कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

त्रिविमा उपकुलपति को र कहिले ?

पाठक पत्र

१. कक्षा १२ सम्म पढेपछि युवा पलायन हुने क्रम जारी छ । त्यसको प्रमुख कारण यस देशमा उच्च शिक्षा पढ्न भर्ना हुने विद्यार्थीको ७६ प्रतिशत स्थान ओगटेको त्रिभुवन विश्वविद्यालयको गिर्दो शैक्षिक स्तर नै हो भन्नेमा शंका छैन ।

त्रिविमा उपकुलपति को र कहिले ?

२. गएको दुई दशकमा त्रिवि यति ओह्रालो लाग्यो कि यसको साढे छ दशकको यात्रामा यो खण्ड अँध्यारो नै रह्यो भन्ने देखिन्छ । यसको मूल कारण भनेको राजनीतिक दलको अनावश्यक हस्तक्षेप र जनदबाबका बाबजुद आफ्ना झोलेहरूलाई उपकुलपतिमा चयन गर्ने धृष्टता नै हो ।

३. नेपालको उच्च शिक्षाको अवसानको कारण राजनीतिक दलको भागबन्डा मिलाउने आपराधिक सोचले जरा गाडेको दलीय घृणित सोचको उपज हो । कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री रहनै पर्ने बाध्यताभित्र पिल्साइएको उच्च शिक्षाले कहिल्यै गति लिन सक्दैन भन्ने प्रमाण नेपालको उच्च शिक्षाप्रति कसैको पनि विश्वास नरहनुले पुष्टि गर्छ ।

४. अझै कलुषित मनस्थिति परिवर्तन हुने छाँट देखिँदैन । सहकुलपति नै उपकुलपति छनोटको संयोजक हुनुपर्ने किन ? राजनीतिक भागबन्डा मिलाउनबाहेक अरू केही कारण देखिँदैन । अहिलेसम्मका यस्ता छनोट समितिले तीन जनाको नाम सिफारिस गर्ने परम्परा रहे पनि त्यसमध्ये एक जना राजनीतिक दलका झोले हुने गरेको र उसैले उपकुलपति पद पड्काएको इतिहास साक्षी छ ।

५. अहिले शिक्षाध्यक्षलाई तीनमहिने सुई लगाएर उपकुलपतिको जिम्मा लगाइएको छ । यसरी के काम होला ? चार वर्ष पदावधि भएकाले त माखो मार्न सकेनन् भने काम चलाऊ प्रवृत्ति उच्च शिक्षाका लागि घातक मात्रै सावित हुने पक्का छ ।

६. यसभन्दा अगाडि रिक्त उपकुलपति पदमा विज्ञापन गर्ने नाटक पनि नरचिएको हैन तर त्यसभित्र पनि छनोट समितिले राजनीतिक दाउपेच गर्दै राम्रालाई पन्छाएर हाम्रालाई उपकुलपति बनाएको हैन र ? आफ्नो अभीष्ट मात्रै पूरा गर्ने हो र उच्च शिक्षालाई यसैगरी धराशायी बनाउँदै जाने हो भने नेपालका सबै विश्वविद्यालय बन्द गरिदिए पनि फरक पर्दैन, न गुणस्तर न एक्काइसौं शताब्दीको सोच, न बजार न रोजगारी, केका लागि विश्वविद्यालय ?

७. त्रिविमा उपकुलपतिको खोजी गर्ने जिम्मा सरकारको हो । अहिलेको त्रिवि ऐनअनुसार, तर परम्परागत शैलीमा गठन हुने छनोट समितिले यो काम गर्न सक्दैन किनभने सरकारसँग योग्य प्राज्ञको सूची हुनुपर्‍यो, जुन उसँग छैन । ऊसँग त आफ्ना दलीय गणेशहरूको सूची मात्रै छ अनि कहाँबाट नियुक्त हुन्छन् योग्य उपकुलपतिहरू ?

८. यही देशमा त्रिवि सम्हाल्न सक्ने थुप्रै योग्य प्राज्ञ छन्, तिनलाई चिन्न सक्नुपर्छ र राज्यले जिम्मेवारी दिन सक्नुपर्छ । जबसम्म योग्य व्यक्ति पाखा लगाउने क्रम जारी रहन्छ, न उच्च शिक्षाको विकास हुन्छ न ती योग्य मानवस्रोत यो देशमा नै बसिरहन्छन् । तिनका लागि संसारमै स्वागतयोग्य प्राज्ञिक जिम्मेवारी पर्खिरहेछ तर देशले नचिन्नु विडम्बना हो ।

९. भूमण्डलीकरणको युग र अन्तर्राष्ट्रिय दाँजोमा त्रिविलाई पुर्‍याउने हो भने निष्पक्ष छनोट समिति बनाउने, देशभित्रको मात्रै होइन, संसारभरका योग्य मान्छेले आवेदन दिन पाउने गरी उपकुलपतिको विज्ञापन गर्ने, आवेदन दिने सबैको आगामी ४ वर्षमा त्रिविलाई सक्षम बनाउने एजेन्डा, आर्थिक स्रोत व्यवस्थापनजस्ता पक्षमा बहस गराउने र तीमध्ये सर्वोत्कृष्टलाई उपकुलपतिमा नियुक्त गर्ने काम वाञ्छनीय हुन्छ । छ हिम्मत नेपाल सरकारको ?

१०. त्रिविसक्षम बनाउन सर्वप्रथम कुलपतिबाट प्रधानमन्त्री र सहकुलपतिबाट शिक्षामन्त्री हटाउनुपर्छ, त्रिविलाई नितान्त बोर्ड अफ ट्रस्टिजमा लाने गरी ऐन संशोधन गरिनुपर्छ र झोले प्राध्यापक, झोले कर्मचारी र दलीय संगठनलाई त्रिविबाट सदाका लागि बिदा गर्नुपर्छ ।
– मनप्रसाद वाग्ले, मीनभवन, काठमाडौं

प्रकाशित : मंसिर १५, २०८० ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×