कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

भाषणमा मिठो, व्यवहारमा तीतो

पाठक पत्र

कान्तिपुर एजुकेसन समिट २०८० ले देशको उच्च शिक्षाको हालको अवस्थालाई सतहमा छर्लङ्ग पारेको छ । प्रधानमन्त्रीलगायत राजनीतिक र शैक्षिक क्षेत्रका अग्रजहरूले कार्यक्रममा उच्च शिक्षा सुधारका लागि विचार विमर्श गर्दै राज्यलाई नीति निर्माणका लागि पृष्ठपोषण दिएका छन् तर हाम्रो देशको विडम्बना नै भन्नुपर्छ, नेताहरूको सार्वजनिक मञ्चमा प्रस्तुत हुने भाषण मिठा हुन्छन् भने उनीहरूको व्यवहार जनताले सधैं तीतो अनुभव गरेका छन् । अहिले विश्वविद्यालयहरूले भोग्नुपरेको तदर्थवाद पनि यसैको परिणाम हो ।

भाषणमा मिठो, व्यवहारमा तीतो

उच्च शिक्षामा सरकारले गर्न सक्ने सुधारका थुप्रै उपाय छन् । नीतिगत सुधार सरकारको प्रमुख कर्तव्य भएकाले यो नै मुख्य एजेन्डा बन्नुपर्ने देखिन्छ । विश्वविद्यालय आफैंले पनि आन्तरिक सुशासन प्रणालीमा थुप्रै सुधारका प्रयास गर्न जरुरत छ । सेवाको चुस्तता, प्रभावकारी सेवा प्रवाह, सेवाग्राहीको समस्या समाधानमा सहजीकरण, छिटोछरितो सेवाका लागि सूचना प्रविधिको प्रयोग र सक्षम कर्मचारीतन्त्र अहिले विश्वविद्यालयमा खड्किएका विषय हुन् ।

यसमा विश्वविद्यालयले आन्तरिक सुशासन प्रणालीलाई नीतिगत रूपमा सबल बनाएर व्यावहारिक क्षमता विकास गर्न सक्नुपर्छ । हरेक सेवा प्रवाहलाई प्रविधिसरूग जोडेर कार्य प्रणालीलाई सहजीकरण गर्न गराउन अब ढिला गर्नु हुँदैन ।उच्च शिक्षा प्रदायक अग्रणी विश्वविद्यालयहरू संघीयताको ढाँचामा पुनर्संरचना हुन सकेको छैन । धेरै विश्वविद्यालयको सेवा अझै पनि केन्द्रीकृत रहेको छ । देशकै जेठो एवं ठुलो त्रिभुवन विश्वविद्यालयको पुनःर्संरचना नभई अरू विश्वविद्यालयभित्रको क्रान्तिकारी परिवर्तनले खासै महत्त्व राख्दैन ।

त्रिविले अहिले पनि सात प्रदेशको संरचनाअनुसार आफ्नो प्रशासनिक संरचना परिवर्तन गर्न सकेको पाइँदैन । परीक्षा नियन्त्रण कार्यालयका पुरानै क्षेत्रीय कार्यालयहरू अस्तित्वमा छन् भने परीक्षा प्रणालीलगायत विश्वविद्यालयको सेवा प्रवाहको प्रक्रिया केन्द्रीकृत नै छ । त्रिभुवन विश्वविद्यालय उच्च शिक्षाको पद्धति भइसकेकाले यसको पुनःर्संरचना नै पहिलो आवश्यकता हो । एजुकेसन समिट यस्तो समयमा गरिएको छ कि त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र सेवा आयोग सदस्यलगायत पदहरू रिक्त छन् ।

अब यी पदको नियुक्तिबाटै सुधार हुने–नहुने संकेत देख्न सकिनेछ ।सरकारले सबै विश्वविद्यालय एउटै ऐनद्वारा सञ्चालन गर्ने उच्च शिक्षाको छाता ऐन ल्याउने चर्चा पनि सेलाउँदै गएको छ । छाता ऐन बनाएर सुधारको सुरुवात गर्न मौका पनि यो सरकारलाई छ । त्रिभुवन विश्वविद्यालयलगायत संघीय विश्वविद्यालय र प्रादेशिक विश्वविद्यालयहरूको नेतृत्व र सञ्चालन प्रक्रिया मुख्य एजेन्डा बन्नुपर्छ । एउटै विश्वविद्यालय सेवा आयोगको अवधारणा पनि निकै राम्रो थियो, तर खोइ कता सेलायो ?

आम नागरिकको आशाको दियो हुन् विश्वविद्यालयहरू तर विडम्बना पछिल्लो पुस्ताले यी विश्वविद्यालयहरू राजनीतिक क्रीडास्थलको रूपमा देख्नु परिरहेको छ । बौद्धिक थलो विश्वविद्यालयहरू बौद्धिक विचार मन्थनको केन्द्र बन्न सकेका छैनन् । परिवर्तन सम्भव छ तर यसको सुरुवात सरकारबाटै गर्नुपर्ने देखिएको छ ।
– नोदनाथ त्रिताल, चौबिसे– ३, धनकुटा

प्रकाशित : पुस १९, २०८० ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×