  व्यापार तानसेन महोत्सवको उद्घाटनमा झाँकी र्‍यालीको प्रतियोगिता गरेकाले पनि विविध संस्कृति देख्न पाइएको हो । प्रथम हुने भुषालडाँडा माविले ५० हजार, दोस्रो भएको सेन्ट कपितानियो विद्यालयले ३० हजार र तेस्रो हुने पाल्पा आवासीय माविले २० हजार नगद पुरस्कार पाए । यसैगरी सम्पूण टोल विकास संस्था, बर्तुङ मगर भेजा समूह, जनता मावि, सहारा कला केन्द्र र धर्मोदय दशअवतारले नगद ५ हजारका दरले पुरस्कार पाए । र्‍यालीमा भने सय बढीले भाग लिएका थिए ।

शनिबारदेखि सुरु भएको महोत्स्व २९ गतेसम्म चल्ने छ । तानसेनको टुँडिखेल मैदानमा तानसेन नगरपालिकाले पहिलो पटक महोत्सव आयोजना गरेको र महोत्सवमा पाल्पाली ढाका, करुवा, कृषि उत्पादन, लघु तथा घरेलु उत्पादन प्रदर्शनी, शैक्षिक सामग्री प्रदर्शनी, बैंक तथा वित्तीय संस्था, सूचना प्रविधि, अटो मोवाइल, स्वास्थ्य, पर्यटन तथा स्वदेशी अन्य उत्पादनका स्टल रहेको तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए । महोत्सवमा तीन लाख बढी दर्शकले अवलोकन गर्ने दाबी छ । १० करोड कारोबार हुने अनुमान गरिएको छ भने ६१ लाख बढी राजश्व बचत हुने तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले बताइन् । महोत्वस स्थलमा प्रवेश गर्नमा लागि ७० रुपैयाँ  र विद्यार्थीलाई ५० रुपैयाँ तथा जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । राजधानी राइड्स नेपाल कम्पनीले यसको जिम्मेवारी पाएको नगर प्रवक्ता यादवसिंह कार्कीले बताए । 


प्रकाशित : फाल्गुन १९, २०८० २०:४८
प्रतिक्रिया
पठाउनुहोस्