कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

सरकार अपराधीको संरक्षक बन्न मिल्छ ?

पाठक पत्र

बिहीबार कान्तिपुरमा प्रकाशित ‘खुँडा हानेर मान्छे मार्नेलाई माफी र अबिर जात्रा, पीडित परिवार त्रासमा’ शीर्षकको समाचारले रुवायो । नेपालगन्जका चेतन मानन्धरको खुँडा प्रहार गरी मार्ने गुन्डा नाइके रिगल अर्थात् योगराज ढकालले हत्या गरेको प्रमाणबाटै अदालतले सर्वस्वसहित जन्मकैद तोकेको थियो । तर तोकेको सजाय पूरा बस्न १२ वर्ष अर्थात् ६० प्रतिशत सजाय बाँकी छँदै सरकारले संविधान दिवसको बहानामा माफी दियो ।

खुँडा प्रयोग गरेर चेतनलाई हत्या गरेको अदालतले प्रमाणित गरिसकेको अवस्थामा उचित कारणबिना ‘गुन्डा नाइके’ लाई माफ दिनुको औचित्य के ? बिनाऔचित्य हठात् गरिएको यो माफीको एउटै कारण योगराज ढकाल (रिगल) कांग्रेस तरुण दलमा सम्बद्ध भएकै कारण हो । उनको रिहाइको जनस्तरबाटै व्यापक आलोचना र विरोध भइरहेको छ । तर राजनीतिक दल कांग्रेसको आडमा गरिएको यो रिहाइको सरकारले भने प्रतिरक्षा गरेको छ । सरकारले अन्यायमा परेकालाई न्याय दिनुपर्नेमा कानुनको छिद्र खोजेर पीडकलाई जेलमुक्त गराउनु अमानवीय घटना हो । सरकारले नै माफ गरेर विजय जुलुससहित अबिरले जात्रा गरेको देख्दा पीडित परिवारको घाउमा नुनचुक दलेको छ ।

जन्मकैदको सजाय भुक्तान गरिरहेको हत्यारालाई अबिर–माला लगाएर स्वागत गर्दै नाचगान गर्ने परिस्थिति बनेपछि सोझा, सीधा र अन्यायमा परेका नागरिकले राज्यबाट कसरी न्याय पाउने अपेक्षा गर्ने ? न्यायालयले त अपराध गरेकै कारणले सर्वस्वसहित जन्मकैदको सजाय तोकेको हो । आफन्त गुमाए तापनि हत्याराले सजाय पाएपछि पीडित परिवारले चित्त बुझाएकै थिए । तर अपराधीले ९० प्रतिशत कारागार सजाय भुक्तान, व्यवहार परिवर्तन, बिरामी, वृद्धावस्थाजस्तो एउटा पनि पूर्वाधार नभइकन संविधान दिवसको मौका छोपेर गरिएको माफी कत्तिको मनासिब छ ? के संविधान दिवस यस्तै अनुचित र औचित्यहीन माफ दिनका लागि हो ? कांग्रेसका कार्यकर्ता र समर्थक भएकै कारण जस्तोसुकै अपराधीलाई पनि सरकारले माफ गर्नुपर्ने कानुनमा छ ? यस्तो अमानवीय कार्यमा संलग्न व्यक्तिलाई छुटाउन सरकारले सिफारिस गर्‍यो भने कांग्रेसको छवि भोलि कस्तो रहला ?
– गंगाराज अर्याल, पाणिनि–८, पाली, अर्घाखाँची

कांग्रेस देउवाको बुढौलीपनको सिकार नबनोस् हालै सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवाको बुढौलीपन र स्मरण शक्तिका कारण मुलुक र पार्टीलाई पार्ने प्रभावका विषयमा टिप्पणी हुन थालेको छ । देउवा आफैंले सञ्चालन गरेको केन्द्रीय समिति बैठकमा आफ्ना केन्द्रीय सदस्यको अनुहार र नामसमेत बिर्सेको प्रत्यक्ष देख्न सकिन्थ्यो । केन्द्रीय सदस्यका नाम टिपेर बोल्न दिए पनि उनी बेलाबेलामा अड्किएको र बोल्ने व्यक्ति को र कहाँबाट आएको जस्ता प्रश्न गरिरहेको पाइन्थ्यो ।

आफ्ना केन्द्रीय सदस्यका विषयमा छेउमा बसेका पदाधिकारीलाई सोधिरहन्थे । सामाजिक सञ्जालमा देखिएको देउवाको शारीरिक अवस्था र गतिविधिले देउवा अशक्त मात्र होइन, स्मरण शक्तिका हिसाबले पनि निकै कमजोर देखिए । पाँच मिनेटअघि आफैंले बोलाएको केन्द्रीय सदस्यको नामसमेत उनले बिर्सिएको देखियो । आज केन्द्रीय सदस्यको नाम बिर्सेका छन् । भोलि मन्त्रीहरूकै नाम बिर्सेलान् । पर्सि मुलुकको इतिहास, भूगोल र महत्त्वपूर्णर् तिथिहरू बिर्सेलान् । उनको यस्तो गतिविधिले देशकै सबैभन्दा ठूलो र पुरानो पार्टी कसरी सञ्चालन हुन सक्ला ? पुनः प्रधानमन्त्रीको पदमा निर्वाचित भएमा मुलुकको शासन, प्रशासन कसरी अघि बढ्ला ?

उमेर अनुसार मानिसमा स्मरण शक्ति क्षय हुनु, शारीरिक दुर्बलता हुनु स्वाभाविकै हो । देउवामा मात्र होइन अमेरिकी राष्ट्रपति वाइडेनमा पनि यस्तो समस्या देखिएको छ । वाइडेन ८१ वर्षका भए भने देउवा ७८ वर्षका भएका छन् । यद्यपि सबैलाई बिसर्ने रोग भने लाग्दैन । डा. गौरी शंकरलाल दासलाई भर्खरै काठमाडौं महानगरपालिकाले अभिनन्दन गर्‍यो । उनको उमेर एक सय वर्ष भएको छ । तर उनको स्मरण शक्ति कमी भएको देखिँदैन । हालै दिवंगत भएका १०३ वर्षका सत्यमोहन जोशी र राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्मरण शक्तिमा पनि कमी भएको देखिँदैनथ्यो । कुरा के हो भने सबैलाई यो बिर्सने रोग (अल्जाइमर्स) लाग्दैन । तर लागेमा उपचार गरेर ठीक हुनुपर्छ । ठिक भएन भने आफ्नो स्वार्थका लागि क्षमताभन्दा बढीको जिम्मेवारी लिनु उपयुक्त हुँदैन । व्यक्तिको स्वार्थका लागि मुलुकको भविष्य अन्धकारमा पार्न सकिँदैन । त्यसैले स्मरणशक्ति कम भएर अप्ठेरो भएपछि नेतृत्व युवापुस्तालाई सुम्पनुपर्छ । नेतृत्व परिवर्तन नगरेमा कुनै पनि पार्टी र मुलुक अघि बढ्न सक्दैन ।

एकातिर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जस्ता ज्यादै प्रचुर स्मरण क्षमता भएका प्रधानमन्त्री छन् । जसले नेपालको क्रिकेट खेलाडी सन्दीप लामिछाने चर्चामा आउनुअघि नै उनको नाम मञ्चबाट उद्घोष गरे । नेपालमा कांग्रेस पार्टीका सभापति एवं भावी प्रधानमन्त्री (गठबन्धनको सम्झौता अनुसार भएमा) देउवाले पाँच मिनेटअघि आफैंले बोलाएको नाम बिर्सने गरेका छन् । मोदी लुम्बिनी भ्रमणमा आउँदा र उनले भाषण गरिरहँदा पनि देउवाले घुर्दै र्‍याल चुहाएको दृश्यले मुलुकले नै लाज मान्नुपर्ने अवस्था आयो । देउवाको बोली १० प्रतिशत नेपालीले पनि बुझ्न सक्दैनन् । उनको हिँडाइको चाल कस्तो छ ? सबैले देखैकै कुरा हो ।

आफ्नै शरीर र आफ्नै स्मरणले साथ दिएको छैन । तर पनि बेलाबेलामा फेरि पनि प्रधानमन्त्री बन्ने इच्छा राख्न उनले छाडेका छैनन् । के उनको यो इच्छालाई उचित मान्न सकिन्छ ? यो जायज इच्छा हो ? भनेर महत्त्वाकांक्षा राख्नु के जायज छ ? प्रधानमन्त्री हुने आशक्तिमा देउवाले नबुझे पनि उनकी श्रीमती, परिवार र नजिकका सल्लाहकारले बुझ्नुपर्ने हो । देउवाले अब अभिभावकको भूमिका निर्बाह गर्नु नै पार्टी र मुलुकको हित हुनेछ । तसर्थ २०८२ मा आफूले पाउने प्रधानमन्त्री पद गगन थापा वा विश्वप्रकाश शर्मालाई सुम्पेमा पार्टीको भोट बैंक पनि बढ्छ । देउवाको छवि र प्रतिष्ठा पनि बाँच्छ । अन्यथा नेतृत्व उनकै हातमा गयो भने व्यक्तिगत रूपमा ६ पटक प्रधानमन्त्री भएको नाम त लेखाउलान्, तर पार्टी र देशलाई भने क्षतिबाहेक केही हुँदैन ।

पार्टी कार्यकर्ताको देउवाप्रतिको आशक्ति र उनको नेतृत्वमा आउने चुनाव नजितिने प्रस्ट छ । निर्वाचन जित्न र पार्टीलाई जनभावना अनुसार सञ्चालन गर्न कांग्रेसका युवाको हातमा नेतृत्व जान जरुरी छ । अब कांग्रेसको अवस्था सुधार्न देउवा, शेखर लगायतका पुराना पुस्तालाई सल्लाहकारका रूपमा राख्नुपर्छ । पुराना पुस्ताले वर्षौंसम्म पद नछोड्दा गगन र विश्वहरूको समेत राजनीतिक भविष्य जोखिममा पर्नेछ । कांग्रेसका सबै युवापुस्ताको पार्टीप्रतिको वितृष्णा पनि बढेर जानेछ । अब दाइभाउजूहरूले के भन्छन् होइन, मुलुकको हित र आफ्नो राजनीतिक भविष्य सोचौं । पार्टी नेतृत्वलाई सच्याउँदै आफूहरू अघि आउने प्रयास युवापुस्ताले नगरेसम्म कांग्रेस वा पुराना दलको भविष्य अन्धकार छ ।
– गोपाल देवकोटा, गोकर्णेश्वर–८, जोरपाटी

प्रकाशित : आश्विन १५, २०८० ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×