कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नर्सिङका विद्यार्थीसँग अवैध शुल्क

मिर्चैया हेल्थ नर्सिङ क्याम्पसले प्रयोगात्मक अभ्यास र छात्रावास अनिवार्य भन्दै नियमविपरीत शुल्क उठाउँदै आएको विद्यार्थी/अभिभावकको गुनासो
विनय आजाद

सिरहा — प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमपरिषद् (सीटीईभीटी) को सम्बन्धनमा सञ्चालित सिरहाको मिर्चैयास्थित मिर्चैया हेल्थ नर्सिङ क्याम्पसले विद्यार्थीसँग अवैध रूपमा शुल्क असुली गरेको पाइएको छ ।

नर्सिङका विद्यार्थीसँग अवैध शुल्क

क्याम्पसले विभिन्न शीर्षकमा मनपरी रूपमा लाखौं रकम असुली गरेको नर्सिङ अध्ययनरत विद्यार्थीहरूले गुनासो गरेका छन् । नर्सिङको प्रयोगात्मक अभ्यासका लागि प्रतिविद्यार्थी २० हजारका दरले शुल्क लिएको विद्यार्थी र अभिभावकले बताए ।

क्याम्पसमा तीनवर्षे नर्सिङको दोस्रो वर्षमा ३८ र पहिलो वर्षमा ४० जना विद्यार्थी अध्ययनरत छन् । छात्रावासमा बसेर अध्ययन गर्नुपर्ने बाध्यकारी नियम लागू गरेरसमेत क्याम्पसले मनोमानी शुल्क उठाइरहेको छात्राहरूले बताए ।

क्याम्पसले धनगढीमाई नगरपालिकामा रहेको एक सय बेडको आफ्नै अस्पताल आरके मेडिसिटीलाई देखाएर सीटीईभीटीसँग सम्बन्धन लिएको छ । चिकित्सा शिक्षा ऐनमा प्रयोगात्मक अभ्यासका लागि एक सय बेडको आफ्नै अस्पताल हुनुपर्ने बाध्यकारी व्यवस्था छ ।

तर, उपचारमा हुने लापरबाहीका कारण विवादित बनेको यो अस्पतालमा बिरामी एकदमै न्यून संख्यामा मात्रै जान्छन् । आफ्नो अस्पतालमा बिरामी नै नभएपछि विद्यार्थीलाई क्याम्पसले सिरहा सदरमुकामस्थित प्रादेशिक अस्पताल र मिर्चैयास्थित मिर्चैया अस्पतालमा प्रयोगात्मक अभ्यास गराउँदै आएको छ । अन्य अस्पतालमा प्रयोगात्मक अभ्यास गराउने भन्दै २० हजारका दरले रकम लिएको एक छात्राले कान्तिपुरलाई बताइन् । अस्पताललाई दिनुपर्ने र यातायात खर्च लाग्ने भन्दै आफूहरूसँग पैसा मागिएको विद्यार्थीको भनाइ छ ।क्याम्पसका अनुसार २० जना विद्यार्थी मिर्चैयाकै मिर्चैया अस्पतालमा अभ्यास गरिरहेका छन् । बाँकी ५८ जना सिरहाको प्रादेशिक अस्पतालमा अभ्यास गर्छन् । क्याम्पसका सञ्चालक डा. वीरेन्द्र चौधरीले भने, ‘विद्यार्थीलाई चाहिने सबै चिज आफ्नै अस्पतालमा नभएर अर्को अस्पतालमा पठाएका छौं, बिस्तारै आफ्नैमा पनि ल्याउँछौं ।’

अतिरिक्त शुल्क उठाउन नपाइने भए पनि क्याम्पसले पैसा नदिए पोस्टिङ नै नगर्ने बताएपछि पैसा तिर्न बाध्य भएको एक विद्यार्थीले सुनाइन् । ‘सुरुमा पैसा तिरेकै हुन्छौं, तर अहिले फेरि मागिँदै छ, पैसा नदिँदा क्याम्पसले पोस्टिङ नै नगर्ने भन्यो,’ एक विद्यार्थीले नाम उल्लेख नगर्ने सर्तमा कान्तिपुरलाई सुनाइन्, ‘हामी त विद्यार्थी, के नै गर्न सक्छौं ?’ केही विद्यार्थीले कलेजले उपलब्ध गराएको व्यक्तिगत खातामै पैसा पठाएका छन् भने अधिकांशले क्याम्पसमा नगद नै बुझाएका छन् ।

‘खातामै पैसा हालिदिन्छु भन्दा हुँदैन भनियो, त्यसैले मैले छोरीलाई नै २० हजार रुपैयाँ पठाइदिएँ,’ एक अभिभावकले भनिन्, ‘तर, केही विद्यार्थीले खातामा पनि पैसा जम्मा गरेका छन् ।’

क्याम्पस प्रमुख भावना साहले अतिरिक्त रकम उठाएको बारे थाहा नभएको प्रतिक्रिया दिइन् । ‘म बिदामा थिएँ, आउन थालेको एक हप्ता मात्रै भयो,’ उनले भनिन्, ‘मेरो अनुपस्थितिमा भएको कुरा मलाई थाहा भएन ।’

क्याम्पस प्रशासन प्रमुख विजय यादवले भने शुल्क लिएको विषय गोप्य राख्न विद्यार्थीलाई धम्की दिएको पाइएको छ । ‘कोही सोध्न आउँछ भने सिधै भन्नु कि हामीसँग पैसा मागेको छैन, टर्चर पनि गरेको छैन,’ क्याम्पस स्रोतबाट कान्तिपुरलाई प्राप्त अडियोमा उनले भनेका छन्, ‘तिमीहरू विद्यार्थी संगठन वा अरू कोहीसँग गयौ र मैले थाहा पाएँ भने राम्रो हुँदैन, पढ्न आएका छौ, राजनीति नगर ।’

सीटीईभीटीले नर्सिङका लागि खाना र बस्नबाहेक शिक्षण शुल्क ४ लाख ७५ हजार रुपैयाँ तोकेको छ । शिक्षण शुल्क पहिलो किस्तामा ४० प्रतिशत, दोस्रो वर्षको किस्तामा ३० प्रतिशत र तेस्रो वर्षको किस्तामा ३० प्रतिशत गरी तीन किस्तामा भुक्तानी गर्नुपर्ने व्यवस्था छ । किस्ताअनुसार विद्यार्थीले पहिलो वर्ष एक लाख ९० हजार मात्रै क्याम्पसलाई बुझाए पुग्छ ।

यो क्याम्पसले भने प्रथम किस्तामै अवैध रूपमा झन्डै चार लाख रुपैयाँ असुलेको बैंक भौचर विद्यार्थी, अभिभावकले कान्तिपुरलाई उपलब्ध गराएका छन् । क्याम्पसले प्रतिविद्यार्थी ३ लाख ७५ हजारदेखि ३ लाख ८६ हजारसम्म असुली गरेको भौचरहरूमा देखिन्छ ।

क्याम्पसले आफूहरूसँग एक वर्षको कक्षा शुल्क र एक वर्षको छात्रावास शुल्क भनेर उक्त रकम लिएको अभिभावकको भनाइ छ । उनीहरूका अनुसार छात्रावास शुल्क भनेर एक लाख ५८ हजार र बाँकी एक वर्षको कलेज शुल्क भनेर लिइएको छ । तर, यसको रसिदसमेत नदिएको उनीहरू गुनासो गर्छन् ।

सीटीईभीटीको मधेश प्रदेशका प्रमुख नागेन्द्र साहले क्याम्पसले अतिरिक्त शुल्क लिएको र छात्रावासमा बस्ने बाध्यकारी व्यवस्था गरेको बारे जानकारी नभएको प्रतिक्रिया दिए । नियमविपरीत कार्य गरेको भेटिए कारबाही हुने उनले बताए ।

प्रत्येक वर्ष क्याम्पसको अनुगमन गर्दै आएको समेत उनले जनाए । सीटीईभीटीले गत असोजमा शैक्षिक संस्थालाई तोकिएकोभन्दा बढी रकम नलिन र छात्रावास विद्यार्थीको स्वेच्छाको विषय भएको भन्दै अनिवार्य नगर्न सर्कुलर गरेको थियो ।

छात्रावासमा बस्नुपर्ने बाध्यकारी व्यवस्था गरेर उक्त क्याम्पसले चर्को शुल्क लिने गरेको समेत गुनासो विद्यार्थी र अभिभावकले गरे । छात्रावासको मासिक शुल्क प्रतिविद्यार्थी १३ हजार लिँदै आएको छ । जबकि, मिर्चैयामा अहिले २ हजारदेखि दुई हजार ५ सयसम्ममा कोठा भाडामा पाइन्छ । यस्तै, अन्य खर्चसहित एक जनालाई प्रतिमहिना पाँचदेखि ६ हजारसम्मले बस्न पुग्छ ।

यति महँगो शुल्क तिरेर क्याम्पसको छात्रावासमा बस्न उनीहरूले चाहेका भने छैनन् । तर, क्याम्पसले बाहिर बस्दा फेल हुन सक्ने भन्दै डर देखाएर विद्यार्थीलाई आफ्नै छात्रावासमा बस्न बाध्य पार्दै आएको छ ।

बाहिर बस्न नदिने र बाहिर बस्दा ‘रिस्क’ नलिने भनेपछि महँगो भए पनि बाध्य भएर क्याम्पसकै छात्रावासमा छोरीलाई राखेको एक अभिभावकले सुनाइन् । छात्रावासमा भने कुनै मापदण्ड पूरा नभएको भन्दै गत चैत ३ मा सीटीईभीटीको मधेश प्रदेश अनुगमन टोलीले क्याम्पसलाई सचेत गराएको थियो ।

प्रकाशित : असार १३, २०८१ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×