कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

विपिनको केसमा यसरी चुक्यो सरकार

पाठक पत्र

इजरायलबाट हमासले बन्धक बनाएर गाजा लगेका २ सय ४० जनामध्ये ६९ जना चार दिनमा छुटिसक्दा नेपालका विपिन जोशीको अत्तोपत्तो छैन । विपिन हमासको नियन्त्रणबाट कहिले छुट्छन्, अहिलेसम्म प्रस्ट हुन सकेको छैन । विपिनको अहिलेको अवस्थाबारे पनि थाहा छैन ।

इजरायल सरकारले भने विपिन हमासको कब्जामा रहेको जनाएको छ । हमासले इजरायलीका साथै थाइल्यान्ड, फिलिपिन्सलगायत मुलुकका नागरिकलाई छाड्दा विपिन किन छुट्न सकेनन् ? नेपाल सरकारको कूटनीतिक पहल कहाँ पुगेन ? सरकार कहाँ चुक्यो ? अहिलेका यक्ष प्रश्न हुन् यी ।

विपिनका सन्दर्भमा नेपाल सरकार नराम्रोसँग चुकेको छ । हमास–इजराइल युद्धमा हमासविरुद्ध नेपाल सरकारले हत्त न पत्त विज्ञप्ति जारी गर्नु गल्ती भएको छ । आफ्नो नागरिक नछुटाईकनै किन जारी गर्नुपर्‍यो हमासविरुद्ध विज्ञप्ति ?

प्रचण्ड सरकारले यो प्रश्नको उत्तर दिनुपर्छ । थाइल्यान्ड सरकारले हमासलाई चिढ्याउने कार्य गरेको थिएन । त्यसैले थाई नागरिक हमासको नियन्त्रणबाट मुक्त भए । नेपाल सरकारले भने आफ्नो एक नागरिकलाई पनि छुटाउन सकेको छैन ।

नेपाल सरकारले यस्तै भूल रुस–युक्रेन युद्धमा पनि गरेको थियो । नेपालले युद्ध सुरु भएलगत्तै रुसको विरोधमा विज्ञप्ति जारी गरेको थियो जबकि भारतले दुवै पक्षलाई चिढ्याउने काम गरेन । उल्टो रुसलाई फकाएर ठूलो मात्रामा सस्तो मूल्यमा इन्धन किनेर लाभ लियो । सरकार किन कूटनीतिमा चुकिरहेको छ ?

अब यसबारे सर्वदलीय बैठकमा गम्भीर बहस हुनुपर्‍यो ताकि आगामी दिनमा नेपालको कमजोरी प्रदर्शन नहोस् । अहिलेलाई विपिन जोशीको रिहाइको पहलमा सफलता मिलोस् ।
– गोपाल देवकोटा, जोरपाटी, काठमाडौं

प्रकाशित : मंसिर १३, २०८० ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×