कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

हचुवामा टीकाको साइत निर्धारण

पाठक पत्र

पञ्चाङ्ग निर्णायक समितिले दसैंको टीकाको साइत सुनाएर ज्योतिष पढेकालाई लाजमर्दो बनाएको छ । बिहान ११ बजेर २ मिनेटमा धनु लग्न, कुम्भ राशि बनाएर साइत सम्प्रेषण गरिएको छ । एकातिर शनि चन्द्र योग र अर्कोतिर सूर्य मङ्गल बुधको योग पारेर साइत पारिएको छ ।

हचुवामा टीकाको साइत निर्धारण

एक त दसैंको टीका ग्रहण दिउँसो गर्नै हुँदैन । धर्मसिन्धु वा निर्णयसिन्धुमा स्पष्ट लेखिएको छ– इषत्सन्ध्यामतिक्रान्तः किञ्चिदुद्भिन्न तारकः । विजयो नाम लोकायां सर्व कार्यार्थ सिद्धि दः । अर्थात् सन्ध्याकालमा जब तारा उदय हुन्छ तब विजया दशमी सार्थक हुन्छ, किनकि अपराह्न अपराजिता अर्थात् सो दिन अपराजिता देवीको अपराह्न (१२ बजेपछि) मा पूजा गरेर देवीको विसर्जन गरेपछि देवीको प्रसादका रूपमा टीका ग्रहण गरिने हुँदा टीका सन्ध्याकालमा गर्नु भनी उल्लेख गरिएको हो ।

दसैंमा टीका बनाउँदा अधिक रातो अबिरको प्रयोग हुन्छ, दिनमा रातो टीका लगाउँदा मङ्गल ग्रहको अधिकतम करेन्ट प्रवाह हुन गई अनेक प्रकारका दुष्परिणाम आउन सक्ने हुनाले साँझमा टीका ग्रहण गर्नु गराउनु भनिएको हो । अर्को श्लोकमा पनि भनिएको छ– आश्विनस्य सितेपक्षे दशम्याम् तारकोदय ।

स काले विजयो ज्ञेया सर्वकायार्थ सिद्धये । यसले पनि आकाशमा तारा उदय भएपछि मात्र टीका ग्रहण गर्नु गराउनु भनी निर्देश गरेको छ । साथसाथै, उदये दशमी किञ्चित्सम्पूर्णैकादशी यदि । श्रवणर्क्ष यदा काले सा तिथिर्विजयाभिदम् । अर्थात् उदयमा अलिकति दशमी छ र अरु सम्पूर्ण एकादशी भए पनि श्रवण नक्षत्र पाइए सोही दिन टीका ग्रहण गर्नु, श्रवणले रहित विजया हुदैन भनिएको छ । यसो हुदा कात्तिक ६ गते श्रवण नक्षत्र पारेर टीका ग्रहणको साइत गर्नु उत्तम हुन्छ ।

किन कि श्रवण नक्षत्रमा चन्द्रमा सेता वर्णका हुन्छन्, तसर्थ रातो टीका लगाए पनि चन्द्रमाले सेतै रङ प्रक्षेपण गर्छ भन्ने अर्थले त्यसो भनिएको हो । अलिकति धर्मशास्त्र र ज्योतिष पढेको जो कोहीले बुझ्न त्यति गाह्रो छैन । धर्म तथा निर्णयसिन्धुले नवमीमा श्रवण नक्षत्र पाइए साँझमा र एकादशीमा श्रवण पाइए बिहानको साइतमा टीका लगाउनु भनेको छ ।

तर समितिले दिएको समय धनिष्ठा नक्षत्रको तेस्रो पाउ अर्थात् गे अक्षरतिर पुर्‍याएको छ । यस्तो साइतमा टीका लगाउँदा जनतालाई कष्ट, विद्रोह, लडाइँ झगडा, मरिमराउ पनि हुन सक्छ । कमसे कम समितिमा सरकारले गणित र धर्मशास्त्र जानेको मान्छे लगेको भए यस विषयमा बहस छलफल आदि हुने थियो । कुनै नियमलाई आधार नबनाई आफ्नो मनोमानी र हचुवाको भरमा समितिले साइत निकालेको छ, यसमा सबैले होसियारी अपनाउनु राम्रो हुनेछ ।

यस्तो बेला अक्षतामा केसरी बढी हालेर रातो अलिकति मात्र प्रयोग गर्नुपर्छ, अथवा पहेंलो टीका मात्र ग्रहण गर्नु यथोचित हुनेछ । पात्रो बनाउँदा सङ्क्रान्ति बिगार्ने (पोहोर असोज ३१ छ, यसपल्ट ३० छ) र टीकाको साइत पनि दिन नसक्ने समितिलाई सरकारले किन राखिराख्छ ? आश्चर्यको विषय भएको छ ।
– ज्यो. रत्ननिधि रेग्मी 'शुक्राचार्य’
महाकवि देवकोटा आश्रम, काठमाडौं

प्रकाशित : कार्तिक २, २०८० ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×