३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

मदर अफ डेमोक्रेसी, मंगलसूत्र र मुस्लिम

दुनियाँभरका उदार लोकतन्त्रवादी मिडिया र लोकतन्त्रका पहरेदार संस्थाले मोदीको चुनावी भाषणलाई निकृष्ट स्तरको ‘हेटस्पिच’ भनेका छन् । उनी पुनः सत्तामा दोहोरिए भारतको लोकतान्त्रिक इतिहासमै यस पटकको निर्वाचन अन्तिम हुने चिन्ता विपक्षी र अधिकारकर्मीको छ ।
शुभशंकर कँडेल

तीन चरणको मतदान सकिएर चौथो चरणमा पुग्दै गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी कांग्रेसलाई सत्तामा आउन मत दिएमा उसले महिलाहरूको मंगलसूत्र खोस्ने र घुसपैठिया मुस्लिमले शासन गर्ने भन्दै उत्तेजित अभिव्यक्ति दिएपछि भारतीय चुनाव यसकै वरिपरि केन्द्रित छ ।

मदर अफ डेमोक्रेसी, मंगलसूत्र र मुस्लिम

‘जब कांग्रेसीहरू शक्तिमा आउँछन्, उनीहरूले स्रोतको सबै अधिकार मुस्लिमको हुनेछ भन्छन् । उनीहरूले तपाईंको सबै सम्पत्ति धेरै बच्चा हुनेलाई बाँड्दिन्छन् । उनीहरूले घुसपैठियालाई सम्पत्ति बाँड्न आमा–दिदीबहिनीको मंगलसूत्र छिन्नेवाला छन्,’ राजस्थानको चुनावी सभामा मोदीले उत्तेजित मुद्रामा आक्रोश पोखेका थिए । ‘हाम्रो आदिवासी परिवारमा चाँदी हुन्छ, त्यसको हिसाब लगाइनेछ । जो बहिनीहरूको सुन छ, जुन सम्पत्ति छ, यसको समान रूपमा वितरण गरिनेछ । के तपाईंलाई मञ्जुर छ ?’ उनले भनेका थिए (सीएनएन, २३ अप्रिल २०२४) । मोदीले मुस्लिमहरूले बढी बच्चा जन्माएर हिन्दु जनसंख्यालाई उछिन्न लागेको भन्दै हिन्दुवादीलाई उक्साएका थिए । भारतको १.४ अर्ब जनसंख्यामध्ये ८० प्रतिशत हिन्दु छन्, जबकि देशको २० करोड मुस्लिम जनसंख्या भनेको जम्मा १४ प्रतिशत हो । मुस्लिमहरूको प्रजनन दर १९९२–९४ मा ४.४ रहेकामा २०१९–२१ मा २.३ मा झरेको छ, जुन हिन्दुहरूको १.९४ प्रतिशतभन्दा बढी हो (एपी, २३ अप्रिल २०२४) ।

‘यो डगविसिल मात्र होइन, समुदायविरुद्ध लक्षित, प्रत्यक्ष र निर्लज्ज घृणास्पद भाषण हो,’ स्थापित पत्रकार राणा अयुबले आक्रोश पोखेकी थिइन् । मुस्लिम नेता असदुद्दिन ओवैसीले मोदीलाई जवाफ फर्काउँदै भने, ‘मोदीले मुस्लिमलाई घुसपैठिया र धेरै बच्चा जन्माउने मानिसका रूपमा बदनाम गरेका छन् । २००२ देखि आजसम्म मोदीको एक मात्र ग्यारेन्टी देखिँदै आएको छ– मुस्लिमहरूलाई गाली गरेर भोट प्राप्त गर्ने ।’ कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले भनेका छन्, ‘भारतको इतिहासमा कुनै पनि प्रधानमन्त्रीले आफ्नो पदको मर्यादालाई मोदीले जति गिराएका थिएनन् ।’

मोदीको भाषणप्रति अमेरिकी टेलिभिजन सीएनएनले टिप्पणी गरेको थियो– पछिल्लो दशकमा मोदी र उनको भाजपाले आफ्नो हिन्दु राष्ट्रवादी नीतिहरूद्वारा धार्मिक ध्रुवीकरणलाई उत्प्रेरित गरेको छ । जसले विश्वको सबैभन्दा ठूलो धर्मनिरपेक्ष लोकतन्त्रमा इस्लामोफोबिया र घातक साम्प्रदायिक झडपको लहरलाई जन्म दिएको छ । राष्ट्रिय विकास परिषद् (एनडीसी बैठक, ३ नोभेम्बर २००६) मा तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले गरेको पुरानो भाषणको एक टुक्रालाई आफूखुसी अर्थ लगाएर मोदीले मुस्लिमविरोधी अभिव्यक्ति दिएको भन्दै भारतसहित विश्वभर उनको आलोचना भइरहेको छ ।

दुनियाँभरका उदार लोकतन्त्रवादी मिडिया र लोकतन्त्रका पहरेदार संस्थाले मोदीको चुनावी भाषणलाई निकृष्ट स्तरको ‘हेटस्पिच’ को दर्जा दिएका छन् । वासिङ्टनस्थित अनुसन्धान समूह इन्डिया हेट ल्याबको पछिल्लो रिपोर्टमा सन् २०२३ मा यस्ता ६६८ वटा हेटस्पिचका घटना रेकर्ड गरेकोमध्ये ७५ प्रतिशत घटना भाजपाशासित राज्यमा देखिएको उल्लेख छ । भारतको दण्ड संहिताले घृणापूर्ण भाषणलाई निषेध गरेको छ, जसमा धार्मिक विश्वासहरूको अपमान गर्ने उद्देश्यले ‘जानाजानी र दुर्भावनापूर्ण कार्य’ लाई अपराधीकरण गर्ने कुरासमेत स्पष्ट रूपमा उल्लेख गरेको छ । तर त्यस्ता कार्यका कथित अपराधीविरुद्ध तत्काल र पर्याप्त कारबाहीको अभाव छ, जसले दक्षिणपन्थी र चरमपन्थीहरूलाई मौन समर्थन दिइरहेको छ ।

प्रधानमन्त्री मोदीले भारतीय जनतालाई एउटा खतराबाट बच्ने नाममा अर्को खतराको मुखमा नियतवश धकेलेको भन्ने प्रचार सेलाउन नपाउँदै एस्ट्राजेनेका भ्याक्सिन (भारतमा कोभिसिल्ड) ले स्वीकार गरेको गल्तीको समाचारसमेत डढेलोसरि फैलिएको छ । यसले मोदीलाई प्रतिरक्षात्मक बनाइदिएको छ । सम्भवतः यही त्रासबाट भारतीय प्रशासनले कोभिसिल्ड सर्टिफिकेटमा राखिएको मोदीको वाणी र फोटो हटाउन लगाएको छ । भारतीय मिडियाका अनुसार कोभिसिल्ड निर्माता कम्पनीले भाजपालाई निकै ठूलो चन्दा दिएको देखिएबाट कोभिसिल्डको प्रचारप्रसारमा मोदीको रुचि आम जनताको जीवनरक्षामा भन्दा आफ्नो दलको कोष विस्तारमा थियो ।

मोदीले बारम्बार भारतलाई ‘मदर अफ डेमोक्रेसी’ भन्दै आएका छन्, तर चुनावी आक्रोशमा भने उनले भारतीय लोकतान्त्रिक परम्परा र माताहरूप्रति नै गम्भीर अपमान हुने खालको भाषाको प्रयोग गरेर विश्व गुरु बन्ने आफ्नो महत्त्वाकांक्षामा घात लगाउन पुगेको प्रतीत हुँदै छ । केजरीवालसहितका विपक्षी नेताहरूको गिरफ्तारीले मोदीको चुनावी महत्त्वाकांक्षी बाटोलाई आत्मघाती कदम बनाइदिएजस्तो देखिन्छ । विपक्षी र अधिकारकर्मीले मोदी पुनः सत्तामा दोहोरिएमा भारतको लोकतान्त्रिक इतिहासमै यस पटकको निर्वाचन अन्तिम हुने चिन्ता प्रकट गरिरहेका छन् । मोदी युगले हामीलाई फेरि एक पटक सिकाएको छ– एउटा पार्टी वा राजनीतिज्ञको अत्यधिक श्रेष्ठता समस्याग्रस्त छ । शक्तिको एकाधिकारले पहिलेभन्दा बढी शंका बढाएको छ (प्रतीक कान्जिलाल, ५ मे २०२४) । मोदीको पछिल्लो चुनावी आक्रोशको अनुमान गर्दा झन्डै औचित्यहीन बन्दै गएको भारतीय जीओपी कांग्रेसले कमब्याक गरिरहेको बुझ्न सकिन्छ. । मोदीको भाषामा शाहज्यादे कहलिएका राहुल गान्धीको दलले निर्वाचन नजिते पनि उनी नेता बन्ने अवसर भने जुर्दै गएको छ यस पटकको निर्वाचन ।

भाजपाशासित राज्यहरूमा मतदान अत्यन्तै न्यून भइरहेबाट चुनावी लोकतन्त्रप्रति जनता वाक्कदिक्क भएको प्रस्टै देखाएको छ । मोदीले विपक्षी कांग्रेसलाई ‘वामपन्थको चंगुलमा परेको र उसले आफ्नो घोषणापत्रमा जे भनेको छ त्यो चिन्ताजनक र गम्भीर रहेको भन्दै नक्सलावादी विचारधारालाई व्यवहारमा (जमिनमा) ल्याउने उनीहरूको प्रयास हो’ सम्म भन्न पछि परेका छैनन् (हिन्दुस्तान टाइम्स, २२ अप्रिल २०२४) । नेपालमा जसरी वामपन्थी हुनुमा गर्व छ, त्यसको ठीक उल्टो भारतमा वामपन्थी कहलाइनु भनेको आतंककारीजस्तै ठहरिनु हो । आवधिक रूपमा हुनुपर्ने जनगणना नगरेर मोदी प्रशासनले बहुलवादी चरित्रको भारतलाई विभाजन गर्न लागेको आरोप विपक्षी कांग्रेसले लगाउँदै आएको छ ।

अमेरिकाको सबैभन्दा ठूलो मुस्लिम नागरिक अधिकारको वकालत गर्ने संस्था काउन्सिल अन अमेरिकन–इस्लामिक रिलेसन्स (सीएआईआर) ले मोदी भाषणको निन्दा गर्दै भनेको छ, ‘यति विविध धार्मिक सम्पदा भएको राष्ट्रको नेताको भूमिकाका बाबजुद कट्टर दक्षिणपन्थी हिन्दुवादी नेता नरेन्द्र मोदीले भारतीय मुस्लिमहरूलाई घृणित र खतरनाक डायाट्राइबका रूपमा लक्षित गर्नु अनुचित छ, तर अचम्मको कुरा भने होइन । राष्ट्रपति जो बाइडेनले भारतीय मुस्लिम र अन्य अल्पसंख्यक समूहप्रति व्यवस्थित व्यवहारलाई लिएर भारतलाई ‘विशेष चिन्ताको देश’ घोषणा गर्नुपर्छ (टाइम, २३ अप्रिल, २०२४) ।

राज्यको मुख्यमन्त्रीको कार्यकाल (सन् २००१–२०१४) मा २००२ को गुजरात नरसंहारको निकटताका कारण मोदीलाई २००५ मा अमेरिका प्रवेशमा भिसा प्रतिबन्ध लगाइएको थियो । मोदी संलग्न रहेको भनिएको धार्मिक दंगामा एक हजारभन्दा बढी मानिस मारिएकामा अधिकांश मुस्लिम थिए । ‘तर यस निर्लज्जताले स्पष्ट पारेको छ कि मोदीले आफ्नो विशाल शक्तिमा थोरै नियन्त्रणहरू देख्छन् । देशभित्रका वाचडग संस्थाहरू धेरै हदसम्म उनको भारतीय जनता पार्टीको इच्छाका अघि नतमस्तक छन् । बाहिरी दुनियाँमा साझेदारहरूले बढ्दो रूपमा मोदीले भारतमा के गरिरहेका छन् भन्ने कुरामा आँखा चिम्लन्छन्, किनकि उनीहरूले भारतलाई चीनविरुद्धको लोकतान्त्रिक प्रतिरोधका रूपमा लिन्छन् (न्युयोर्क टाइम्स, २३ अप्रिल २०२४) । वास्तवमै मोदीले बाह्य दुनियाँको यही कमजोरीलाई पक्डेर देशभित्र आफूले चाहेको शासन चलाइरहेका छन् ।

‘नयाँदिल्लीको बढ्दो विदेश–नीति दृढता अन्य देशलाई यसको बढ्दो आवश्यकता छ भन्ने ज्ञानबाट उत्पन्न हुन्छ ।’ अमेरिकाका लागि, ताइवान जल–डमरूमा चीनसँगको सम्भावित द्वन्द्वमा भारत आफ्नो सहायतामा नआए पनि नयाँदिल्लीलाई बेइजिङसँग नजिक हुनबाट रोक्नुले भूराजनीतिक जितको प्रतिनिधित्व गर्छ, जहाँ अन्य असहमतिलाई कागजमा सीमित गर्छ । अन्य देशका लागि भारतको बढ्दो बजारमा पहुँच सर्वोपरि महत्त्वको कुरा हो । मुस्लिमप्रति भाजपाको वैमनस्यता हुँदाहुँदै पनि मोदीलाई पर्सियन खाडीका देशहरूको रातो गलैंचाबाटै स्वागत गर्छन् (फरेन पोलिसी, २०२४) ।

यस पटक भाजपाले चुनावी घोषणापत्रको नाम नै ‘मोदीका ग्यारेन्टी’ राखेको छ । अर्को अर्थमा भारतीय चुनावी इतिहासमा भाजपाले पहिलो पटक चुनावी घोषणापत्रको बदलामा उसले प्रधानमन्त्रीको ग्यारेन्टी सार्वजनिक गरेको छ । अब भारतमा सत्तारूढ पार्टी भाजपाभन्दा मोदी माथि छन् । अब देशभन्दा माथि विश्व गुरुका रूपमा उनी उभिन चाहन्छन् । चुनावी र्‍याली र सभाहरूमा मोदीले सबैभन्दा बढी आफ्नो नाम पुकारिरहेको विभिन्न मिडिया वाचडग संस्थाहरूले आवधिक रिपोर्ट सार्वजनिक गर्दै आएका छन् । यसरी दुनियाँको सबैभन्दा ठूलो लोकतान्त्रिक प्रचारित निर्वाचनमा लोकतन्त्रकी माता, उनको मंगलसूत्र र मुस्लिम प्रमुख प्रचार र दुष्प्रचारको मसला बन्दा भारतीय लोकतान्त्रिक अवनतिको संकेत गरेको भन्न संकोच मान्नु पर्दैन ।

पिताको ‘पावर’

हमासले अक्टोबर ७ मा गरेको हमलाको बदलामा अमेरिकी नेतृत्व र इजरायली फौजले गाजा क्षेत्र पूर्णतः ध्वस्त बनाएका छन् । २४ हजारभन्दा बढी केटाकेटी र महिलासहित ३५ हजारभन्दा बढीको गाजामा चिहान बनेको छ । २० लाखभन्दा बढी प्यालेस्टाइनी बेघरबार मात्र भएका छैनन्, उनीहरू यो पृथ्वीमा कहाँका हुन् भन्नेसम्मको तहमा पहिचान मेटाइएपछि गाजा हमलाको आवाज अमेरिकाका विश्वविद्यालयहरूमा चर्केको छ । विद्यालय, अस्पताल र शरणार्थी शिविरमा खुलेआम बमबारी गरेर प्यालेस्टाइनीलाई कत्लेआम गरेको विरोधमा अमेरिकी विश्वविद्यालयहरूमा विद्यार्थीको उग्र प्रदर्शनपछि मात्र विश्व मञ्चमा युद्धका चित्कार सुनिन थालेको छ ।

यति मात्र होइन लोकतन्त्रको पिता कहलाउने अमेरिकी राष्ट्रपतीय निर्वाचनलाई समेत गाजा नरसंहारको मुद्दाले पुनः मुस्लिम र गैरमुस्लिम ध्रुवमा विभाजित गर्ने खतरा देखाएको छ । जसरी भारतमा मोदीले विपक्षीजति सबैलाई नक्सलवादी भन्दै दुत्कारिरहेका छन्, अमेरिकी विश्वविद्यालयमा भइरहेका प्रदर्शनलाई ट्रम्पवादी र रिपब्लिकन नेताहरूले उग्रवामपन्थी उक्साहटको संज्ञा दिएर कार्पेटमुनिको आगोलाई अनदेखा गरिरहेका छन् । बीसौं शताब्दीको त्रासदीपूर्ण रूपले अमेरिकाले थोपरेको भियतनाम युद्धका विरुद्ध पनि सन् १९६८ मा अमेरिकी विद्यार्थी आन्दोलनले ह्वाइटहाउसलाई पछि सर्न बाध्य पारेको थियो । यस पटक गाजा नरसंहारमा त्यस्तो सकारात्मक संकेत भने देखिन थालेको छ ।

सन् १९९४ बाट चुनावी अभ्यास गर्दै आएको विश्व चर्चित नेल्सन मण्डेलाको देश दक्षिण अफ्रिकामा आगामी मे २९ मा निर्वाचन हुँदै छ । तर अधिकांश दक्षिण अफ्रिकी लोकतन्त्रबाट असन्तुष्ट छन्, यदि एक निरंकुशले राम्रो काम गर्न सक्ने हो भने निर्वाचित सरकारहरू त्याग्नेछन् । त्यहाँ जातीय सीमाहरू पार गरेर अझ बढी सामाजिकीकरण भइरहेको छ, तर सन् १९९४ देखि जातीय सम्बन्धमा सुधार आएको भन्ने दक्षिण अफ्रिकीहरूको हिस्सा सन् २०१० पछि तीव्र रूपमा घटेको छ (इकोनोमिस्ट, २०२४) ।

जसरी भारतमा नेहरूका हकमा देखिएजस्तै दक्षिण अफ्रिकामा मण्डेलाले बनाएका सबै लोकतान्त्रिक संस्था यतिबेला राजनीतिक इलिटहरूका भ्रष्ट अखडा बनेको भन्दै चर्को आक्रोश पोखिइरहेको छ । यो विडम्वना अफ्रिकी महादेशका लागि मात्र नभएर विश्वकै उदार लोकतन्त्रमाथिको झापड हो । यही साता संसदीय लोकतन्त्रको अर्को जननी मानिने बेलायतमा भएको स्थानीय निर्वाचनमा सत्तारूढ टोरी पार्टीको शर्मनाक हार र उदार वामपन्थी दल लेबरको आश्चर्यजनक जितले नयाँ तरंग ल्याइदिएको छ । अर्को वर्षको सुरुवातमा हुने संसदीय निर्वाचनले कन्जरभेटिभ दललाई बढार्ने विश्लेषण सुरु भइसकेको छ । भर्खरै सम्पन्न दक्षिण कोरियाली संसदीय निर्वाचनमा ट्रम्पवादी मानिने राष्ट्रपति यु उनको दल पराजित भएको छ । उनको पराजयले घरेलु मामिलाबाट उनी वैश्विक कट्टरपन्थी नीतितर्फ ढल्कँदा ताइवान द्वीपमाथिको द्वन्द्व चर्कने खतरा बढेको बताउन थालिएको छ ।

नेपाली मौनता

छिमेकी देश भारतमा भइरहेको चुनावले विश्वलाई उद्वेलित बनाएको छ । नेपाल दैलोमै भइरहेको भारतीय चुनावप्रति भने हाम्रो समग्र समुदाय मौन छ । जसरी भारतका अल्पसंख्यकले आफ्नो असहमति व्यक्त गर्नबाट थर्कमान भएर चुप्पी साधेका छन्, ठीक यसैगरी काठमाडौंका नीति निर्माता, विचारक, विश्लेषक र पत्रकारलाई पनि मोदीको ग्यारेन्टीले थर्कमान पारेजस्तो छ । तर विश्वभर विदेश नीति मामलामा पढिने फरेन पोलिसीले यो महिना भारतीय विशेषाङ्कका रूपमा ‘दि न्यु आइडिया अफ इन्डिया’ प्रकाशित गरेर भारतीय लोकतन्त्रको एक्सरे गरिदिएको छ ।

सायद नेपालका बुद्धिजीवीहरू त्यो खुराक पनि लुकेर पढिरहेका हुन सक्छन् । विश्वचर्चित भारतीय चुनावका बीच नेपालमा भएको संघीय र प्रदेशसभाका दुईवटा चुनावले भने ‘पपुलिजम’ लाई नराम्रो झापड दिएको छ । अर्कोतिर यो चुनावले नेपाली मतदाताका लागि अझै पनि वामपन्थी गठबन्धनप्रतिको आकर्षणलाई पुनः पुष्टि गरेको छ । त्यसका साथै प्रधानमन्त्री प्रचण्डको दल कांग्रेस र एमाले जोसँग मिल्यो, उसकै वर्चस्व रहने तथ्यलाई प्रस्टै देखाएको छ । त्यसमध्ये पनि एमाले–माओवादीबीचको एकताले उनीहरूलाई राम्रै चुनावी लाभ हुने दीर्घकालीन संकेत दिएको छ ।

फरेन पोलिसीको भारतीय चुनाव विशेषांकले भारतलाई बुझ्नका लागि भन्दै चारवटा पुस्तक सिफारिस गरेको छ– इन्डिया इज ब्रोकन (अशोक मोडी, २०२३), प्राइस अफ द मोदी इअर (आकार पटेल, २०२२), सिटी अन फायर (जेयाद मसरुर खान, २०२३), मिड नाइट्स बोडर्स (सुचित्रा विजयान, २०२१) । यी पुस्तकले चुनावी तानाशाही र जातीय तथा धार्मिक अतिवादको एमआरआई नै गरेको छ ।

सन्दर्भको मेसोमा ग्रिसका पूर्वअर्थमन्त्री वामपन्थी लेखक यानिस भारुकोफाकिसको टेक्नोफ्युडलिजम् (२०२४) र जयशंकरको भारत म्याटर्स पुस्तकपछिको सिलसिलामा नेपालका लागि राजदूत रहेका केभी राजन र अतुल के ठाकुरको काठमाडौं क्रोनिकल (२०२४) हाम्रा लागि उपयोगी हुन सक्छन् ।

प्रकाशित : वैशाख २६, २०८१ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्मा हाजिर गरेर टाप कस्ने, बैठकमा पूर्ण समय नबस्ने सांसदहरूबारे तपाईंको के टिप्पणी छ?