विभेद किन ?

पाठक पत्र

मसमेत कार्यालयका केही कर्मचारी साथीहरू विदेश भ्रमणबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा आगमन कक्षमा लाइन लागेर देखाउनका लागि हातमा कोरोनाको क्यूआर कोडको प्रिन्ट लिएर उभिएका थियौं । अगाडि तीन जना साथी थिए ।

हाम्रो पालो आएपछि कोड हेर्ने कर्मचारीले अगाडिका साथीहरूलाई कोड नहेरीकनै पठाए । म पनि उनीसँगै पछि लाग्न खोजेँ तर ती कर्मचारीले मलाई रोके र कोड देखाउन भने । म पनि उहाँहरूसँगै हो मात्र भनें ।

म उहाँसँग कुरा गर्न चाहिनँ र हातमा लिई राखेको प्रिन्ट देखाएँ अनि म अगाडि बढेँ । लगेज लिने ठाउँमा ती साथीहरूलाई सोधेँ कि तपार्इंहरूले ती कर्मचारीलाई चिन्नुभएको हो कि तपाईंहरूको कोड नहेरीकन जान दिनुभएको हो ? ती साथीहरूले चिनेको होइन भन्ने जवाफ दिए ।

अनि म सोच्न थालेँ कि मसँग किन कोड मागिएको होला । हामीले सबै जना अफिसको लोगो भएको ज्याकेट लगाएका थियौं । यसो हेर्दा हाम्रा लुगामा खासै केही फरक थिएन तर एउटा फरक रहेछ त्यो थियो अनुहारको । मेरो अनुहार मधेशी अनुहार थियो ।

सायद त्यसैले होला ती पहाडे अनुहारका कर्मचारीले त्यस्तो फरक व्यवहार देखाएका थिए ।
– कमलेश ठाकुर, कालिकामाई–५, पर्सा

प्रकाशित : जेष्ठ १०, २०८० ११:४८
प्रतिक्रिया
पठाउनुहोस्

रास्वपाले गर्‍यो संसदीय छानबिनको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमै रास्वपाका सभापतिसमेत रहेका रवि लामिछानेले समय लिएर बोल्दै यो प्रकरण निष्पक्ष अनुसन्धान र अभियोजनमा आशंका उत्पन्न भएकाले संसदीय छानबिन आवश्यक रहेको बताए ।

उनले प्रकरणमा जोडिएका व्यक्तिहरुलाई सोधपुछसमेत नहुनुले गम्भीर आशंका उत्पन्न भएको उल्लेख गरे ।

'यो काम अँध्यारो कोठा र गल्लीमा भएको भएको थिएन, बालुवाटार र सिंहदरबारमा बसेकाहरूबाट भएको कुरा आएका छन् । अब संसदीय विशेष समितिको गठन गरेर छानबिन गर्नुपर्छ । ज-जसको आएको छ उनीहरुलाई सोधपुछ हुनपर्‍यो। सोधपुछका लागि एक पटक बोलाउन नहुने के हो,' लामिछानेले भने ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरण मिलाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद खनालले कुनै बहाना नगरी उक्त प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न माग गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त प्रकरणको छानबिन भ्रष्टाचारविरुद्धको फिल्मको ट्रेलर भएको र पूरै फिलिम हेर्न बाँकी रहेको भन्ने अभिव्यक्ति उल्लेख गर्दै सांसद खनालले संलग्न सबैलाई कारबाही गर्न माग गरेका हुन् ।

'भुटानी शरणार्थी प्रकरणमा ब्लकबस्टर फिलिम नै हेर्न पाइन्छ भनेर प्रधानमन्त्रीले देखाउनु भएको ट्रेलरको आधारमा उत्साहित भइयो । तर, यो फिलिमको दृश्य यति काँटछाँट गरिँदै छ कि फिलिम त साह्रै बकबास हुन थालेको छ,' सांसद खनालले माग गरे, 'रास्वपाले यो फिलिम हेरेर बस्दैन । आईजीपी, पूर्व सचिव, पूर्वमेयर र पूर्व प्रधानमन्त्रीको सचिवको समेत नाम जोडिएको छ । नो इफ नो बट सबैमाथि तुरुन्त कारबाही र छानबिन होस् ।'

प्रकाशित : जेष्ठ १०, २०८० ११:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×