कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

महासमिति बैठकमा बेमौसमी बाजा

पाठक पत्र

राजनीतिक दुश्चक्रका कारण नेपाल एसियाकै गरिब राष्ट्र बन्न पुगेपछि स्वाभिमानी नेपालीको शिर निहुरिएको छ भने सहरदेखि गाउँसम्मका जनताको समृद्धि सपना चकनाचुर भएको छ । तथापि हामीसँग ठूला राजनीतिक दलबाट विकासको आशा राख्नुको विकल्प पनि छैन ।

शीर्ष नेताले भने राजनीतिक एजेन्डाबाहेक सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यावरणीय, अन्तर्राष्ट्रियलगायत विषयमा बिल्कुलै ध्यान दिएको पाइँदैन । फागुन ७ देखि १० सम्म चलेको नेपाली कांग्रेसको महासमिति बैठकमा पनि देश र जनताका जल्दाबल्दा समस्या ओझेलमा परेको जगजाहेर छ । ‘नागरिकका मुद्दा छाडी गठबन्धनमा मात्रै बहस’ शीर्षकमा प्रकाशित खबरमा यिनै विषय समेटिएका छन् ।

बैठकका महत्त्वपूर्ण तीन दिन महामन्त्री गगन थापा र पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाबीच दोहोरीमा सीमित रहन पुग्यो । यसपछि हुने प्रतिनिधिसभालगायत अन्य निर्वाचनमा कांग्रेसले दलीय गठबन्धन नगरी एक्लै प्रतिस्पर्धामा उत्रनुपर्ने भन्ने महामन्त्री थापाको प्रस्तावलाई महासमितिले पारित पनि गरिसकेको छ । तथापि चार वर्षपछिको चुनावको विषयलाई लिएर मुलुककै ठूलो र जिम्मेवार दलमा चार दिनसम्म रस्साकसी चल्नु मुलुकको बहुआयामिक विकासको विपरीत छ ।

उक्त विषयलाई नीतिभन्दा राजनीतिक परिस्थितिअनुसार चुनावी रणनीतिको दृष्टिकोणबाट हेरिनु आवश्यक थियो । बौद्धिक जमातले भरिएको सबैभन्दा ठूलो दलको महासमिति बैठकमा मुलुकको चरम गरिबी, आर्थिक मन्दी, भ्रष्टाचार, सहकारी ठगी, माफियाको बिगबिगी, मिटरब्याजपीडितको दुर्दशा, विकासमा ढिलासुस्तीलगायत विषयको एजेन्डा ओझेलमा पर्नुले राजनीतिक स्वार्थबाहेक अरू कुरामा कांग्रेसको ध्यान नगएको प्रस्ट हुन्छ ।

कांग्रेसले चुनावअघि गठबन्धन नगर्ने निर्णय गरेपछि अब केन्द्रीय समितिले प्रत्येक नेतालाई चलायमान बनाई जनताको मन जितेर विकास अभियान थालिहाल्नुपर्छ । सभाहलको टेबुलमा मुड्की बजारेर जितको झ्याली पिट्दैमा जनताले विश्वास गर्लान् र ?
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : फाल्गुन १४, २०८० ०६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×