कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एसईई नतिजा : २ लाख २२ हजार ४ सय ७२ जना कक्षा ११ मा भर्ना हुन योग्य

२ विषयमा एनजी हुने १ लाख १५ हजार ८ सय ३४ विद्यार्थी साउन १८ र १९ मा हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने
सुदीप कैनी

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालित एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागीमध्ये ४७.८६ प्रतिशत मात्र ११ कक्षामा भर्ना हुन पाउने भएका छन् । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षामा सहभागी ४ लाख ६४ हजार ७ सय ६५ विद्यार्थीमध्ये २ लाख २२ हजार ४ सय ७२ जना कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् । 

एसईई नतिजा : २ लाख २२ हजार ४ सय ७२ जना कक्षा ११ मा भर्ना हुन योग्य

बोर्डका अनुसार ननग्रेडिङ(एनजी) हुने विद्यार्थीको संख्या २ लाख ४२ हजार ३ सय १३ रहेको छ । तीमध्ये २ विषयमा एनजी हुने विद्यार्थी संख्या १ लाख १५ हजार ८ सय ३४ छ । यिनीहरू यही साउन १८ र १९ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने अध्यक्ष शर्माले बताए । उक्त परीक्षाको नतिजा १ महिनामा प्रकाशित हुने बोर्ड जनाएको छ । ग्रेडवृद्धि हुने विद्यार्थी भने यसै शैक्षिक सत्रमा कक्षा ११ मा पढ्न पाउनेछन् । त्यस्तै २ भन्दा बढी विषयमा ननग्रेडिङमा पर्ने १ लाख २६ हजार ४ सय ७९ विद्यार्थीले भने आउँदो वार्षिक परीक्षामा सहभागी हनुपर्नेछ ।

प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङ हुने व्यवस्थाअनुसार पहिलो पटक एसईईको नतिजा सार्वजनिक गरिएको हो ।

नयाँ पाठ्यक्रमअनुसार पहिलो पटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका–२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन भएको बोर्डले जनाएको छ । उक्त व्यवस्थाअनुसार विद्यार्थीले प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अंक ल्याउनै पर्छ । उक्त अंक अर्थात् १.६ जीपीएभन्दा कम अंक ल्याउने विद्यार्थी ननग्रेडिङ (एनजी) मा पर्नेछन् । उनीहरूलाई बोर्डले ग्रेडसिटसमेत उपलब्ध गराउने छैन ।

निर्देशिकामा दुई विषयसम्म एनजी आउने विद्यार्थीले बोर्डले तत्कालै मिति तोकेर लिने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।जुन विषयमा एनजी भएको हो सोही विषयमा मात्र परीक्षा दिए हुन्छ । दुई विषयभन्दा बढीमा एनजी आए अर्को वर्ष सम्बन्धित विषयको मात्र परीक्षा दिन पाइने व्यवस्था निर्देशिकामा गरिएको छ । यस्ता विद्यार्थीले ३ वर्षसम्म वार्षिक परीक्षामा सहभागी हुन पाउनेछन् । उक्त पद्धतिअनुसार गत वर्षदेखि नै कक्षा १२ को नतिजा सार्वजनिक हुँदै आएको छ । जसअनुसार परीक्षा दिएकामध्ये करिब ५० प्रतिशत विद्यार्थी मात्रै ग्रेडिङमा पर्दै आएका छन् ।

ग्रेडिङमा परेका विद्यार्थी मात्रै माथिल्लो कक्षामा भर्ना र पठनपाठन गर्न योग्य ठहरिन्छन् । यसअघि सैद्धान्तिक र प्रयोगात्मकतर्फको प्राप्तांक जोडेर ३५ अंक ल्याए पनि विद्यार्थी ग्रेडसिट प्राप्त गर्थे । अबदेखि सैद्धान्तिक र प्रयोगात्मकको छुट्टाछुट्टै ग्रेडिङ हुने व्यवस्था गरिएको हो । नयाँ पाठ्यक्रमले गणितसहितका प्रत्येक विषयमा २५ पूर्णाङ्कको प्रयोगात्मक परीक्षा हुने र बाँकी ७५ पूर्णाङ्कको सैद्धान्तिक परीक्षा हुने व्यवस्था गरेको हो । प्रयोगात्मक परीक्षा भने विद्यालयले नै सञ्चालन गरेर प्राप्तांक बोर्डमा पठाएका छन् । बोर्डले अंकलाई ग्रेडमा रूपान्तरण गरेर नतिजा सार्वजनिक गरेको छ ।

विद्यालय तहमा २०७२ देखि लेटर ग्रेडिङ पद्धति सुरु भएको हो । २०७८ मा पाठ्यक्रम विकास केन्द्रले निर्देशिका संशोधन गरेर ग्रेडिङ हुन न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था गरेको थियो । एसईईमा गत वर्षसम्म पुरानो पाठ्यक्रमकै आधारमा अध्ययन गरेका विद्यार्थी सहभागी भएकाले उनीहरूको हकमा संशोधित निर्देशिका लागू भएको थिएन । गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित परीक्षामा ४ लाख ७५ हजार परीक्षार्थी सहभागी थिए । तीमध्ये ४ लाख ४९ हजार साधारण धारतर्फका विद्यार्थी हुन् । १५ हजार प्राविधिक धारतर्फका विद्यार्थी छन् । करिब ८ हजार विद्यार्थी परीक्षामा अनुपस्थित रहेको बोर्डले जनाएको छ ।

नतिजा ई–कान्तिपुरमा समेत हेर्न मिल्ने व्यवस्था गरिएको छ । विद्यार्थी अभिभावकले सिम्बोल नम्बर, मोबाइल नम्बरसहित र जिल्ला छनोट गरी आफ्नो नतिजा ई–कान्तिपुरबाट प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : असार १३, २०८१ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×