कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

बर्सेनि विपत्तिको त्रास

क्षति रोक्न सरकारको पूर्वतयारी फितलो, जोखिमपूर्ण भूबनोटमा बसिरहेकालाई स्थानान्तरण गर्न ढिलाइ 

ताप्लेजुङ, डोटी, बझाङ,  संखुवासभा,  पाँचथर — असार लागेसँगै प्राकृतिक विपत्तिका घटनाहरू बढ्न थालेका छन् । प्राकृतिक विपत्तिमा परेर बर्सेनि ठूलो संख्यामा अंगभंग र जनधनको क्षति हुने गरेको छ । विपत्तिको क्षति रोक्न सरकारको फितलो प्रयास र जोखिमपूर्ण भूबनोटमा बसोबास गरिरहेकालाई स्थानान्तरण गर्न भइरहेको ढिलाइले हजारौं स्थानीय त्रासदीपूर्ण विगत सम्झिँदै र सम्भावित भवितव्यको त्रासमा बस्न बाध्य छन् ।

बर्सेनि विपत्तिको त्रास

कान्तिपुरले ताप्लेजुङ, डोटी, बझाङ, संखुवासभा र पाँचथरमा विपत्ति भोगेका स्थानीयको कहर र उनीहरूको जोखिमपूर्ण बसाइबारे बुझ्ने प्रयास गरेको थियो । प्राकृतिक विपत्तिबाट हुने क्षति रोक्न सरकारी प्रयास अझै नपुगेको स्पष्ट हुन्छ ।

शुक्रबार उज्यालो हुन नपाउँदै फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा लिम्बूको घरमा नसोचेको शोक पर्‍यो । मध्यराति गएको पहिरोमा परी रविनका ७१ वर्षीय बुबा रामबहादुर, ४८ वर्षीया आमा जसमाया र १० वर्षीया जुम्ल्याहा बहिनी गंगा र जमुनाको मृत्यु भयो । फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईंले सदरमुकामबाट पाँच घण्टा दूरीमा पर्ने उत्तर पश्चिमको आफ्नो गाउँमा रातभर नै ठूलो वर्षा भएको बताए । गाउँपालिकाका प्रवक्तासमेत रहेका चौलागाईंले भने, ‘बेलुकादेखि नै पहिरो आउने गरी ठूलो पानी पर्‍यो ।’

यही वडाको खेजेनिम माविछेउमा गएको पहिरोले ४० वर्षीय युगेन साम्रा र उनकी तीन वर्षीया छोरी घाइते भए । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार २०७८ सालबाहेक बाढी र पहिरोबाट जिल्लामा मानवीय क्षति नभएको कुनै वर्ष छैन । जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांकअनुसार ६१ वडा रहेको जिल्लाका दुईवटाबाहेक सबैमा पहिरोको जोखिम छ । प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले फुङलिङ नगरपालिका–२ र ५ बाहेक सबै वडा पहिरोको जोखिममा रहेको बताए । उनका अनुसार ४ वडा उच्च र १८ वटा मध्य जोखिममा छन् । शुक्रबार पहिरो गएको वडा पनि विपत्को उच्च जोखिममा पर्छ ।

बिहीबार फक्ताङलुङ–५ तापेथोकको सिसेवा र वडा ३ को लिंखिम तथा फुङलिङ–१० को फुरुम्बु सिमाना भएर बहने सिस्ने खोलामा आएको बाढीले तीनवटा पुल बगायो । दुईवटा खोलाको पुल तथा सडकमा क्षति पुग्दा बिहीबारदेखि यातायात सञ्चालन अवरुद्ध भएको छ । प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार बुधबारदेखि शुक्रबारसम्मको वर्षाले मिक्वाखोला, फक्ताङलुङ र सिरिजंगा गाउँपालिकामा क्षति पुर्‍याएको छ ।

असार सुरु भएपछि डोटीको सायल गाउँपालिका–५ गुरिनाकी ५० वर्षीय जसु विकलाई निद्रा पर्नै छाड्छ । कति बेला पहिरोले घरै बगाउँछ र गुहारसम्म भन्न पाइन्न भन्ने चिन्ता उनलाई छ । २०७८ मा आएको पहिरोले घरभित्रै बसेका श्रीमान् हिरूवा विकको मृत्यु भएको थियो । त्यति बेला उनको ४ कोठाका २ घरसहित सारा धनमाल पहिरोले लगेको थियो । बालबाल बाँचे पनि जसुले यो थलो छोड्न सकेकी भने छैनन् । ‘घर अझै जोखिममा छ, कति बेला खोला र पहिरोले लग्छ थाहा छैन,’ भनिन्, ‘पहिरोको त्रासले पाखुरा भएका जति अन्यत्र पलायन भए, म काल पर्खेर बसेकी छु ।’

जसुकै जस्तो दूरवस्था छ, छिमेकी खञ्जरी विकको पनि । २०७८ को पहिरोमा च्यापिएर उनका जेठा छोरा भीम विक गम्भीर घाइते भए । ‘कमाउने छोरा पहिरोमा परेपछि फेरि त्यस्तै घटना हुने हो कि भन्ने पिरलोले निदाउन पनि पाएका छैनौं,’ खञ्जरीले भनिन्, ‘सरकार अहिलेसम्म हाम्रो सुरक्षाका लागि भनेर फर्केर आएको छैन ।’ गुरिना गाउँका २४ घरधुरीमध्ये १२ दलित र त्यति नै गैरदलित परिवारका छन् । जसमध्ये दलितबस्ती पहिरोको उच्च जोखिममा छन् । भिरालो डाँडामा बस्ती भएकाले बर्सेनि जमिन खोलातर्फ सर्दै गएको छ । गाउँको तल्लो भागमा पालिकाको सहयोगमा सामान्य तटबन्ध गरेको भए पनि गाउँ सुरक्षित छैन । स्थानीय महिला नेत्री दुर्गा शर्माले गाउँलाई सुरक्षित स्थानमा सानुपर्ने बताइन् ।

सायल गाउँपालिका अध्यक्ष धर्म जोशीले जोखिममा परेका परिवारलाई स्थानान्तरणको माग राख्दै पटकपटक संघीय र प्रदेश सरकारलाई आग्रह गर्दा पनि सुनुवाए नभएको बताए । उनले गाउँपालिकाअन्तर्गत पर्ने भुड्केला गाउँमा ३२, बाबनसैनमा ३७, गुरिनामा १२, घंगारे गाउँमा १०, भुंकमा १० गरी १ सय १ परिवार उच्च जोखिममा रहेको बताए । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद अर्यालले भने उच्च जोखिममा रहेका परिवारहरूको वास्तविक तथ्यांक संकलन गर्ने कार्य भइरहेको बताए । ‘केही दिनभित्र जिल्लाभरिको तथ्यांक आउँछ,’ अर्यालले भने, ‘बस्ती नै स्थानान्तरण गर्नुपर्ने भन्नेबारे पालिकाहरूबाट मलाई रिपोर्टिङ आएको छैन ।’

२०७८ कात्तिक २ को बिहान साढे ३ बजे, बझाङको थलारा गाउँपालिका–४ मा पर्ने डिक्ला गाउँका कलक सार्की र उनका १८ जना परिवार दर्के झरीमा मस्त निद्रामा थिए । गाउँको पुछारबाट बग्ने डिक्लीगाड खोलाको गडगडाहट र मेघ गर्जेको कलकलाई पत्तो थिएन । छिमेकी नरे सार्कीको परिवारै आएर बारम्बार बोलाएपछि उनी हतारिएर उठे । घरबाहिर पानीको भल बगिरहेको थियो । नरेले घरमाथिको ढोगदिना डाँडामा अघिल्लो वर्ष पहिरो आएकाले यसपाला पनि आयो भने बाँचिँदैन भन्ने त्रासमा थिए । त्यसैले उनी कलकको घरमा आइपुगेका थिए । परिवारलाई घरभित्र राखेर नरे र कलकमाथिको घरमा केही अन्न ल्याउन सकिन्छ कि भनेर हिँडे । एक–एक बोरा धान र केही लुगाफाटा पोका पारेर निस्कनै लाग्दा मुटु थर्काउने आवजसहित पहिरो झर्‍यो । उनीहरू ज्यान जोगाउँदै सुरक्षित ठाउँतिर कुदे ।

आधा घण्टापछि पहिरो बग्ने क्रम रोकियो । फर्केर हेर्दा नरेको घर पहिरोमा बचेपनि सुरक्षित ठानेर बसेको कलककोसहित ६ घर पहिरोले लगेको थियो । कलकका परिवारका १८ र नरेको परिवारका ५ सहित २३ जनाकै मृत्यु भयो । कलकले कहालीलाग्दो त्यो क्षणको वर्णन गर्दै भने, ‘हेर्दाहेर्दै दुवै परिवारको सर्वस्व सकियो । अहिले पनि त्यो क्षण सम्झेर झस्किरहन्छु ।’ परिवारका सबै सदस्य गुमाएका नरे त्यो घटनापछि भारत तिरै चौकीदारी गरेर बसेका छन् । कलक भने गाउँमै अर्को घर बनाएर बसेका छन् । डिक्ला गाउँको ठाउँठाउँमा पहिरो र सडक निर्माणले चिराचिरा परेको बताउँदै कलकले फेरि भारी वर्षा भयो भने गाउँ नै बगाउने बताए । ‘यो गाउँका १२ परिवारले पहिरोकै डरले गाउँ छोडेर गइसके । हामी कहाँ जाउँ ?’ उनले भने ।

स्थानीय शान्ति माध्यमिक विद्यालय पाराकाट्नेका शिक्षक मदन साउदले थलारा–४ मा पर्ने डिक्लादेखि काप्रा गाउँसम्मका सबै क्षेत्र पहिरोको उच्च जोखिममा रहेकाले हरेक बर्खामा ८२ परिवार त्रासैत्रासमा बाँचिरहेको बताए । जिल्ला विपद् व्यवस्थापन समिति बझाङले तयार गरेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० मा पनि थलाराका ५ गाउँ पहिरोको जोखिममा रहेको उल्लेख छ । तर पालिकाका अध्यक्ष प्रकाश रोकायाले आफूहरूले केही गर्न नसक्ने बताए । ‘पालिकाको स्रोत र जनशक्तिले क्षति रोक्न सम्भव छैन,’ उनले भने ।

पूर्वतयारी तथा प्रतिकार्य योजनामा जिल्लाका १२ वटा पालिकाका ४७ गाउँ पहिरोको उच्च जोखिममा रहेको उल्लेख छ । सन् २०१८ मा प्राकृतिक प्रकोपसम्बन्धी अध्ययन गर्ने अन्तर्राष्ट्रिय संस्था जियोहाजार्ड इन्टरनेसनलले बझाङ पहिरोको उच्च जोखिममा परेको प्रतिवेदन सार्वजनिक गरेको थियो । जसमा जिल्लाका १२ पालिकाका ६ हजार ६ सय ३० ठाउँमा पहिरोको जोखिम रहेको उल्लेख छ । प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले कतिपय बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको बताए ।

२०७७ असार २७ मा मध्यरातमा सिलिचोङ–१ सिसुवाखोलाको बेसिन्दा र चेप्चेवामा गएको पहिरोमा ११ जनाको ज्यान गएको थियो । एक सय चारभन्दा धेरै घर क्षतिग्रस्त भएपछि स्थानीयलाई जिल्ला विपद् व्यवस्थापन समितिले सिलिचोङ–१ को चित्रे, बखल्टुम र खाँदबारी–७ मा सार्ने निर्णय गरेको थियो । तर विस्थापित भएको ४ वर्ष पूरा हुन लाग्दा पनि उनीहरूको घर निर्माण भइसकेको छैन । खाँदबारी नगरपालिकाको समन्वयमा ७ नम्बर वडाको भैरेडाँडामा ५५ परिवारका लागि १ करोड ३० लाखमा जग्गा व्यवस्थापन गरिएको थियो । नगरप्रमुख महेश थपलियाले विस्थापितका लागि घर निर्माण पनि भइरहेको बताए । सिलिचोङ–१ को चित्रे डाँडामा १२ र बखल्टुममा ३७ पहिरोपीडित विस्थापितका परिवारका लागि घर निर्माण भइरहेको छ ।

पाँचथरको फिदिम नगरपालिका–४ की लक्ष्मीमाया थापालाई एक महिनायता चैन छैन । पानी पर्नासाथ उनको दिमागमा गत वर्षको असार २ मा हेवामा आएको बाढीले मच्चाएको वितण्डाको सम्झना हुन्छ । उनले त्यो दिन सम्झिँदै सुनाइन्, ‘दिउँसोसम्म चर्को घाम थियो । एकैचोटि ठूलो पानी पर्छ भनेर कसैले पनि सोचेकै थिएनौं । मध्यरातमा मुसलधारे पानी दर्किन थाल्यो । एकै छिनमा बाढी आयो ।’ बाढीले लक्ष्मीमायाको खेतमा पाकिसकेका मकै र धान बगाइदिएको थियो । भनिन्, ‘बाढी आएको एक वर्ष बित्दासम्म कतैबाट राहत र क्षतिपूर्ति पाइएन । फेरि असार लागिसक्यो । यस पटक के–के हुने हो ।’

गत वर्षको बाढीले घरखेत बगर बनाइदिएपछि रेशम कटुवाल नजिकैको थापाटारमा डेरा लिएर बसिरहेका छन् । बाढीले फिदिम र भारपालाई जोड्ने मेची राजमार्गको हेवा खोला पुल बगाएको सम्झिँदै रेशमले सरकारबाट कुनै राहत र क्षतिपूर्ति नपाएको सुनाए । पाँचथरको याङवरक, फालेलुङ गाउँपालिकासहित हेवा र तमोर नदी गड्तिरले छोएका फिदिम र हिलिहाङसहित पाँचथरका अधिकांश स्थल बाढी पहिरोको जोखिममा छन् । यहाँ बर्सेनि जाने ठूलासाना बाढीपहिरोले जनधनको क्षति पुर्‍याउँदै आएको छ ।

गत वर्षको बाढीमा परी पाँचथरका ६ जनाले ज्यान गुमाएका थिए भने जिल्लाभर ३ सय १४ घरका ६ सय ८ जना विस्थापित भएका थिए । गत वर्ष बाढीले ८ वटा पक्की र ९ वटा झोलुंगे पुल बगायो । बगेकामध्ये मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक खण्डमा पर्ने हेवा खोलामा मात्र संघीय सरकारले बेलिब्रिज बनाएको छ । फालेलुङका अध्यक्ष वीरविक्रम थाम्सुहाङले भने, ‘हामीसँग बजेटको सीमितता छ, पुल बनाउन संघीय र प्रदेश सरकारलाई पटकपटक ताकेता गरिरहेका छौं, सुनुवाइ नै भएन ।’

प्रकाशित : असार ४, २०८१ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×