राष्ट्रपति सबैका साझा- सम्पादकलाई चिठी - कान्तिपुर समाचार

राष्ट्रपति सबैका साझा

पाठक पत्र

कांग्रेसका अनुभवी नेता रामचन्द्र पौडेल नेपालको तेस्रो राष्ट्रपति बन्न सफल भए । ०४६/४७ को राजनीतिक परिवर्तनपछि विभिन्न उच्च ओहोदामा बसेर काम गर्दा पौडेलमाथि भ्रष्टाचारको आरोप लागेको पाइँदैन ।

यद्यपि सत्रौं पटकसम्म प्रधानमन्त्रीको प्रतिस्पर्धामा सफलता नपाउँदा पौडेल विक्षिप्त पनि बने । लामो समयसम्म हन्डर खानुपरे पनि राष्ट्रप्रमुख हुन पुग्दा उनको खुसी चुलिएको छ । विभिन्न राजनीतिक दलबीचको टकराव, पार्टीभित्रको खिचातानी, भागबन्डाको संस्कृतिले मुलुक र समाजमाथि निरन्तर प्रहार थपिरहेको छ भने दुई छिमेकीसँगको असफल कूटनीतिका कारण हामी घरको न घाटको बन्ने अवस्थामा छौं । विभिन्न शीर्षनेतामा परराष्ट्र नीतिबारे स्पष्टता नहुँदा शक्तिराष्ट्रबाट आउनेहरूले व्यक्तिपिच्छे कानेखुसी गर्ने, राजनीतिक वातावरण धमिल्याएर खैलाबैला मच्चाउनसम्म भ्याए ।

यता विकास कार्यको कछुवा गति, ठेकेदारको मनोमानी, अनियन्त्रित भ्रष्टाचार, सामाजिक अपराधका कारण मुलुक आक्रान्त बनेको छ, साथै आर्थिक दुरवस्थाले सीमा नाघेको छ । तसर्थ अरूको दुःखदर्द बुझ्ने, घरपरिवार, समाजको कथाव्यथा महसुस गर्ने, कसैमाथि विभेद नगर्ने, मुलुकको आर्थिक, सामाजिक विकासमा दत्तचित्त रहने, भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनको काममा राष्ट्रपति तल्लीन रहनु आवश्यक छ ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : चैत्र १, २०७९ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्

त्रिवि सञ्चालनका समस्या

पाठक पत्र

‘भीमकाय त्रिविलाई घिस्रिन पनि सकस’ समाचारले विश्वविद्यालयको बेथितिपूर्ण कार्यप्रणाली फेरि उजागर गरेको छ  । धेरै अर्थमा नेपालीको गौरवको प्रतीक हो त्रिवि  ।

मुलुककै शैक्षिक मात्र होइन समुन्नतिको आधारसमेत हो । यसले राष्ट्रकै उच्चतम शैक्षिक/प्राज्ञिक जनशक्ति उत्पादन गरिरहेकै छ । यस्तो संस्था विकृति–विसंगतिमा भासिँदै जानु कसैलाई स्वीकार्य नहुनुपर्ने हो । तर व्यक्तिगत स्वार्थपूर्ति र अनुशासनहीनताले यो संस्थालाई अस्तव्यस्त बनाइरहेको छ । त्रिविमा विद्यार्थीहरूको ठूलो चाप छ ।

प्राध्यापक र कर्मचारी पनि धेरै छन्, त्यसैले व्यवस्थापन सम्हाली नसक्नु छ । मुलुकभरि छरिएका क्याम्पसहरूको सम्पत्तिको अभिलेख र हिसाबकिताब राख्नै मुस्किल छ । पाठ्यक्रम तर्जुमा, पठनपाठन, अनुसन्धान, शैक्षिक क्यालेन्डर परिपालन सब गन्जागोल छन् । सरकारै अविवेकी हुनु अनि राजनीतिक नेतृत्वको सीमित स्वार्थका कारण त्रिविको यस्तो बेहाल भएको हो । त्रिविलाई उत्कृष्टको केन्द्र बनाउने कि सधैं व्यक्तिगत स्वार्थ सिद्ध गर्ने अखडा । अन्य देशको अभ्यासबाट केही सिक्ने हो भने यसको सञ्चालनको तौरतरिकामा फेरबदल आवश्यक छ ।

त्रिविलाई अब सात प्रदेशका सरकारहरूको मातहत राख्न र सबै शैक्षिक गतिविधि प्रदेशबाटै गराउन जरुरी छ । साथै राजनीतिक हस्तक्षेपमुक्त संस्था बनाउने अनि ‘बोर्ड अफ ट्रस्टी’ को व्यवस्था गरी सञ्चालन/व्यवस्थापन गर्ने परिकल्पना गर्न सके त्रिविले राज्यको एउटा वौद्धिक किल्ला बन्ने अवसर पाउनेछ ।
– माधव लोहनी, कीर्तिपुर

प्रकाशित : चैत्र १, २०७९ ११:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×