कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

विद्वान्हरूको जमघटबाट मुलुकको प्रसिद्धि

पाठक पत्र

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीसँग गरिएको ‘१० जना नोबेल विजेतासहित विश्वका नेता लुम्बिनी आएपछि अभूतपूर्व ब्रान्डिङ हुन्छ’ शीर्षकको कुराकानी चौथो अन्तर्राष्ट्रिय लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलनको उपादेयतासँग सम्बन्धित छ ।

लुम्बिनी सरकारले आउँदो २८ र २९ गते आयोजना गर्न लागेको उक्त सम्मेलनमा विश्वका मूर्धन्य व्यक्तित्व सामेल हुने भएकाले यसबाट बुद्धको जन्मस्थलको मात्र नभई लुम्बिनी प्रदेश एवं मुलुकको गरिमा बढ्ने विषयमा दुईमत रहँदैन ।

१० जना नोबेल पुरस्कार विजेताले सम्मेलनमा सहभागिताको प्रतिबद्धता जनाउनुका साथै विश्वका उच्च तहका नेतासमेत सामेल हुने भएपछि यसको चर्चा विश्वव्यापी हुने देखिन्छ ।

सहभागी हुने चर्चित नेता, व्यक्तिमध्ये भारतका पूर्वराष्ट्रपति रामनाथ कोविन्दका साथै स्विडेनका पूर्वप्रधानमन्त्री, दक्षिण सुडानका पूर्वराष्ट्रपति, अन्तर्राष्ट्रिय कानुन बनाउने ब्राजिलका न्यायाधीश, जोर्डनका युवराजलगायत छन् ।

अन्य अति विशिष्ट व्यक्ति, लगानी गर्न सक्नेहरू, धनाढ्य फाउन्डेसनका व्यक्तिलाई आमन्त्रण गरिएकाले यसबाट सम्मेलनको महत्त्व बढ्ने, प्रतिभावान्, बहुआयमिक व्यक्तित्वबाट लुम्बिनीको विकासमा नयाँ अवधारणा आउने देखिन्छ ।

बालबालिका, शान्ति र विकासमा सम्मेलन केन्द्रित रहने, सहभागीलाई बर्दिया राष्ट्रिय निकुञ्ज, स्वर्गद्वारी, पाल्पाको हिल स्टेसन पनि लैजाने कार्यक्रम रहेकाले त्यसको प्रचारप्रचारबाट पर्यटन प्रवर्द्धनमा नया आयाम थपिने निश्चित छ । तथापि यतिबेला लुम्बिनी परिसरको कमी कमजोरी गनेर साध्य छैन । उक्त क्षेत्र मदिरामय बनेको देखिन्छ ।

ध्यानमा संलग्न हुन आउने विदेशीहरू त्यहाँको कुव्यवस्था देखेर तत्कालै फर्कने गरेको यथार्थ जगजाहेर छ । लुम्बिनी क्षेत्रको इतिहास, पौराणिकता झल्काउने, बुद्धको जीवनी, बुद्धत्व एवं निर्वाणप्राप्तिसँग जोडिएका गतिविधि समेटेर एउटा बृहत्तर म्युजियम स्थापना गर्नुपर्ने आवश्यक देखिन्छ ।

दुःखको कुरा खुराफाती राजनीतिक गतिविधि, निर्वाचनको कुरामा हामी महिनौं अघिदेखि गफ, छलफल गरेर समय बिताउछौं तर पहिलोपटक नोबेल पुरस्कार विजेतादेखि विश्वचर्चित व्यक्तित्वसम्मको जमघटलाई नजरअन्दाज गरिरहेका छौं ।

वस्तुतः संघीय सरकारसमेतको संलग्नताबाट उक्त शिखर सम्मेलनलाई राष्ट्रिय गौरवको कार्यक्रम बनाएर प्रचारप्रसारलाई उचाइमा पुर्‍याउनुपर्छ, विद्वान्हरूको सल्लाह, सुझाव समेटेर लुम्बिनी क्षेत्रलाई अद्वितीय पर्यटकीय गन्तव्य बनाउनुपर्छ ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : फाल्गुन १५, २०८० ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×