कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सरकारले दरिलो कूटनीतिक प्रयास अघि बढाओस्

पाठक पत्र

‘हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नो खाएको बेस आनन्दी मनले ।’ महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी हरफ आज पनि उत्तिकै सान्दर्भिक छन् । पारिवारिक सुख र मिलनभन्दा माथि केही पनि छैन । राजनीतिक दुष्चक्रमा फसेको नेपालमा आर्थिक समृद्धि नेताहरूको पोल्टाबाट बाहिर निस्कन सकेन ।

सरकारले दरिलो कूटनीतिक प्रयास अघि बढाओस्

फलस्वरूप देशका होनहार युवाको गन्तव्य विदेश बन्न थालेको छ । श्रमका लागि मात्र होइन पैसाका लागि जीवनकै बाजी थापेर युद्धरत मुलुकको सैनिक सेवामा भर्ती हुँदै युद्ध मैदानमा भिड्न तयार हुनुपर्ने बाध्यता बनेको छ ।

उता आफ्ना प्रियजन युद्ध मैदानमा लड्दै गर्दा यता परिवारका सदस्यहरू अत्यासमा रुमल्लिएका छन् । यसरी अर्को देशमा भइरहेको अवैध सैनिक भर्तीमा न सरकारले रोक्न सकेको छ न त देशमै सम्भावना देखाएर बाहिरिएका युवालाई फर्काउन सकेको छ ।

कान्तिपुर दैनिकले रुसी सेनामा भर्ती भएका नेपाली र उनीहरूका प्रताडनाका कथालाई प्रस्तुत गरिरहेको छ । सम्पर्कविहीन बनेका २४४ नेपालीका आफन्तको पीडाका खबर पनि आएका छन् । मृत्यु भएकाको शव ल्याइदिन, क्षतिपूर्ति दिलाइदिन र युक्रेनी सेनाले बन्धक बनाएकाको उद्धारका लागि राज्यले तदारुकता देखाउनैपर्छ ।

विविध कारण संसारको सुन्दर मुलुक नेपाल यसबखत राजनीतिक अकर्मण्यताका कारण संसारको सबैभन्दा दुःखी मुलुकका रूपमा अग्रसर भइरहेको त होइन भन्ने चिन्ता सबैमा छ । परिवारसँगको विछोडको पीडाभन्दा ठूलो अरू केही हुँदैन । नेपालमै अवसरको सम्भावना हुन्थ्यो भने प्रत्येक नेपाली आफ्नै परिवारसँग हाँसीखुसी बस्न र बाँच्न पाउने थिए ।

रुसी सेनामा भर्ती भएर आफ्नो जीवनलाई हत्केलामा राख्दै युद्धको मैदानमा भिडिरहेका ती नेपालीलाई स्वदेश फर्काउने दरिलो कूटनीतिक प्रयासलाई सरकारले अघि बढाओस् । साथै उनीहरूको परिवारको माग सम्बोधनका लागि तत्काल पहलकदमी लिओस् ।
– रबिना पौडेल, माकलबारी, काठमाडौं

प्रकाशित : फाल्गुन २१, २०८० ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×