प्रधानमन्त्रीको भारत भ्रमणमा के छन् एजेन्डा ?

पाठक पत्र

लिम्पियाधुरा–लिपुलेकमा भारतीय कब्जा उस्तै छ । महाकालीमा भारतले एकतर्फी तटबन्ध बनाउँदै सीमा नदी मिच्ने काम चलिरहेकै छ ।

कालापानीमा भारतीय एसएसबीले बंकर बनाउन थालेकोमा नेपाली जनतासँग ताजा झडप पनि भएको छ । प्रधानमन्त्रीको भारत भ्रमणमा यी एजेन्डाहरू छन् कि छैनन् ? राजनीतिक रूपमा हामी स्वतन्त्र छौं, यो अनुभूति जनतालाई पनि दिलाउनु सरकारको कर्तव्य हो ।

सीमा र स्वाभिमानमा सम्झौता गरेर आर्थिक सहयोगका लागि मात्र भारत भ्रमणमा जान जरुरी छैन । भारत उपरोक्त एजेन्डाहरूमा छलफल गर्न तयार हुँदैन भने प्रधानमन्त्रीले भारत भ्रमण कार्यक्रम रद्द गरे हुन्छ ।
– सीएन खड्का, काठमाडौं

प्रकाशित : जेष्ठ ९, २०८० ११:४२
प्रतिक्रिया
पठाउनुहोस्

रूढिवादमा सुधार कठिन

पाठक पत्र

राजधानी काठमाडौंको सडकमा दायाँबायाँ हेर्दै एकाध घण्टा हिँड्ने हो भने धामीधाँक्री, ज्योतिषी र फुकफाकेहरूले ब्यानर टाँगेर धन्दा चलाइरहेका ठाउँहरू सजिलै भेटिन्छन् ।

सहरमा त यो हाल छ भने गाउँटोलमा यिनको दबदबा कति होला भनेर सजिलै अनुमान लगाउन सकिन्छ । यो समाजमा आज पनि आधुनिक र वैज्ञानिकतामा आधारित उपचार गरिने अस्पताल जान छाडेर धामीझाँक्रीको लाइन लाग्ने झारफुक तथा भाग्यवादमा विश्वास गर्ने मानिसको जमात भएकैले रूढिवादग्रस्त परिवेश बाँकी रहेको हो ।

सस्तो र सजिलो उपचारका नाममा अपनाइने अमानवीय र अवैज्ञानिक हर्कतका कारण उपचारकै क्रममा रोगीको मृत्यु या घाइते भएका घटनाहरूका बारेमा सामाजिक सञ्जालहरूमा समाचार आइरहेको भए पनि मानिसहरूले यो विषयमा गम्भीर भएर नसोच्नु भनेको उदेकलाग्दो अवस्था हो ।

यस्ता अमानवीय हर्कत र रूढिवादको जरा र हाँगाबिँगालाई निमिट्यान्न पार्न लाग्नुपर्ने जिम्मेवार नेताहरू नै ज्योतिष वा स्वामीहरूको निर्देशनबिना एक पाइला अघि सर्दैनन् भने यिनले देशमा सञ्चालित शिक्षा एवं विज्ञानको विकासका लागि केही सुधारका योजना ल्याउलान् भनेर आसै गर्न सकिने अवस्था छैन ।

आम मानिसले रचनात्मक ढंगले जब सोच्न सक्छन् बल्ल ठीक बेठीक के हो निष्कर्षमा पुग्न सक्छन् । यही घोकन्ते र अर्थ न बर्थका शिक्षाले त अझै भाग्यवादी र रूढिवादी समाजकै निरन्तरता पछ्याउने हो । दुःखका साथ भन्न करै लाग्छ । झारफुकेहरूको अतिक्रमण यसपश्चात् पनि सजिलै अन्त्य हुने अवस्था छैन ।
– कृष्ण कुम्पुरे, आदमटार, धादिङ 

प्रकाशित : जेष्ठ ९, २०८० ११:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×