त्रिवि सञ्चालनका समस्या- सम्पादकलाई चिठी - कान्तिपुर समाचार

त्रिवि सञ्चालनका समस्या

पाठक पत्र

‘भीमकाय त्रिविलाई घिस्रिन पनि सकस’ समाचारले विश्वविद्यालयको बेथितिपूर्ण कार्यप्रणाली फेरि उजागर गरेको छ  । धेरै अर्थमा नेपालीको गौरवको प्रतीक हो त्रिवि  ।

मुलुककै शैक्षिक मात्र होइन समुन्नतिको आधारसमेत हो । यसले राष्ट्रकै उच्चतम शैक्षिक/प्राज्ञिक जनशक्ति उत्पादन गरिरहेकै छ । यस्तो संस्था विकृति–विसंगतिमा भासिँदै जानु कसैलाई स्वीकार्य नहुनुपर्ने हो । तर व्यक्तिगत स्वार्थपूर्ति र अनुशासनहीनताले यो संस्थालाई अस्तव्यस्त बनाइरहेको छ । त्रिविमा विद्यार्थीहरूको ठूलो चाप छ ।

प्राध्यापक र कर्मचारी पनि धेरै छन्, त्यसैले व्यवस्थापन सम्हाली नसक्नु छ । मुलुकभरि छरिएका क्याम्पसहरूको सम्पत्तिको अभिलेख र हिसाबकिताब राख्नै मुस्किल छ । पाठ्यक्रम तर्जुमा, पठनपाठन, अनुसन्धान, शैक्षिक क्यालेन्डर परिपालन सब गन्जागोल छन् । सरकारै अविवेकी हुनु अनि राजनीतिक नेतृत्वको सीमित स्वार्थका कारण त्रिविको यस्तो बेहाल भएको हो । त्रिविलाई उत्कृष्टको केन्द्र बनाउने कि सधैं व्यक्तिगत स्वार्थ सिद्ध गर्ने अखडा । अन्य देशको अभ्यासबाट केही सिक्ने हो भने यसको सञ्चालनको तौरतरिकामा फेरबदल आवश्यक छ ।

त्रिविलाई अब सात प्रदेशका सरकारहरूको मातहत राख्न र सबै शैक्षिक गतिविधि प्रदेशबाटै गराउन जरुरी छ । साथै राजनीतिक हस्तक्षेपमुक्त संस्था बनाउने अनि ‘बोर्ड अफ ट्रस्टी’ को व्यवस्था गरी सञ्चालन/व्यवस्थापन गर्ने परिकल्पना गर्न सके त्रिविले राज्यको एउटा वौद्धिक किल्ला बन्ने अवसर पाउनेछ ।
– माधव लोहनी, कीर्तिपुर

प्रकाशित : चैत्र १, २०७९ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्

'मन्दीले व्यवसायी पलायन हुने चिन्ता’ समाचारमा facebook.com/eKantipur बाट लिइएका टिप्पणी :

पाठक पत्र

भाउ बढ्दो छ । हरेक उपभोग्य सामग्रीको निर्बाध आयात । हाम्रो कुनै आफ्नो उत्पादन छैन । नुनदेखि गुन्द्रुकसम्मै विदेशको । उतैबाट बढेर आउँदो हो । यहाँ त्यही निहुँ भैगयो । मनलाग्दी भाउ बढाउँदा त्यसको रोकथामका लागि यहाँ कुनै कसीकसाउको थिति छैन । उपभोक्तासँग बढ्दो भाउको बेसाहा थाम्न क्रयशक्ति पनि छैन ।– सम्वेद शर्मा चापागाई

उपभोक्ताहरूले आफूले उपभोग गर्ने वस्तुको मूल्य वृद्धि भयो भने विरोधस्वरूप उक्त वस्तुलाई देशभरि बहिष्कार गरेर मूल्य घटाउन बाध्य पार्न सक्नुपर्छ । जबसम्म यो परिपाटीको विकास हुँदैन तबसम्म उत्पादक तथा व्यापारीहरूको मनमौजीले उपभोक्ताहरूले महँगी खेपिरहनुपर्ने हुन्छ ।
– सुरेन्द्र महर्जन

मोटा चामल त १५० मात्र बढेको रैछ ! अरू १५०० को २५०० रुपयाँ पुगेको छ । एक बोरामै एक हजार रुपैयाँ बढेको छ ।
– टेकराज श्रेष्ठ

सबैतिर संकट देखिएको छ, यस्तोमा नेपालमा भविष्य देखिन्न ।
– विनय देवान

चरम महँगीको मारमा जनता, नेताहरूलाई भने हाईहाई छ ।
– नारायण गौतम

प्रकाशित : चैत्र १, २०७९ ११:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×