कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

हाम्रो शिक्षा र व्यवहार

पाठक पत्र

केही दिनअगाडि बिहान ७ बजेतिर म जागिरमा जाँदै थिए । अन्दाजी १५ वर्षकी किशोरी जापानी स्कुल पोसाकमा हतारहतार मेरो अगाडि हिँड्दै थिइन् । सडक किनारमा कफीको खाली प्लास्टिक बोतल देखियो । ती किशोरीले त्यो बोतल टिपिन् र झोलामा हालिन् ।

हाम्रो शिक्षा र व्यवहार

केही पर पुगेपछि झोला खोलिन् अनि भेन्डर मेसिन नजिकै सिसाका खाली बोतल राख्ने ठाउँमा लगेर हालिन् । यो दृश्यपछि मेरो मनमा धेरै कुरा खेले । ठमेलको एउटा रेस्टुरेन्टमा काम गरेर डेरामा फर्किंदै गर्दा दैनिकजसो म कि फ्रुटी कि कोक खाँदै आउँथेँ ।

खाइसकेपछि मैले ती बोतल वा खोललाई कहिल्यै घरमा ल्याएर फोहोर राख्ने ठाउँमा राखिनँ, बाटोमै फाल्थेँ । चाउचाउ, कुरकुरे, पाउरोटी, चक्लेटका खोल त बाटामा कति फालियो कति ! यस्तो मान्छे आज म नेपाल बनेन भन्दै विदेशमा बसेर नेतालाई गाली गर्छु । फेसबुकमा नेपालको झन्डा बोकेको तस्बिर हालेर ‘आई लभ नेपाल’ लेख्छु ।

जापानीहरू आफ्नो घरको भन्दा ज्यादा सार्वजनिक सम्पत्तिको माया गर्छन्, सफा राख्छन् । त्यसैले टोकियो सहर सफा छ, स्वस्थ छ । सिकाइ भनेको त व्यवहारमा उतार्नु पो हो भन्ने सोच्छु । विदेशको इतिहास पाठ्यपुस्तकमा राखेर रटाउने मेरा शिक्षकले व्यावहारिक र नैतिक शिक्षा पढाए तर सिकाएनन् । मेरा कतिपय शिक्षक फोहोर फाल्न हुँदैन भनेर पढाउँथेँ तर चुरोट खाँदै त्यसका ठुटा बाटामा फाल्दै हिँड्थे ।

त्यस्तो वातावरणमा पढेको हुर्किएको मैले यहाँभन्दा बढी सिक्थेँ नै के र ? आज मलगायत कैयौं युवामा विदेशी ग्रिनकार्ड पाउन पाए देशको नागरिकता त्यागेर विदेश भासिने सपनाको खेती हुर्किएको छ । सोच्दै छु– राजनीतिक दलका भ्रातृसंगठनले स्कुलदेखि नै पार्टीको झन्डा बोकाएर मलाई अराजक बनाए । फेसबुकमा लेख्ने मेरो अराजक टिप्पणी यसैको परिणाम हो ।

अब त अधबैंसे उमेर पनि हुन लाग्यो । यो समयसम्म आफूले खाएको फोहोर त सही ठाउँमा नफाल्ने मैले देशका लागि के गरे हुँला ? साँच्चै विदेश छिरेदेखि यहाँको भौतिक विकासको यो महासंग्राम, यहाँका मान्छेको आफ्नो राष्ट्रप्रति जिम्मेवारीबोध र व्यवहार देखेर डाहाभन्दा धेरै प्रायश्चित्तको भारी बोकेर पसिनासँग पैसा साटिरहेछु ।
– सन्तोष सिम्खडा, टोकियो, जापान

प्रकाशित : फाल्गुन १३, २०८० ०४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×