कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

त्रिवि गर्व गर्नलायक बनोस्

पाठक पत्र

विभिन्न कालखण्डमा पनि लोकप्रियताको अस्तित्व र गौरव बचाउँदै आएको नेपालको पहिलो र पुरानो विश्वविद्यालय यतिबेला समस्यै समस्यामा गुज्रिरहेको छ । देशको लोकप्रिय शैक्षिक धरोहरलाई यस अवस्थामा पुर्‍याउन राजनीतिक दलहरूको हस्तक्षेपकारी भूमिका नै प्रमुख कारण रहेकामा कुनै शंका छैन ।

राजनीतिबाट विशुद्ध रूपमा अलग रहनुपर्ने शैक्षिक निकाय नै राजनीतिको अखडा बन्न पुग्दा र दलहरूले भागबन्डा गरी जस्तोसुकै व्यक्तिलाई व्यवस्थापनको जिम्मा दिँदा शिक्षाका मन्दिरहरू फोहोरी बन्न पुगेका हुन् ।

यस पटक कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयलाई आउँदा दिनमा राजनीतिबाट अलग राख्न खुला प्रतिस्पर्धाबाट त्रिवि उपकुलपति नियुक्त गर्ने प्रतिबद्धता गरेपछि सबैमा आशा जागेको थियो । त्यस क्रममा खुला प्रतिस्पर्धा गराएर दाहालले शिक्षाविद् केशरजंग बराललाई उपकुलपतिमा नियुक्त गरेका छन् ।

नियुक्तिको प्रक्रिया जे जस्तो भए पनि र राजनीतिलाई बिर्सिएर अहिलेको अवस्थाको विश्लेषण गर्ने हो भने यतिबेला त्रिविले एक सक्षम, प्राज्ञिक, दागरहित र कुशल व्यवस्थापक पाएकामा कुनै शंका छैन । बराल त्रिविकै उत्पादन, त्रिविअन्तर्गत पृथ्वीनारायण क्याम्पस, पोखराका सेवानिवृत्त प्राध्यापक र लामो समय पोखरा विश्वविद्यालयका उपकुलपतिको अनुभव सँगालिसकेका देशकै एक सक्षम शिक्षाविद् हुन् ।

यतिबेला उनीसँग अब त्रिविलाई एक सफल र असल व्यवस्थापनयुक्त विश्वविद्यालयमा परिणत गरी देशकै शैक्षिक उन्नयन गराउने शैक्षिक संस्थाका रूपमा विकास गर्नुपर्ने चुनौती रहेको छ ।

आजसम्म शैक्षिक क्षेत्रमा रहँदा बरालले देखाएको सक्षम व्यवस्थापनलाई अब त्रिविमा पनि राजनीतिक गन्ध नआउने गरी लागू गर्नुपर्छ । बरालले त्रिविलाई गर्व गर्नलायक विश्वविद्यालयका रूपमा अब्बल बनाएर इतिहासमा नाम लेखाउने अवसर सदुपयोग गर्न सकून् ।
– नरनाथ पाण्डे, कावासोती–८, नवलपुर

प्रकाशित : फाल्गुन १४, २०८० ०६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×