ओलीको बोली

पाठक पत्र

संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार संसद्मा भाषण गरे । संसद्मा उनको सम्बोधन गर्ने कार्यतालिका पहिले नै सार्वजनिक भइसकेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा संसद्मा आफूले छताछुल्ल पार्ने कुरा ओलीले केही दिनअघि नै सार्वजनिक गरिसकेका थिए । यसर्थ उनको सम्बोधनप्रति आम नागरिकको अपेक्षा वर्तमान राजनीतिक परिवेशको भन्दा छुट्टै रहेको थियो । तर ओलीले सिङ्गो समाजलाई नै ढाँटे ।

उनले आफ्नो करिब दुईघण्टे भाषणमा भुटानी शरणार्थीका बारेमा गुह्य कुरा खोल्नु त कताकता उल्टै यो प्रक्रिया आफूले धेरै पहिलेदेखि नै थाहा पाएको घुमाउरो जानकारी दिए । आफ्नो नेतृत्वको सरकारका बेलामा यसबारेमा केकस्ता समिति बने त्यसको कुनै जानकारी आफूलाई नभएको समेत ओलीले संसद्मा जानकारी गराए ।

मिडियामा आएका कुरा सत्य हुन् भने उनकै नेतृत्वको सरकारमा गृहमन्त्री रहेका रामबहादुर थापाले नै बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी प्रकरणसम्बन्धी छानबिन गर्नका लागि मन्त्रीस्तरीय बैठकबाट त्यस्तो समिति गठन गरेका हुन् । तर ओलीको भनाइलाई आधार मान्ने हो भने त्यो कुरा झुटो हो । ओलीले सम्बोधनका क्रममा नक्कली भुटानी शरणार्थीका बारेमा बोलेका विषय करिब यति नै थिए ।

यसर्थ ओलीको भाषण सुनेर त्यसमा समर्थन गर्नलायक कुनै कुरा पनि भेटिएन, बरु उनले जुन विषयमा प्रस्तुत हुन्छु भनेका थिए । त्यो विषयमा यथेष्ट समय नदिएकामा उनको सम्बोधनको विरोध गर्नलायक देखिए ।

ओलीले सम्बोधनका क्रममा अधिकांश समय सरकारले गएको ५ गते ल्याएको नीति तथा कार्यक्रमको विरोधमा खर्चिए । उनले जसरी सरकारले ल्याएको नीति तथा कार्यक्रममा एउटा बुँदालाई अर्को बुँदाले खण्डन गरेको आरोप लगाएका थिए । त्यसै गरी आफूले गरेको सम्बोधनका क्रममा पनि त्यही प्रक्रिया दोहोर्‍याए ।

उनले कतै सरकारको नीति तथा कार्यक्रमलाई आफ्नो नेतृत्वले सरकाले ल्याएको नीति तथा कार्यक्रमको कपी भनेका छन् भने कतै त्यसको आक्रोशात्मक आलोचना गरेका छन् । यदि आफ्नै पालाको सरकारको नीति तथा कार्यक्रमको कपी भएको भए त्यसको विरोध गर्नु भनेको तत्कालीन आफ्नै सरकारले ल्याएको नीति कार्यक्रमको विरोध गरेको देखिन्छ ।

यदि त्यसो हो भने उनले सरकारमा हुँदा आफूले गरेका कामलाई नै त्यो सत्तामा रहुन्जेल मात्र ठीक थियो, अहिले त्यो सबै गलत छ भनेर प्रमाणित गर्नुपर्छ । होइन भने एउटै काम सत्तामा हुँदा ठीक र सत्ताबाहिर हुँदा बेठीक देख्ने प्रवृत्तिलाई तिलाञ्जली दिन सक्नुपर्छ ।

बरु उसले आफ्नो नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम थियो भने वर्तमान सरकारलाई बधाई पो दिनुपर्थ्यो तर उनले कपी पनि भन्ने र विरोध पनि गर्ने दोहोरो चरित्र देखाएर उनको मानसिक अवस्थामा नै प्रश्न गर्नुपर्ने ठाउँ पो खडा गरिदिएका छन् ।
– सुजन देवकोटा, गोरखा

प्रकाशित : जेष्ठ १२, २०८० ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्

लिग उपाधि होड त्रिकोणात्मक

सहिद स्मारक लिगमा मनाङ मर्स्याङ्दीको लगातार सात खेल बराबर, टोलीलाई रेलिगेसन तनाव
हिमेश

काठमाडौँ — यसपल्ट सहिद स्मारक लिगको सबैभन्दा प्रमुख विशेषता हो, शीर्षस्थानमा उक्लेयता प्रत्येक टिमले राम्रो प्रदर्शनका लागि संघर्ष गर्नु । चर्च ब्वाइजको कथा पनि यही रह्यो । लिगको २१ औं चरण समाप्त हुँदा चर्च ब्वाइज नै पहिलो स्थानमा रहने छ । तर, टोलीले पछिल्ला दुई खेलमा लगातार दुई बराबरी खेलेको छ ।

बिहीबार मनाङ मर्स्याङ्दीबीचको खेल गोलरहित रह्यो । यो खेल जितेको भए चर्च ब्वाइजले ५ अंक अन्तरले अगाडि रहन सक्थ्यो ।

बराबरीले यो अग्रता फेरि तीनै अंकमात्र रह्यो । यो नतिजाले के स्पष्ट पारेको छ भने अब लिग उपाधि होड त्रिकोणात्मक भएको छ । त्यसमध्ये शीर्षमा रहेको चर्च ब्वाइज त भइहाल्यो, त्यसपछि दुईपल्टको डिफेन्डिङ च्याम्पियन मछिन्द्र र जावलाखेल युथ रहेका छन् । मछिन्द्रको ३५ अंक छ भने जावलाखेल एक अंकले पछाडि छ । बिहीबार अर्को खेलमा चौथोमा रहेको सातदोबाटो फ्रेन्ड्सको हातबाट नमीठोसँग पराजित रह्यो । टोलीको उपाधि चुनौती समाप्त जस्तै भएको छ ।

सातदोबाटोसँग २९ अंक छ । लिगमा ५ चरणका खेल बाँकी छँदा चर्च ब्वाइजले संकटा, एपीएफ, जावलाखेल, थ्रीस्टार र खुमलटारको सामना गर्नेछ । मछिन्द्रले आर्मी, सातदोबाटो, पुलिस, हिमालयन शेर्पा र मनाङको चुनौती बेहोर्ने छ । जावलाखेलले भने एपीएफ, आर्मी, चर्च ब्वाइज, सातदोबाटो र थ्रीस्टारविरुद्ध खेल्नेछ । लिगको नतिजा प्रवृत्ति अहिले जस्तै रहने हो भने उपाधि होड अन्तिम दिनको खेलसम्म चल्न सक्नेछ ।

‘हामी उपाधि हकदार छौं’

चर्च ब्वाइजका प्रशिक्षक बालगोपाल महर्जन एक अर्को बराबरीमा निराश रहे । तर, उनको दाबी थियो, ‘हामी उपाधिका लागि हकदार नै छौं र अन्त्यसम्म लिग जित्नका लागि प्रयासरत रहने छौं । मैले सुरुदेखि भन्दै गरे जस्तै चर्च ब्वाइजको आक्रमण अलि कमजोर छ र यसैले समस्या उत्पन्न गरिरहेको छ ।’ प्रशिक्षक महर्जनले फेरि एकपल्ट रेफ्रीको निर्णयबारे विरोध गरे । खेलका क्रममा प्रकाश नाथ र उनका सहायकको चर्च ब्वाइजको बेञ्चसँग दोहोरो तनाब जारी रह्यो ।

महर्जनले थपे, ‘रेफ्रीको निर्णयमा धेरै कमजोरी छन् र हामीले लगातार गुनासो गरिरहेका छौं । यसको पनि कारण भनेको त्यही हो, रेफ्रीले पनि लगातार खेलाइरहनुपरेको छ । यसले गर्दा उनीहरू थाकेका छन् । थकाइकै कारण रेफ्रीको निर्णयहरू कमजोर भइरहेका छन् ।’ मनाङका लागि यो बराबरी उत्तिकै नमीठो किन रह्यो भने टोलीको यो लगातार सातौं बराबरी हो । एक समय लगातार ६ खेल गुमाएको मनाङले त्यसलगत्तै एक खेल जितेको थियो । त्यसयता भने मनाङ जित निकाल्न संघर्षरत छ । टोलीले लगातार सात खेलबाट सातै अंकमात्र बटुल्न सकेको छ । ‘हामी जितको पूर्ण हकदार थियौं, तर ३ अंकबाट वञ्चित रह्यौं,’ मनाङका मुख्य प्रशिक्षक विष्णु गुरुङले भने ।

खेलमा मनाङकै वर्चस्व थियो । गोलको सबैभन्दा नजिक पनि मनाङ नै पुगेको थियो । दोस्रो हाफमा कोफी टिमोथीको प्रहार पोस्टमा लागेर फर्केको थियो र मनाङलाई भाग्यले साथ नदिएको नै देखियो ।

यससँगै मनाङ २५ अंकमै सीमित रह्यो । लिगले १५ औं चरण छुँदा मुख्य प्रशिक्षकमा गुरुङ आएका थिए । त्यसयता उनी पहिलो जितका लागि संघर्षरत छन् । उनले मनाङसँग दुई वर्षको अनुबन्ध गरेको छ । उनको नजर अर्को सिजनको लिगमा छ । उनले आफ्नो योजना सुनाए, ‘यसपल्ट टिम बनाउँदा केही समस्या भएको छ । अर्को सिजन यी सबै समस्या समाधान गर्नेछौं । क्लब व्यवस्थापनले राम्रो टिम बनाउने भनेको छ, अबको लिगमा हामी च्याम्पियन हुने टिम लिएर आउने छौं ।’

फ्रेन्ड्सको सानदार जित

रेलिगेसनबाट बच्न लगातार संघर्ष गरिरहेको फ्रेन्ड्सले बिहीबारको अर्को खेलमा सानदार जित निकालेको छ । यस क्रममा फ्रेन्ड्सको सिकार बनेको छ सातदोबाटो । सातदोबाटोमै भएको खेलमा फ्रेन्ड्सका लागि टोरिक जेब्रिनले दुई गोल गरे भने रफिक इमानु र प्रकाश बुढाथोकीको नाममा एक–एक गोल रह्यो । आफ्ना प्रमुख खेलाडी घाइते रहेको हुनाले सातदोबाटो समस्यामा छ । टोलीको यो लगातार दोस्रो हार हो । यो जितपछि फ्रेन्ड्सको २४ अंक भएको छ । टोली १२ औं स्थानमा उक्लेको छ ।

फ्रेन्ड्सले चार चरणपछि रेलिगेसन क्षेत्र छाडेको छ । संकटा भने पहिलो पटक रेलिगेसन क्षेत्रमा झरेको छ । संकटाको २३ अंक छ । टोलीमाथि चर्को दबाब सिर्जना भएको छ । खुमलटार अन्तिम स्थानमा छ । टोलीको खातामा २१ अंक छ । मनाङ मर्स्याङदीसम्म पनि रेलिगेसन तनावमा रहेको छ । मनाङ ११ औं स्थानमा छ । टोलीको पछाडि तीन टिममात्रै छन् । मनाङभन्दा अगाडि पुलिस छ । पुलिसको पनि समान २५ अंक छ ।

आजका खेल

पुलिसविरुद्ध खुमलटार

हिमालयनविरुद्ध थ्रीस्टार

प्रकाशित : जेष्ठ १२, २०८० ०८:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×